बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

माछापुच्छ्रेका दुग्धकिसानले चार महिनादेखि पाएनन् भुक्तानी

माछापुच्छ्रेका दुग्धकिसानले चार महिनादेखि पाएनन् भुक्तानी

भुक्तानी नपाएर आजित किसान सहकारी चेक बाउन्सको मुद्दा हाल्ने तयारीमा


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८२, आइतबार

पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ धितालका दुग्ध किसानहरू यतिबेला निराश भएका छन् । धितालको ठुल्ढुंगा स्थित श्री धिताल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले किसानलाई भुक्तानी नदिएपछि उनीहरु निराश भएका हुन् । सहकारीबाट किसानहरूले चार महिनादेखिको भुक्तानी पाउन बाकी रहेको छ । गाउँमा उत्पादन भएको दूधलाई सहकारीमा संकलन गरेर सहकारीले पोखराको लव कुश डेरी उद्योग प्रालिलाई उपलब्ध गराउँदै आएको थियो । तर, डेरीले चार महिनादेखिको रकम नदिदा किसान मर्कामा परेका हुन् । लवकुश डेरीले समयमै सहकारीलाई रकम भुक्तानी गर्न नसक्दा किसानहरु निराशा मात्रै भएका छैनन् । सहकारीमा संकलित दूधमासमेत कमी आएको छ । भुक्तानी दिन छाडेपछि त्यहाँका करिब ३० प्रतिशत किसानले सहकारीमा दूध दिन छाडेका हुन् । उक्त सहकारीमा दैनिक आठ सय देखि साढे आठ सय लिटरसम्म दुध संकलन हुँदै आएको थियो । चार महिनादेखि सहकारीले भुक्तानी नपाउँदा किसानले सहकारी छाडेर अन्यत्र दिदा अहिले पाँच सयदेखि साढे पाँचसय लिटर मात्रै दूध संकलन हुन थालेको छ ।

दुग्ध किसान नारायण प्रसाद पौडेलले हरेक दिन ३० लिटर दूध लिएर जाने गरे पनि अहिले १५ लिटरमात्र लिएर जान्छन् । उनले दुग्ध सहकारीबाट मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्ने भए पनि ३ महिनाको रकम रोकिएको सुनाउँछन् । ‘तीन महिना भयो भुक्तानी नआएको । हामी त स्थानीय हौँ, ऐँचोपैँचो गरेर पनि चलाएका छौँ । रकम नपाउँदा निकै समस्या परिरहेको छ । पहिला आठ सय लिटर भएको दूध अहिले घटेको छ । किसानहरु निराशा छन्,’ उनले भने, ‘दाना–चोकर खुवाउन पनि असहज भयो । त्यसले गर्दा समस्या आएको छ । म ३० लिटर दूध बेच्थेँ, अहिले १५ लिटरमात्र लैजाने गरेको छु । मर्का त ठूलो भएको छ, यो क्षेत्र बाहिरबाट आएर बस्नेहरु हुनुहुन्छ । यसैमा निर्भर भएर बस्नेलाई निकै असहज भएको छ । हामीले त बाँकी मागेर नै काम चलाएका छौँ । यसरी नै ५–६ महिना रोकिने हो भने त सहकारी नै बन्द हुने स्थितिमा पुग्न सक्छ ।’

शुक्रबारमात्र लवकुश डेरीमा छलफल गर्दा १२ गतेभित्र रकम हालिदिने आश्वासन दिएको उनले सुनाए ।

सहकारीका व्यवस्थापकसमेत रहेका किसान वैकुण्ठ पौडेलले चार महिनादेखि भुक्तानी नपाएको बताउँछन् । उनले दूधको मात्रै होइन सहकारीबाट आउनुपर्ने तलबसमेत दूधको भुक्तानीका कारण रोकिएको बताए । ‘हामीले भुक्तानी नपाएको चार महिना भयो । लगभग ५० लाखको हारहारीमा सहकारीले भुक्तानी पाउन बाँकी छ । खै किन यसरी ढिलासुस्ती भयो ? हामीले कात्तिक, मंसिर र पुस वेसिजन भएकाले त्यति बेलाको पैसा पाइएन । त्यो पैसा रोकिएको कारणले लामो समय धेरै पैसा हुन पुग्यो,’ उनले भने, ‘मैले पनि दैनिक २० लिटरसम्म दूध लिएर जान्छु । हरेक महिना ३० हजारसम्म दूधबाट आम्दानी हुन्छ । तलब पनि आउछ तर, पैसा नै नआएपछि त तलब पनि आएको छैन ।’

उक्त सहकारीका सचिव खेमबहादुर भुजेलले डेरीले रकम नदिदा किसानलाई भुक्तानी गर्न नसकेको सुनाए । सहकारीको मुख्य आम्दानीको स्रोत नै दूध रहेको र सो दुध बिक्रीपश्चात आउने रकम नै किसानलाई भुक्तानी दिदै आइरहे पनि चार महिनाको भुक्तानी रोकिँदा समग्र किसान मर्कामा परेको बताए ।

