पोखरा/ पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको तालदेखि तालसम्म (लेक टु लेक) साइकल ट्रयाकको गुयोजना तयार भएको छ । एसियाली विकास बैंकको १ अर्ब रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुने सो ट्रयाक १ सय १७ किलोमिटर लामो हुनेछ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका लागि महत्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गरे । ‘यसले संसारभरका साइकलप्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकहरूलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ,’उनले भने,‘ पोखराको पर्यटन विकासमा यो महत्वपूर्ण कोषेढुङ्गा साबित हुनेछ ।’ पोखरा महानगरपालिका वातावरणीय हिसाबले पनि स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्रयाक मानव स्वास्थ्य र पर्यावरणको संरक्षणप्रति समर्पित एक दिगो पूर्वाधार बन्ने उनको भनाइ छ ।
विकास साझेदार एसियाली विकास बैङ्कको करिब १ अरब रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्रयाकले पोखरामा रहेका सबै तालहरूलाई एक आपसमा जोड्ने छ । पोखराको दिगो पर्यटन विकासअन्तर्गत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण भएको हो । गुरुयोजना तयार भइसकेपछि एडिबी मिसन र सरोकारवालाहरूसँग शुक्रवार छलफलसमेत गरिएको छ । एडीबी मिसनले यसको स्थलगत अवलोकनसमेत गरेको आयोजना व्यवस्थापक कविता पौडेलले बताइन् ।
पोखरामा रहेका तालहरूलाई एकआपसमा (भित्र र तालहरू बाहिर पर्ने गरी) जोड्ने गरी इनर र आउटर दुईवटा रुटहरू सहित विभिन्न स्थानहरूमा कनेक्टिङ रुटहरूसमेत निर्माण गर्दा करिब १ सय १७ कि.मी लम्बाइको साइकल ट्रयाक निर्माण हुनेछ ।





