बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ट्रयाक खुलेको २१ वर्षपछि घट्टेखोला–धम्पुस–खानीगाउँ सडक कालोपत्रे हुँदै

ट्रयाक खुलेको २१ वर्षपछि घट्टेखोला–धम्पुस–खानीगाउँ सडक कालोपत्रे हुँदै


  • ढोरपाटन संवाददाता
  • साउन १० २०८२, शनिबार

पोखरा/ कास्कीको माछापुच्छे« गाउँपालिका–७ स्थित घट्टेखोला–धम्पुस–खानीगाउँ सडक ट्रयाक खुलेको २१ वर्षपछि स्तरोन्नति (कालोपत्रे) हुने भएको छ ।

नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त सडकको गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शुक्रबार शिलान्यास गरे । मन्त्रालय अन्तर्गत ग्रामिण सडक सञ्जाल सुधार आयोजनाबाट कार्यान्वयन भइरहेको उक्त सडक २ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ । सडक स्तरोन्नतिका लागि एमएस इकेके–एमसीएसपीएल–बीबीआर जेभी र आयोजनाबीच २०८१ फागुन २१ मा ३० करोड १८ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

सडकको लम्बाई १३।३ किलोमिटर छ । यसमध्ये पहिलो ७ किलोमिटरसम्म अस्फाल्ट र बाँकी डीबीएसटी प्रविधिबाट कालोपत्रे गरिने आयोजना प्रमुख लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । यो सडकको ट्र्याक ०६१ सालमा खुलेको थियो ।

शिलान्यासपछि बोल्दै मन्त्री केसीले निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण व्यवसायीलाई सचेत गराए । ‘समयमै गुणस्तरीय ढंगले कार्य सम्पन्न गर्न, काम निरन्तर अघि बढाउन, निर्माण स्थलको नियमित अनुगमन गरेर समयमै काम सम्पन्न गर्ने वातावरण तयार गर्न मन्त्रालय मातहतका निकाय, निर्माण व्यवसायी र स्थानीय तहलाई विशेष आग्रह गर्दछु,’ उनले भने । सडक कालोपत्रे भएपछि माछापुच्छ्रे गाउँपालिकाभित्र सामाजिक, आर्थिक, पर्यटकीय, स्वास्थ्य र शैक्षिक क्षेत्रमा विशेष योगदान पुग्ने मन्त्री केसीले बताए ।

निर्माण कम्पनिका प्रतिनिधि अनिल घिमिरले शुक्रबारदेखि नै निर्माण सुरु हुने र समयमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सडक निर्माणमा स्थानीयको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।
शिलान्यास कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, माछापुच्छे« गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, भौतिक मन्त्रालयका सचिव कमलकुमार अधिकारी, पूर्वाधार विकास निर्देशनालयका महानिर्देशक दिनेशकुमार घिमिरेसहितका स्थानीय अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->