पोखरा/ अवैधरुपमा विदेशी मुद्राको कारोवार गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ हाटबजारका ४५ वर्षीय महुमुद्दिन एम अहमद, झापाको दमक नगरपालिका–४ चियादोकान घर भई हाल पोखरा–६ बैदाम बस्ने ४५ वर्षकै राजकुमार बुढाथोकी र पोखरा– १९ पुरुन्चौरका ४३ वर्षीय खेमराज पौडेल रहेका छन् । उनीहरुमध्ये अहमदले रुपन्देही तथा कास्कीमा रेष्टुरेन्ट व्यवसाय संचालन गर्ने, बुढाथोकीले पोखरामा हिलारी मनि चेन्जर र पौडेलले पनि लेकसाइडमै सगरमाथा मनि चेन्जर संचालन गर्दै आएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत उनीहरु पक्राउ परेको जनाएको हो । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले शनिवार (साउन १०) अपरान्ह ५ बजेको समयमा पोखराको बिरौटामा अबैधरुपमा बिदेशी बिनिमय कारोबार भईरहेको भन्ने गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराबाट सूचना प्राप्त भएपछि तत्कालै उनीहरुलाई पक्राउ गरिएको बताए । उनीहरुको साथबाट अमेरिकी डलर १०० दरको नोट १९६ थान, यूरो ५०० दरको नोट ३ थान, यूरो २०० दरको नोट ८ थान, यूरो १०० दरको नोट १ थान, नेपाली रुपैया १००० दरको ४,३७३ थान र नेपाली रुपैया १०० दरको नोट ७ थान गरी जम्मा नेपाली ७५ लाख ९६ हजार ९ सय बरामद भएको प्रहरीले जनाएको छ । तीनै जना नेपाली रुपैयाँसंग विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोवार गर्दै आएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार उनीहरुलाई राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ११ दफा ९५ अनुसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।