गाउँमा स्थापना भएको सहकारीले चार वर्षदेखि लव कुश डेरीलाई दूध उपलब्ध गराउदै आएको छ । डेरीबाट करिब ५० लाख भुक्तानी हुन बाँकी हुँदा किसानहरूलाई आफूहरूले चाहेर पनि रकम उपलब्ध गराउन नसकेको उनी सुनाउँछन् । नपाएर आजित किसान सहकारी चेक बाउन्सको मुद्दा हाल्ने तरखरमा रहे पनि किसानसँग जोडिएको विषय भएकाले र नियमित निर्यात गर्ने क्षेत्र भएकाले धैर्य गरिरहेका छन् । लव कुश डेरीले किसान र सहकारीलाई असार २४ र २५ गतेको दुईवटा चेक दिएको थियो । एउटा चेक २५ लाख र अर्को चेक २० लाखको रहेको छ । यो बीचमा रकम दिनुपर्ने भएपछि लव कुश डेरीले उनीहरुको कुरा सुन्न पनि तयार भएको थिएन । विभिन्न बहाना देखाउँदै सहकारीबाट टाढा रहन खोजिरहेको थियो । यही रकम नआउँदा दैनिक आठ सय लिटर दूध संकलन हुने सहकारीमा घटेर पाँच सय लिटर पुगेको छ । तीन सय लिटर दूध किसानहरुले अन्यत्र बिक्री गर्न थालिसकेका छन् ।

‘हामीकहाँ आठ सयदेखि साढे आठ सय लिटरसम्म दूध संकलन हुँदै आएको थियो तर अहिले घटेर पाँच सयदेखि साढे पाँचसयसम्म पुगेको छ । यो किसानले दूधको भुक्तानी समयमा नपाएको कारणले गर्दा भएको हो । किसानको जीकिोपार्जन गर्ने माध्यम नै यही हो । समयमा हामीले रकम दिन सकिरहेका छैनौँ,’ भुजेलले भने, ‘उहाँहरु (लव कुश डेरी) सँग भएको भद्र सहमति अनुसार काम भएन सुरुका दुइ वर्ष राम्रै भएको थियो त्यसपछि समस्या आउँदै गएको छ । भुक्तानी नपाएपछि चेक लिएर आएका थियौँ । चेक वाउन्समा जाने कि भन्ने पनि थियो तर व्यापार हो । दुवै पक्ष आवश्यक पर्छ भन्ने सोचेर नै पछि हट्यौँ ।’ उनका अनुसार डेरी स्थापना भएको चार वर्ष भएको छ ।

९२ जनासम्म दुग्ध किसान भएको सहकारीमा अहिले ६५ देखि ७० जना मात्र सीमित हुन पुगेका छन् । सहकारीमा भने ६० जना शेयर सदस्य आबद्ध छन् । उक्त सहकारीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोग रहेको छ । दुध संकलनको लागि मिल्क चिलिङ भ्याट (दूध संकलन केन्द्र) स्थापनाको लागि परियोजनाले सहयोग गरेको थियो । एक हजार लिटर क्षमताको उक्त चिलिङ भ्याट स्थापना गर्न ५ लाख १९ हजार खर्च भएको थियो भने जसमध्ये ८५ प्रतिशत रकम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्राप्त भएको सचिव भुजेलले बताए ।

लव कुश डेरी सञ्चालक सुश्मा पहारीले अफ सिजनको समयको रकम दिन बाँकी रहेको स्वीकारिन् । उनका अनुसार चिसो समयमा दुग्धजन्य वस्तुको बिक्री कम हुँदा व्यापार पनि कम हुन्छ । जसका कारण किसानले रकम पाउन सक्दैनन् । ‘जाडो महिनामा खपत नै कम हुन्छ । दूधबाहेक दूधबाट बन्ने अन्य परिकारहरु बिक्दैनन् । त्यो बेलाको रकम हामीले दिन बाँकी हो । चिसोको मौसममा हामीलाई धेरै दूध पनि आवश्यक पर्दैन तर किसानले त्यो दूध लाने ठाउँ पनि हुँदैन । त्यसैले हामीले स्टक गरेर राख्नका लागि पनि ल्याउँछौँ,’ उनले भनिन्, ‘गर्मीको मौसममा आइसक्रिम, दही बिक्री हुँदा खपत बढी हुन्छ । जुन जाडोमा हुँदैन । हामीसँग दूधलाई पाउडर बनाउने प्रविधि पनि छैन ।’ तर, किसानलाई कहिले भुक्तानी गर्ने भन्ने विषयमा भने उनले केही बताइनन् । डेरीले कास्कीका विभिन्न ग्रामीण क्षेत्र जस्तै धिताल त्यसैगरी लाहाचोक फलेवाससहित चितवनबाट दूध आयात गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->