बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विदेशीने युवाबारे गम्भीर हुनुपर्छ : उपमेयर गुरुङ

विदेशीने युवाबारे गम्भीर हुनुपर्छ : उपमेयर गुरुङ

वडाले प्रविधिको विकाससँगै बढ्दो डिजिटल मार्केटिङको आवश्यकता र सम्भावनालाई महसुस गर्दै युवालक्षित ’डिजिटल मार्केटिङ’ तथा आमा हरूलाई ’शैक्षिक कार्यक्रम’ सञ्चालन गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०८२, शुक्रबार

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १५ ले डिजिटल मार्केटिङ तथा शैक्षिक कार्यक्रम सम्पन्न गरेको छ । वडाले प्रविधिको विकाससँगै बढ्दो डिजिटल मार्केटिङको आवश्यकता र सम्भावनालाई महसुस गर्दै युवालक्षित ’डिजिटल मार्केटिङ’ तथा आमा हरूलाई ’शैक्षिक कार्यक्रम’ सञ्चालन गरेको हो ।

रोजगारको शिलशिलमा युवाहरु विदेश पलायन हुने दर बढ्दो रहेको अवस्थामा कसरी हुन्छ युवाहरुलाई दक्ष बनाउने उदेश्यका साथ वडाले पहल थालेको हो । सो कार्यक्रमको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु देवी गुरुङले युवाहरू विकास निर्माणको आधारशिला, देशको भविष्य र परिवर्तनको संवाहक रहेको बताइन् ।

वडाले यसरी युवालाई जोड्ने कार्यक्रम ल्याउनु महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । सरकारले युवाहरूलाई आफ्नै देशमा बस्ने र काम गर्ने अवसरको सृजना गर्नुपर्ने भन्दै पछिल्लो समय किन युवाहरू विदेशिन चाहन्छन् ? किन आफ्नो देशमा काम गर्न रुचाउँदैनन् ? भन्ने विषयमा सबैले गम्भीर भएर मनन र समाधान खोज्नुपर्ने बताइन् । उनले युवाहरू विदेशमा जस्तोसुकै काम गर्न तयार हुने तर, स्वदेशमा कामै नगरी बस्ने प्रवृत्ति देखिएको भन्दै युवाहरूले पनि मेरै देशमा बस्छु, मेरै देशमा पसिना बगाउँछु भन्ने राष्ट्र प्रेमको भावना लिनुपर्ने बताइन् ।

वडाध्यक्ष तोरण बानियाँले पूर्वाधारको विकाससँगै मानवीय विकासलाई अगाडि बढाउने नीति अनुरूप डिजिटल मार्केटिङ तालिम सञ्चालन गरिएको बताए । वडा नं १५ ले युवा स्वरोजगार, महिला उद्यमशीलता, खेलकुद, शिक्षा, स्वास्थ्य र कृषिमा धेरै कार्यक्रमहरू गरिरहेको भन्दै वडाको बजेट विनियोजन गर्दा नै मानवीय विकासलाई प्राथमिकतामा राखिएको बताए । गत वर्ष पनि युवा लक्षित कार्यक्रम अनुरूप १६ जनालाई कपाल काट्ने तथा २० जनालाई लाइट ड्राइभिङ तालिम दिइएकोमा १६ जनाले लाइसेन्स प्राप्त गरेको भन्दै अध्यक्ष बानियाँले सिकेको सीपलाई सदुपयोग गर्दै उद्यमशीलतामा जोडिन सुझाव दिए । आफ्नो वडाका ज्येष्ठ नागरिक, महिला, युवा, गरिब तथा विपन्नलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर आफूहरू इमानदारिताका साथ लागिरहेको बानियाँको भनाई थियो ।

कार्यक्रममा डिजिटल तालिम लिए पश्चात् यही देशमा केही गर्न सक्छौँ भन्ने आत्मबल बढेको एक सहभागीले प्रतिक्रिया दिए । यस्तै शैक्षिक तालिमले सबैका अगाडि बोल्न, आफ्नो समस्या राख्न ऊर्जा बढेको सहभागी मध्येकी अर्की एक वृद्धाले सुनाइन् । शैक्षिक तालिम प्रशिक्षक वासु बास्तोलाले आफूले जानेको कुरा आमा हजुरआमा सरहका व्यक्तिलाई सिकाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । कार्यपालिका सदस्य मन्दिरा परियारले सञ्चालन गरेको कार्यक्रममा, वडा सदस्य बलराम पौडेल, सेतीमाया गुरुङ, स्थानीय तथा समाजसेवीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->