आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भाडादर पालना गर्दैनन् सवारी चालक

भाडादर पालना गर्दैनन् सवारी चालक

‘कतिपयले सम्पर्क गरेर जाऔं भन्छन्, तर भाडा मजाले बढाएर लिन्छन्’ गलकोटका राम बहादुर खत्रीले भने, ‘बोल्नभन्दा भाडा तिरे समयमा यात्रा गर्न पाइन्छ ।’


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८२, बुधबार

बागलुङ/एक वर्षअघि यातायात भाडादर समायोजन गरिंदा सदरमुकामदेखि गलकोटको हटिया बजार पुग्ने भाडा ५ सय ६० रुपैयाँ तोकियो । तर, कुनैपनि गाडीले तोकेको भाडामा यात्री लगेनन् ।

अधिकांसले ६ सयदेखि ६ सय ५० रुपैयाँ भाडा असुल गरे । गलकोटतर्फ जाने जिप मात्र हैन, रातो प्लेटका पिकअपले पनि उत्तिकै यात्री ओसार्छन् । उनीहरुले भाडाको गाडीझै यात्री ओसारे पनि तोकेको भन्दा ५० देखि १ सय रुपैयाँसम्म बढी भाडा लिने गरेका हुन् । हरिचौरसम्म भए थप १ सय रुपैयाँ बढी लाग्छ । अर्थात् ७ सय ५० रुपैयाँसम्म भाडा तिर्ने गरेको यात्रीले बताए ।

यात्रीलाई फकाएर लैजाने र भाडा भने मनपरी गर्ने काम भैरहेको यात्रीले गुनासो गर्छन् । ‘कतिपयले सम्पर्क गरेर जाऔं भन्छन्, तर भाडा मजाले बढाएर लिन्छन्’ गलकोटका राम बहादुर खत्रीले भने, ‘बोल्नभन्दा भाडा तिरे समयमा यात्रा गर्न पाइन्छ ।’ भाडाबारे बहस गर्दा यात्रीलाई झन्झट बनाउने गरेको उनले गुनासो गरे ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने यातायात भाडादर निर्धारण समितिले गत वर्ष बागलुङका २१ वटा रुटमा भाडा समायोजन गरेको थियो । तर अधिकांसमा भाडादर कायम नभएको गुनासो आएको हो । विशेषगरी मध्यपहाडी लोकमार्गको बागलुङदेखि गलकोट, बुर्तिवाङहुँदै जुग्जाखोला र बोङगादोभान, दक्षिणतर्फ कुश्मीसेरा र हुग्दीशिर सम्मको भाडा कायम गरिएको हो ।

कतिपय रुटमा भने परमिट नै नभएपछि समितिले भाडा नतोकेको हो । तर अधिकांस परमिट नभएको सडकमा तोकेर भाडा लिने गरिएको छ । त्यसको दररेट समितिले हेर्दैन । समितिले बनाएको कार्यदलले ल्याएको प्रस्तावमा बस र जिपको भाडा तोकिएको थियो । सदरमुकामदेखि गलकोटहुँदै बुर्तिवाङ सम्मको ९१ किमी, बुर्तिवाङदेखि १० किमीको बोङगादोभान र बागलुङदेखि ९९ किमीको जुग्जाखोलाका लागि रुट कायम भएको हो । सदरमुकामदेखि २१ किमी दक्षिणको जैमिनी नगरपालिका वडा नं. १ को कुश्मीसेरा र कुश्मीसेराहुँदै राङखानी र बरेङ गाउँपालिकाको हुग्दीशिर सम्मको ५३ किमी तथा बागलुङदेखि सिगानाहुँदै हुग्दीशिरको ४१ किमी सडक मात्रै परमिटमा परेको छ । त्यस बाहेक बागलुङदेखि ताराखोला गाउँपालिका केन्द्र रहेको भातखाने डाँडा सम्मको ४२ किमी र गलकोटदेखि ताराखोला १८ किमीको मात्रै रुट परमिट कायम भएको हो ।

कागजमा एउटा रकम लेखेपनि विभिन्न बाहनामा बढी भाडा लिने गरेको प्रशासनका कर्मचारीले बताउने गरेका छन् । सदरमुकामदेखि ९१ किमीको बुर्तिवाङका लागि जिपमा ९ सय ७० र बसमा चढेमा ७ सय ८० रुपैयाँ भाडा लाग्नुपर्नेमा तोकेको भाडा तिर्ने यात्री प्रायः भेटिंदैनन् । जिपले सोझै १ हजार माग्छन् भने बसले पनि ८ सयको दररेट लिने गरेका छन् । पिकअपले भने त्यो भन्दा बढी भाडा असुल गर्छन् । यसअघि बसले ८ सय ४० र जिपले ९ सय ८० लेखेपनि १ हजार १ सय भाडा असुल गर्थे । उक्त रेटलाई उनीहरुले कुनै न कुनै बहनामा लिने गरेको यात्रीको गुनासो छ । कतिपय यात्रीले नियमित यात्रा गर्न अप्ठ्यारो पर्ने भन्दै नाम उल्लेख गर्न समेत अप्ठ्यारो मान्छन् ।

२१ किमीको कुश्मीसेराका लागि बसको २ सय २० मात्रै भाडा लाग्ने समितिले निर्णय गरेको थियो । तर बलेवाको कैयादेखि कुश्मीसेरा गएको समेत प्रतिव्यक्ति ३ सय भाडा लिने गरेका छन् । यो सडकमा सदरमुकामदेखि कुश्मीसेरा सम्मको जिपको भाडा जम्मा २ सय ६० लिन पाउने प्रावधान छ । जिपले अहिले पनि यो सडकमा ४ सय रुपैयाँ भाडा लिने गरेका छन् । राङखानी सिमानाको रुम्टा पुगेको ५ सय भाडा लिने गरेका छन् । उक्त भाडा लिएको टिकट वा अन्य बील भरपाई पनि उनीहरुले दिने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->