आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

वार्षिक ६ देखि ७ लाख आम्दानी

वार्षिक ६ देखि ७ लाख आम्दानी

बुढाथोकी दम्पत्तीले टनेलभित्र ६ सय ५० बढी च्याउका डल्ला पारेका छन् । उक्त डल्लामा सेताम्मे कन्ये च्याउ फलिसकेको छ । एउटै सिजनमा १ हजार ६ सय केजीभन्दा धेरै च्याउ फलाउने लक्ष्य उनीहरुको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८२, सोमबार

बागलुङ/जोश र जाँगर भए आफ्नै बारी चाहिदैन । भाडाको जमिन लिएर पनि राम्रो कमाइ गर्न सकिन्छ । यो अवसरलाई उजागर गरेकी छिन् ढोरपाटन नगरपालिका ४ की रिमा बुढाथोकीले । उनका पति कपिल बुढाथोकी सहित परिवारका सदस्य मिलेर गरेको कृषि कर्मले लाखौं कमाइ दिन थालेको छ ।

घर ढोरपाटन भएपनि उनीहरु बिगत सात वर्षदेखि सदरमुकाम स्थित ओडारचौरमा बस्छन् । त्यही १२ रोपनी जमिन भाडामा लिएर ताजा तरकारी र च्याउ खेती गरेका छन् । अहिले ओडारचौरस्थित गरिमा कृषि फर्मबाट उनीहरुले कमाइ गरेका हुन् । भाडाकै बारीमा चारवटा च्याउका टनेल र चारवटा हरियो तरकारीका टनेलमा खेती भैरहेको हो ।

बुढाथोकी दम्पत्तीले टनेलभित्र ६ सय ५० बढी च्याउका डल्ला पारेका छन् । उक्त डल्लामा सेताम्मे कन्ये च्याउ फलिसकेको छ । एउटै सिजनमा १ हजार ६ सय केजीभन्दा धेरै च्याउ फलाउने लक्ष्य उनीहरुको छ । बुढाथोकीका अनुसार बागलुङ बजारमा प्रतिकेजी २ सय ३० रुपैयाँदेखि २ सय ५० सम्ममा च्याउ बिक्री भैरहेको छ । होलसेलमा दिँदा पनि २ सय प्रतिकेजी पर्ने गरेको छ ।

गाउँघरमा पनि लामो समय कृषि पेशामा दुःख गरेका बुढाथोकी दम्पत्तिले कमाइ उस्तो गर्न नसकेपछि बजारमा आएर भाडाको जमिनमा कृषि कर्म गरेका हुन् । तरकारी र च्याउ बाहेक भाडाकै बारीमा अदुवा, मकै, उखुसमेत लगाएका छन् । झण्डै ३ रोपनीको प्लटमा धान लगाएका छन् । उक्त धानले बुढाथोकीको ४ जनाको परिवारलाई मज्जाले खान पनि पुग्छ । मलकालागि गोठमा दुइवटा गाई समेत पालेका छन् । त्यो भने पर्याप्त छैन । त्यसैले वर्षमा झण्डै ४ ट्रयाक्टर गोबरमल किनेर पनि ल्याउँछन् ।

वार्षिक ८५ हजार रुपैयाँ भाडा तिर्ने गरी १२ रोपनी जमिन भाडामा लिएर बुढाथोकी दम्पत्तिले थालेको कामले अहिले धेरैको ध्यान खिचेको छ । च्याउ फलाएर मनग्ये कमाइ गर्ने, घरपरिवार चलाएर बचत गर्ने लक्ष्य बुढाथोकीले सुनाए । पत्नि रिमाले दिनभर हाइटेक टनेल र बाहिरको खेतबारीमा काम गर्छिन् । बुढाथोकीले भने बिहान बेलुकी पत्नीलाई सघाउँछन् । एकजना पूर्णकालीन कर्मचारी राखेका छन् भने मौषमी काम गर्न ज्यालादारीमा ५ जनासम्म खेताला खोज्छन् । स्नातक पढ्दै गरेका छोराले पनि फर्ममा सघाएका छन् । बजारमा तरकारी बेच्नु परेमा बुढाथोकी आ“फै निस्कन्छन्् । नगरपालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पुगेर अनुदान, प्राविधिक सहयोग र मलबीउबारे आएका नीति र कार्यक्रमको खोजी गर्छन् । आवस्यक पर्दा प्राविधिक सहयोग माग्छन् ।

