बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बाढी पहिरोले जलविद्युत आयोजनामा क्षति, सडक अवरुद्ध

बाढी पहिरोले जलविद्युत आयोजनामा क्षति, सडक अवरुद्ध


  • ढाेरपाटन संवाददाता
  • साउन २० २०८२, मंगलबार

पोखरा/ लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ र ७ को सिमाना भएर बग्ने ङादी खोलामा आएको बाढी र आसपासको पहिरोले निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको बाँधदेखि पावर हाउसम्मको सबैजसो संरचनामा क्षति पुर्‍याएको छ । बाँध क्षेत्र, पाइपलाइन, विद्युत् गृह, पहुँचमार्ग, कच्चा पदार्थ साथै कच्चा पदार्थ तयार पार्ने मेसिनरी सामान, सवारी तथा मालवाहक साधन बगाएको जनाइएको छ ।

आयोजनाको करिब ८० प्रतिशत निर्माणको काम सकिएको थियो । आगामी चैत मसान्तसम्म निर्माण सक्नेगरी काम अघि बढेकोमा बाढी पहिरोका कारण ९ महिना ढिलाइ हुने अनुमान गरिएको छ । गत वर्षको बाढी र पहिरोले समेत आयोजनाको संरचनामा क्षति पुर्‍याएकोमा यस वर्षको बाढी पहिरोले थप क्षति पुर्‍याएको प्रोजेक्ट म्यानेजर विमल ढकालले बताए । उनका अनुसार आइतबार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्मको बाढी र पहिरोले आयोजनामा प्रारम्भिक रिपोर्ट अनुसार ६० करोड बढीको क्षति पुर्‍याएको छ । हेडवर्क्सतर्फ ३ वटा एक्स्काभेटरमा क्षति पुगेको छ । ३ हजार ५ सय बोरा सिमेन्ट बगाएको छ । डिजल जेनेरेटर तथा ३ थान मिक्सर मेसिन पूर्ण रुपमा क्षति पुगेको छ । मस्याङ्दी गाउँपालिका ६, ठुलीबेंसीदेखि आयोजनास्थलको करिब २५ किलोमिटर पहुँचमार्गको सडकमध्ये १५ बढी ठाउँमा पहिरो गएको छ । विद्युत् आपूर्ति र इन्टरनेट सेवा पूर्ण रुपमा बन्द भएको उनले बताए ।

यस्तै, जडान गरिएका पेनस्टक पाइमपध्ये करिब २ सय मिटर पाइपमा क्षति पुर्‍याएको छ । पावर हाउसतर्फ ३ ठाउँको स्टोर भवनमा क्षति पुर्‍याएको छ । करिब १२ करोड रुपैयाँ पर्ने पावरहाउसभित्र काम गर्ने टेमरक मेसिन पूर्ण रुपमा क्षति पुगेको छ । पावरहाउसमा ७ हजार बोरा सिमेन्ट र १ सय ५० टन रड बगाएको प्रोजेक्ट म्यानेजर ढकालले बताए । यस क्षेत्रमा ३ थान कम्प्रेसर मेसिन र २ थान बोलेरो गाडी, टिप्पर र एक्स्काभेटर १र१ थान बगाएको छ । साथै स्टोरमा रहेका स्पेयर पार्टस् र आयोजनाको लागि निर्माण गरिएको वर्कशपमा पूर्ण रुपमा क्षति पुर्‍याएको उनले बताए ।

यस्तै, पावर हाउसनजिक रहेको कंक्रिट बनाउने ठाउँ बेचिङ प्लान्ट पूर्ण रूपमा क्षति भएको छ । पावरहाउसभित्र जडान गर्न राखिएको ५० मिलिमिटर मोटाइका १ दशमलव ५ मिटर लम्बाइका करिब १ सय ३० थान पाइप बगाएको छ । ‘विस्तृत विवरण आउन त बाँकी नै छ । प्रारम्भिक सर्वेक्षण अनुसार ६० करोड रुपैयाँ बढीको क्षति पुगेको छ,’ उनले भने ।

सिउरी न्यादी पावर लिमिटेडको प्रवर्द्धनमा निर्माण भइरहेको उक्त आयोजनाको निर्माणकार्य २०७६ माघ महिनाबाट सुरु भएको थियो ।

दाउन्नेमा आवागमन ठप्प
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा यातायात ठप्प भएको छ । मंगलबार बिहान वर्षाका कारण विश्वकर्मा मन्दिर उकालोमा गाडी फस्दा सवारीसाधन रोकिएका छन् ।
प्रहरीका अनुसार बिहानदेखि वर्षा भइरहेकाले उकालोमा राजमार्ग चिप्लो भएर यातायात रोकिएको हो । दाउन्नेको विश्वकर्मा मन्दिर नजिक निर्माणाधीन पुलको आडैमा राजमार्ग भासिएर सोमबार ग्राभेल राखे पनि आवागमन सहज हुन सकेको छैन ।

प्रहरीले वर्षा रोकिएपछि ग्राभेल राखेर यातायात खुलाउने प्रयास हुने जानकारी दिएको छ । दाउन्नेमा सामान्य वर्षा हुनासाथ आवगमन ठप्प हुने गरेको छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध
यसैगरी अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सडक अवरुद्ध भएको छ । सोमबार रातिदेखि खसेको पहिरोले बागलुङको काठेखोला गाउँपालिका–६ को ताराखसे भन्ने स्थानमा रुखहरु ढलेका छन् । यो सडक रोकिँदा पूर्वपश्चिम गर्ने सवारीसाधनदेखि बागलुङ सदरमुकामदेखि पश्चिमका ६ वटा स्थानीय तहका बासिन्दालाई आउजाउमा असर परेको छ । पहिरो पन्छाउने कामका लागि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय र प्रहरी चौकी दोबिल्लाका प्रहरी सहायक निरीक्षक खिमबहादुर कार्की नेतृत्वको प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी बसन्त रेग्मीले बताए । प्रहरी र स्थानीय मिलेर एकतर्फी सडक खुलाउने प्रयास भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->