पोखरा/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण अनुसार यो वर्ष देशभरका १९ लाख ९७ हजार नागरिक विपद्जन्य जोखिमबाट प्रभावित हुने आँकलन गरेको छ । तीमध्ये गण्डकी २ लाख ८७ हजार १ सय ७ जना प्रभावित हुने अनुमान छ ।
यो वर्षको मनसुनजन्य विपद्बाट कास्कीमा २८ हजार, स्याङ्जा ४५ हजार,पर्वत ९ हजार २ सय,बागलुङका २४ हजार ९ सय, लमजुङका ११ हजार,नवलपुर ५५ हजार,म्याग्दीका २३ हजार नागरिक प्रभावित हुने प्रक्षेणण छ ।
यो वर्ष गण्डकीमा सरदर ४५ देखि ५५ प्रतिशत बढी वर्षा हुँदा त्यसले उस्तै विपद् निम्त्याउने प्राधिकरणको भनाइ छ । त्यो भनाइ यो वर्षको पहिलो भारी वर्षाबाटै पुष्टी भएको छ । साउनको पहिलो साता भएको एउटै वर्षाले २ जनाको ज्यान लिएको छ भने पोखरा महानगरपालिकाको क्षेत्र नै असुरक्षित बनेको छ ।
काहुँखोला बाढी : पहिला बाढीले सताएर सरे अहिले फेरि सतायो
पोखरा महानगरपालिका १३ काहुँखोलास्थित सिद्धस्थानका जीतबहादुर आले मगरले चारवर्ष अघि बाढीका कारण घर–गोठ सारे । काहुँखोलामा आएको बाढीले पशु फार्म चलाउँदै आएका जीतबहादुरको व्यवसायमा ठूलो क्षति पु¥यायो । करिब ४० लाख जतिको क्षति व्यहोरेका उनी सुरक्षित ठानिएको नजिकैको ठाउँमा सरे र पुनः फार्म सञ्चालन गरे । अहिले बसेकोभन्दा करिब ३० मिटर तल (दक्षिणतर्फ) उनको पुरानो फार्म थियो । जुन अहिले पनि छ । जीतबहादुरको पुरानो ठाउँमा अहिले चन्द्रबहादुर परियार भाडामा बसेका छन् ।
शनिबारदेखि परेको वर्षाका कारण आइतबार बिहान जीतबहादुरको घर–गोठमा बाढी पस्यो । मानवीय क्षति नगरे पनि धनको क्षति ग¥यो । ४ वर्षपछि पुनः बाढीले सताएका जीतबहादुर भन्छन्, ‘चार सालअघि पनि मेरो फार्ममा बाढी पसेको थियो । त्यतिबेला बाख्रा, कुखुरा, हाँस, टर्की बाढीमा परेपछि ३५–४० लाखभन्दा बढी डुब्यो । फर्म त अझै छ, कर तिरिरहेको छु । त्यहाँ बाढी पस्न सुरुभएपछि अहिलेसम्म पसेकोपस्यै छ,’ उनले भने, ‘यहाँ पस्दैन (हाल बसेको ठाउँ) भनेर सरेको,यहाँ पनि पस्यो ।’

जुन स्थानमा बाढी पस्यो, त्यसैको नजिक सानो पुलको निर्माण गरिएको छ । सोही पुल साघुरो हुँदा बाढी पस्ने गरेको हो । तर, नयाँ ठाउँमा भने पुरानो बाँध भत्किँदा पानी पसेको उनी सुनाउँछन् । उनलाइ उक्त जग्गा उनका साहूले मिलाइदिएका हुन् । जग्गा दिएपछि उनले आफ्नै व्यवसाय सुरु गरेका थिए । पहिला हार्डवेयरको काम गर्ने गरेका थिए । अहिले पनि साहूले बोलाउँदा जाने र अघिपछि घरमै खेतीपातिसहित बाख्रा–कुखुरा पालेर बस्ने गरेका छन् । अहिले गाई, बाख्रा, लोकल कुखुरा, गिरिराज कुखुरा पालेका छन् । गाई र बाख्रा बचाउन सके पनि कुखुरा भने सबै बगाएको छ । घरको सामान बाँकी केही छैन, सबै बगायो । जम्मै पानी पानी भएको छ । बाढी पस्नुका कारणबारे डोजर र टिपर भएको उनको भनाइ छ । ३५ सालमा बनेको नहर हो त्यहाँ ढुंगाकै बलियो पर्खाल थियो । तर, त्यहाँ टिपर र डोजर धेरै हिँड्दा असर गरेको उनको भनाइ छ ।