कार्यालय समयमा भने उनी सवारी चालक हुन् । जिल्ला समन्वय समितिको प्रमुखले चढ्ने गाडी चलाउँछन् । कहिले त रातै बस्नेगरी टाढा पुग्नुपर्छ । जिल्ला भित्रपनि दुई–तीन दिन लाग्ने स्थान छन् । पोखरा वा काठमाण्डौ जानु परे धेरै दिन भुल्नुपर्ने हुन्छ । त्यसैले परिवारका सदस्यलाई सदरमुकाम ल्याएर वृहत कृषि कर्म थालेका बुढाथोकीले अहिले भने बजारको धेरै पसलमा तरकारी पु¥याएका छन् । होटल र होलसेल पसलमा सामान पठाउँछन् । करारको जागिर भएकोले भरपर्दो छैन । त्यसैले उनले दिगो आयश्रोतका लागि कृषि कर्म थालेको बताए । झण्डै २० वर्षदेखि उनी सवारी चालक थिए । ४ वर्ष साउदी अरबमा गाडि चलाए । गाउँ फर्केर ७ बर्ष आफ्नै जिप चलाए । तर उस्तो कमाइ भएन । २०७४ को स्थानीय निर्वाचनपछि समन्वय समितिको गाडी चलाउने जागिर पाए । तर जागिरबाट मात्र उनी रमाएनन् । त्यसैले पत्नि, पढ्दै गरेका दुइ छोरा र एक छोरी लिएर सदरमुकाम झरे । सदरमुकाममा पत्नीलाई पसल राखिदिने योजना पनि बुने । तर पसलबाट फाइदा पाउने अबस्था नदेखेपछि कृषि कर्मलाई नै रोजे । ‘काम गर्ने जाँगर पनि छ, लामो अनुभव भएकोले सीप पनि छ भनेर कृषि फर्म खोल्यौँ,’ उनले भने, ‘कृषि कर्मबाटै अहिले सन्तोष मिलेको छ ।’ ‘गरिमा कृषि फर्म’ दर्ता गरेर उनले वार्षिक ६ देखि ७ लाख नाफा निकाल्न सफल भएका छन् ।

पत्नि रिमाले पनि कृषि कर्ममा मन दिएपछि बुढाथोकी दम्पत्तिले मिलेर हाइटेक र टनेलमा कृषि कर्म गर्दा यो सफलता मिलेको हो । फर्म संचालनमा ल्याएको पहिलो बर्ष त बुढाथोकी हैरान भए । बल्लतल्ल फलाएको तरकारीको बजार पाउन सकेनन । दुःख र लगानी धेरै भयो, तर न प्राविधिक सहयोग पाए न अनुदान । पहिलो वर्षमै निराश बन्ने अवस्था आइसकेको थियो तर उनले साउदीमा सिकेको सीपबाट बजार बढाउने काम गरे । तरकारी नकिन्ने पसलमा पनि दैनिक जाने आउने गर्न थाले । बरु आफैले केही सामान किनेर ल्याए । चिन्दै गएपछि पसलेहरुले उनको सामान राखिदिन थाले ।

अहिले त बागलुङ बजारका धेरै थोक पसलमा उनकै फर्मको च्याउन आइपुग्छ । ताजा तरकारी पनि बारीबाटै बिक्री हुन्छ । कतिपयले अर्डर गरेर मगाउ“छन् । ‘स्कुटर छ, त्यसैले भनेकै बेला तरकारी टिपेर बजार पु¥याइदिन सक्छौँ,’ रिमाले भनिन्, ‘च्याउ पनि आबस्यकता अनुसार घरघरमै पु¥याइदिएका छौं ।’ उनीहरुको मेहेनत र तोकेकै समयमा दिने बानीले पसलेहरुले पनि ढुक्कले बेच्न थालेका छन् । सात वर्षमा बुढाथोकीले साउदीबाट कमाएको पैसा र जागिरको तलब समेत गरी ५० लाख लगानी गरिसकेका छन् । लगातारको मेहेनत र उत्पादन देखेपछि बागलुङ नगरपालिकाले प्लाष्टिक टनेल निर्माणमा १ लाख, कृषि ज्ञान केन्द्रले गोलभेडाको हाइटेकका लागि १ लाख ५० हजार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले च्याउ उत्पादनकालागि लागत साझेदारी कार्यक्रममा ४ लाख लगानी गरेको छ । ‘उहाँको मेहेनतबाट हामी प्रभावित भएर साझेदारी लगानी गरेका छौं’ परियोजनाका प्रमुख नारायण पौडेलले भने, ‘मिहिनेत र उत्पादन गरेको देखेर जिल्लास्तरीय अनुगमन समितिले पनि लगानी गरेको ठीक छ भन्ने प्रतिवेदन दिएको छ ।’ च्याउ खेतीका लागि परालको भने अभाव छ । टाढाटाढाबाट ल्याउनुपर्दा ढुवानीमा समस्या परेको उनले बताए । मल नजिकका फर्मबाट ल्याएपनि बीउ भने काठमाडौंबाट मगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->