पोखरा / आगामी असोजको ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक (पर्यटक) हरू सहभागी गराउन तत्काल दर्ता प्रक्रिया सुरु गर्न पर्यटन व्यवसायीहरूले सुझाव दिएका छन् ।
पोखरा क्लिकद्वारा बिहीबार आयोजना गरेको पोखराका पर्यटन व्यवसाय सम्बद्ध संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालासँगको छलफल कार्यक्रमका वक्ताले त्यस्तो सुझाव दिएका हुन् । विश्व पर्यटन दिवस तथा विश्व शान्ति दिवसको अवसरमा आयोजना हुने प्रतियोगितामा उल्लेख्य विदेशी धावकहरूलाई सहभागी गराउन व्यवसायीहरूले आफ्ना क्षेत्रबाट पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखराको मुख्य बजारदेखि नजिक रहेको पोखरा २२ पुम्दीभुम्दी क्षेत्र विभिन्न ढंगले पछि परिरहेको हुँदा यस्ता गतिविधि त्यस क्षेत्रको आयआर्जन र खेल पर्यटन प्रवद्र्धन गर्नमा कोशेढुंगा साबित हुने बताए । उनपले भने,‘पोखराको लेकसाइड र नेपालका धेरै पदमार्गहरू यतिबेला बिग्रेका छन् तर पोखरा नजिकै रहेको पुम्दीभुम्दी, रानीवन क्षेत्र अझै बिग्रेको छैन त्यहाँ पर्यापर्यटनको राम्रो सम्भावना छ ।’ यस वर्षको विश्व पर्यटन दिवसलाई पर्यटनको राजधानी पोखरामा भव्य रूपमा मनाउन राजदूतहरूलाई पोखरामा निम्ता गरेर उनीहरुको इच्छा अनुसार पोखरा र पोखरा क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्यमा पु¥याउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत युवराज गुरुङले विश्व पर्यटन दिवसका सन्दर्भमा आयोजना हुने प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने बताए । .उनले भने,‘हामीले चाहँदा चाहँदै पनि कर्मचारी विविध सीमाभित्र बाँधिनुपर्ने, कसरी जोगिने भन्ने चुनौती छन् तापनि पर्यटन बोर्डको समयमै बजेट आएकाले पर्यटन प्रवद्र्धन हुने प्रदेशस्तरकै कार्यक्रम समयमै सञ्चालन गर्ने छौँ ।’ पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिबहादुर भुजेलले पोखरासँग जोडिएको पोखरा २२ किन बनेन भनेर चिन्तन गर्न ढिलो भएको बताए । उनले पुम्दीभुम्दीको कोदो फल्ने डाँडामा विशाल महादेवको मूत्र्ति निर्माण हुँदा हिजोआज आम्दानीका बाटा खुलेको बताउँदै त्यसको व्यापक स्तरोन्नतिका लागि नेता, व्यापारी, स्थानीय सबैको ध्यानाकर्षण हुनुपर्ने धारणा राखे । परिषद्का महासचिव जीवनराज सापकोटाले आयोजकले दीर्घकालीन सोचका साथ उक्त प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै प्रतियोगितामा धेरै पर्यटक सहभागी गराउन जति सक्दो छिटो फारम खुला गर्न सुझाव दिए ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले प्रतियोगितालाई सफल पार्न आफूहरूले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सुवेदीले सो अवसरमा पुम्दीभुम्दीको रुटमा यस वर्ष आफूहरूले चौथो संस्करणको क्रस कन्ट्री दौड प्रतियोगिता गर्ने तयारी गरेकोसमेत जानकारी दिए । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखराको नौलो विधाको रूपमा आएको पर्वतीय दौड प्रतियोगितालाई आफूहरूले साथ र सहयोग गर्ने बताए । उनले पोखराको फेवाताल पुम्दीभुम्दी क्षेत्रलाई समेट्ने गरेर हाफ म्याराथन आयोजना गर्नसमेत सुझाव दिए । नाट्टा गण्डकीका पूर्वअध्यक्ष एवं पर्यटन व्यवसायी सन्तोष पोखरेलले धेरै विदेशी धावकलाई सहभागी गराउनु व्यापक तयारीका साथ अगाडि बढ्नुपर्ने बताए ।
पोखरेली ट्याक्सी सेवाका अध्यक्ष शोभाकान्त पौडेलले पोखराको पर्यटकीय क्षेत्रलाई खेलका माध्यमबाट थप प्रचारप्रचार गराउने उक्त अभियानलाई आफूहरूले सहयोग गर्ने बताउँदै आफूहरूसँग भएका दुई हजार ट्याक्सीमा स्टिकर टाँस गरेर प्रचारप्रसार गर्नसमेत तयार रहेको बताए । कार्यक्रममा नाटा गण्डकीका अध्यक्ष किशोर दाहाल, नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसी, बिबिसी नेपाली सेवाका संवाददाता कृष्णमणि बराललगायतले प्रतियोगितालाई नयाँ ब्राण्डका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । सहभागीहरूले दिएका सुझावलाई मनन गर्दै जति सक्दो छिटो विदेशी धावकलाई सहभागी गराउन फर्म खुला गर्ने संयोजक दिननाथ बरालले बताए । पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतमले प्रतियोगिताको मुख्य उद्देश्य पोखरा क्षेत्रका पर्यटकको बसाइ लम्ब्याएर खेल पर्यटनका माध्यमबाट गाउँ पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धिसँग पोखरा २२ लाई जोड्ने रहेको जानकारी दिए ।