‘पहिला बनाएको कच्ची पर्खाल थियो । त्यो बेला टिपर र डोजर धेरै हिँड्यो, पुरानोलाई धेरै हल्लाइदियो । पानी जान सकेन र कच्चीतिर हानेपछि फुटायो । सिंचाइको लापरवाही हो कि, इन्जिनियरको लापरवाही हो कि, नेताको हो ? थाहा भएन । त्यो पर्खाल बनाइदिएको भए यस्तो हुने थिएन होला । यत्रो बस्ती छ हामीले कति भन्यौँ, सुन्दै सुन्दैनन् । सिंचाइकै दोष होला । यो काम पनि ढिला भयो । चार पाँच महिनाअघि नै सक्नुपर्ने काम पनि सकेको थिएन ।’
बाढीले घरको सबै सामान बगाएका अर्का पीडित चन्द्रबहादुर परियारले पनि बाँध फुटेकै कारण बाढी पसेको सुनाए । एक वर्षअघि त्यहाँ बसेका थिए । ‘पुरानो बाँध छ । ठूलाठूला ढुंगा थियो । त्यसलाई पनि खोलाले पन्छाएछ । बाँध भत्किएर सुतेको बेला बाढी आयो । मेरो श्रीमती बिरामी छे, हिँड्न सक्दैन । उनलाई उद्धार गर्दा केही जोगाउन सकिएन,’ उनले भने, ‘उहाँहरु (जीतबहादुर) ले पनि बर्खामा यहाँ नबस्नु भन्नुभएको थियो तर बाँध लगाइसक्यो, केही हुँदैन होला भन्ने सोच्यौं । अब भाडामा बस्ने मान्छे सधैँ यताउता गरेर पनि सकिँदैन । त्यहि बस्यौँ । आज यस्तो भयो ।’
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीका सूचना अधिकारी गीताञ्जली आचार्यले पुरानो पर्खाल भत्किएको जानकारी दिइन् । उनका अनुसार काहुँखोलाको नहरमा रातिको बाढीपश्चात थुनिँदा पुरानो पर्खालमा क्षति पुगेको र त्यसलाई नै हिर्काएर बाँध फुट्दा डुबान परेको बताइन् । ‘पहिला नै बनेको पर्खाल थियो । काहुँखोलाको नहरतर्फ जाने बाटोमा नहर भएको स्थानको देब्रेपट्टिको पर्खाल भत्किएपछि त्यहाँबाट पानी छिरेको हो । पहिला चिनियाँले बनाएको थियो । त्यही वाल भत्किएर अहिले घट्टेखोलामा गएको हो । यता, नहरतिर पानी नगएर सबै डाइभर्ट भएर पहिला दुइ ठाउँबाट बाडिने पानी अहिले एकै ठाउँबाट बगेको हुनाले यति धेरै समस्या आएको हो,’ उनले भनिन्, ‘दाहिनेपट्टिको वाल अहिले बलियो भयो, एकै ठाउँमा पक्की भयो । देबे्रतर्फ पुरानो वाल भयो । काहुँखोलामा राति मुढाढुंगा अड्किएर थुनियो । त्यहाँ ब्लक हुँदा यता हानेको हो ।’ सिंचाइ डिभिजनले उक्त स्थानमा रिटेनिङ वालको बीच भाग खाली राखिदिँदा त्यहीँबाट बाढी पसेको थियो । तीन महिनादेखि सिंचाइले काम अलपत्र छाडेको छ । पानी ओभरफ्लो भएर जहाँबाट बग्नुपर्ने हो त्यहाँबाट नगइ त्यसैको छेउमा भत्काएर बगेको थियो ।
किन चल्यो बाँधमा डोजर–टिपर ?
