पर्वत/विदेशस्थित नेपाली दूतावासहरूमा ‘फोन’ नउठ्दा समयमा नै जानकारी लेनदेनमा समस्या भएपछि अब ‘ए.आई च्याटबट’ र ‘कल सेन्टर’ सञ्चालन गरिने भएको छ ।
गैर आवासीय नेपाली संघ आइसीसीका अध्यक्ष महेशकुमार श्रेष्ठले यसको बारेमा जानकारी गराउँदै काम अन्तिम चरणमा पुगेको उल्लेख गरेका छन्। फोन नउठ्ने र समयमा नै आवश्यक जानकारी नपाइने समस्याको समाधानका लागि बनाइएको ‘आर्टिफिसियल इन्टिलिजेन्स’ र ‘कल सेन्टर’ को काम अबको केही हप्ताभित्रमा नै ‘पाइलट प्रोजेक्ट’ को रूपमा दुबईबाट सुरु गरिने तथा यो प्रविधि अन्य देशमा पनि छिट्टै लागू गरिने श्रेष्ठले बताएका छन् ।
विदेश स्थित नेपाली दूतावासहरूमा अत्यधिक ‘फोन कल’ आउने तर कर्मचारीको संख्या अत्यन्त न्यून हुँदा ‘फोन’ नउठ्ने समस्याको समाधान गर्न र विदेशमा रहेका नेपालीहरूलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले यो काम भइरहेको उनको भनाइ छ। श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र एन.आर.एन.ए बिचको सहमति अनुसार श्रम संसार एपमा ‘च्याटबट’ र ‘कल सेन्टर’ लाई एकीकृत गर्ने अन्तिम चरणमा पुगेको श्रेष्ठले बताएका छन् ।
यसको तयारीका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयको प्राविधिक टोली समक्ष एन.आर.एन.ए.को प्राविधिक टोलीले ‘डेमो’ समेत प्रस्तुत गरेको छ । मन्त्री भण्डारीसँगको छलफलमा उक्त ‘प्रणाली’ लाई ‘पाइलट प्रोजेक्ट’ को रुपमा युएईबाट सुरु गरी क्रमशः सबै देशहरूमा लागू गर्दै जाने सहमति भएको पनि आइसीसी का अध्यक्ष महेशकुमार श्रेष्ठले बताएका छन् ।
यो ‘डिजिटल’ प्रणालीबाट विदेशमा रहेका नेपालीहरूले ‘टेलिमेडिसिन’, स्वास्थ्य शिक्षा तथा परामर्शसहित नेपालीहरूले भोग्नुपरेका समस्याहरूलाई पनि सम्बोधन पनि गर्न सकिने छ । यो कामलाई अगाडि बढाउन मन्त्री भण्डारीसहित परराष्ट्र मन्त्री आरजु राणा देउवाले समेत सकारात्मक पहल गरेकोप्रति गैरआवासीय नेपाली संघले आभार व्यक्त गरेको छ ।