बाँधमा डोजर चल्नु विवादित विषय हो । २०८० साल पुस–माघताका पोखरा महानगरपालिकाले व्यक्तिको जग्गा संरक्षण गराउनकै लागि खोलाको मापदण्ड नै मिचेर पर्खाल लगाइदियो । आर्थिक वर्ष २०८०÷०८१ को बजेटको पूर्वाधारतर्फ ‘सिद्धकोथान काहुँखोलाहुँदै खोला संरक्षण’ शीर्षकमा ३० लाख रूपैयाँ बजेट विनियोजन भएको थियो । २०७९ कात्तिक १२ मा उपभोक्ता समितिले वडा कार्यालयसँग योजना कार्यान्वयनका लागि सम्झौता गर्दै त्यसको ३ दिनपछि कात्तिक १५ गतेदेखि काम सुरू भयो । खोलामा रिटेनिङ वाल (बाँध) लगाउनु स्थानीयको लागि राम्रो कुरा हो तर जहाँ वाल लगाइयो छ, त्यो खोलाको पूर्व र पश्चिम हुनेगरी खोला बग्छ । जहाँबाट खोला दुई धार हुन्छ । सिंचाइका लागि नहर बनाइएको छ भने बाँकी खोला आफ्नै धारमा बगिरहन्छ । पहुँचवाला व्यक्तिको जग्गा संरक्षणका लागि सरकारी बजेट त्यसमा पनि खोलाको मापदण्ड मिचेर नै वाल बनाइएको स्थानीयको आरोप छ । वाल बनाउने क्रममा त्यहाँ निर्वाध रुपमा टिपर र डोजर चलाइएको थियो ।
पर्वतको पहिरोमा पुरिएर दम्पतिको निधन
लगातारको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएका पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीको एक बृद्ध दम्पतिका शव फेला परेका छन् । शनिवार रातीदेखि नै भइरहेको अविरल बर्षासँगै आइतबार बिहान करिब चार बजेको समयमा घरमाथिबाट पहिरो आउँदा एक बृद्ध दम्पति घरमा नै पुरिएका थिए । पहिरोमा परी घरमै रहेका ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका थिए ।
घट्नास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार पहिरोमा परिवारका सदस्यहरु पुरिएको थाहा पाएपछि स्थानीयले आइतबार बिहानैदेखि उनीहरुको खोजी थालेका थिए । बिहान करिब सवा नौ बजेको समयमा छविलालको शव पहिरोस्थलमा नै फेला परेकोमा उनकी श्रीमतीको शव आइतबार दिउसो भेटिएको हो । उनीहरु दुवै जनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल पर्वतमा राखिएको छ ।

उद्धारको लागि जिल्ला प्रहरी कार्यालय पर्वत र डिमुवा प्रहरी चौकीबाट प्रहरी टोली परिचालन भएको थियो । घट्ना भएको गाउँमा पुग्ने सडक अवरुद्ध हुँदा गाउँमा जान समस्या भएको समेत प्रहरी निरीक्षक सापकोटाले बताए । सोही घरमा रहेकी छविलाल दम्पतिकी बुहारी ३२ वर्षीया पवित्रा बिक भने पहिरोमा परेर घाइते भएकी छन् । पहिरोमा परेर ढाड र कोखमा चोट लागेकी उनको प्रादेशिक अस्पताल पर्वतको आकस्मिक उपचार कक्षमा उपचार चलिरहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए ।
पर्वत सहित आसपासको क्षेत्रमा शनिवार रातिदेखि अति भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले यस क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको तथा नदी र खोलाहरुमा उच्च बहाव आउन सक्ने भन्दै एसएमएसमार्फत् चेतावनी पनि जारी गरेको थियो । चेतावनी जारी गरिएको सूचना आउने समयमा उक्त घट्ना घटीसकेको थियो ।
शनिवार रातीदेखि पर्वत लगायत आसपासका क्षेत्रमा भारी तथा अति भारी वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार राती पनि केही स्थानहरूमा यसरी नै मेघगर्जन र चट्याङ सहित धेरै पानी पर्ने सम्भावना रहेको छ ।
पर्वत म्याग्दी लगायत आसपासका क्षेत्रमा बादल लागेर केही ठाउँहरुमा मेघगर्जन चट्याङ्गसहित मध्यमदेखिधेरै पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान, बहावको जोखिम रहेकोले शहरी तथा तराइक्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने जोखिम रहेको छ । दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा खोला किनारका बासिन्दाहरु प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन विभागले अनुरोध गरेको छ ।





