बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सौर्य उज्यालो बोकेर ग्रामिणवस्तीमा पुग्यो नीजिक्षेत्रः मन्त्री खड्का

सौर्य उज्यालो बोकेर ग्रामिणवस्तीमा पुग्यो नीजिक्षेत्रः मन्त्री खड्का


  • ढोरपाटन संवाददाता
  • साउन २० २०८२, मंगलबार

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले दिन प्रतिदिन बढ्दै गएको विद्युत् आपूर्तिको माग पुरा गर्न मिक्स इनर्जीको अवधारणा आएको बताएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक संघको रजत जयन्ती मूल समारोहलाई मंगवार सम्बोधन गर्दै मन्त्री खड्काले नेपालमा सौर्य विद्युत् उत्पादनमार्फत विद्युत् आपूर्ति हुनु राम्रो कुरा भएको बताए । उनले सरकारले ग्रिड नपुगेका स्थानमा उज्यालो पुर्‍याउन नसकेको कमीलाई सौर्य ऊर्जाले पूरा गरिरहेको बताए।

मन्त्री खड्काले सरकारले सिँचाइ गर्न नसकेका ठाउँमा सौर्य ऊर्जामार्फत पम्पिङ गरेर सिँचाइ गर्ने कार्यलाई सकारात्मक पक्षका रूपमा व्याख्या गरे। उनले विद्युत्को आवश्यकता दिनानुदिन बढ्दै गएको र त्यससँगै चुनौतीहरू पनि बढिरहेको बताए। व्यवस्थापनका लागि आवश्यक गृहकार्य पर्याप्त हुन नसकेको बताउँदै उनले विद्युत् उत्पादनलाई हरेक नागरिक र मुलुकको आय–आर्जनसँग जोड्ने गरी सरकारले काम गरिरहेको स्पष्ट पारे।

मन्त्री खड्काले भने, ‘नेपालमा सौर्य विद्युत् उत्पादनमार्फत नेपाल सरकारले ग्रिड नपुगेका विकट स्थानमा उज्यालो पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिएको छ। सरकारले सिँचाइ गर्न नसकेका ठाउँमा सौर्य ऊर्जामार्फत पम्पिङ गरेर योगदान दिइएको छ। विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको छ भने अर्कोतिर चुनौतीहरू पनि थपिँदै गएका छन्।’

मन्त्री खड्काले सरकारले उज्यालो पुऱ्याउन नसकेका दुर्गम तथा विकट गाउँ-बस्तीमा सौर्य विद्युत् उत्पादक संघका सदस्य कम्पनीहरुले बिजुली पुर्‍याइरहेको भन्दै प्रशंसा गरे । स्वच्छ र भरपर्दो ऊर्जाको विकल्पका रूपमा सौर्य ऊर्जा रणनीतिक रूपमा महत्त्वपूर्ण भइसकेको उल्लेख गर्दै उनले भने, ‘हामी जलविद्युत्‌को जति अगाडि बढ्दैछौँ, सौर्य ऊर्जा पनि त्यत्तिकै महत्त्वको विषय हो । जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहुआयामिक र नवीकरणीय स्रोतमै केन्द्रित हुनुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सौर्य ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान र सरकारसँगको सहकार्यको आवश्यकता माथि प्रकाश पारे । ‘संघले विगत २५ वर्षमा नीति संवाद, प्रविधि हस्तान्तरण र परियोजना विकासमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष पराजुलीले सौर्य उर्जाप्रतिको आकर्षणलाई पुरा गर्न अब सहकार्य, स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक रहेको बताए ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल, नेपाल उधोग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, संघका वरिष्ठ उपाध्यक्ष हरिनारायण गौतम, पूर्व अध्यक्ष हिरा बहादुर खत्री र उत्तम सिटौला, प्रथम उपाध्यक्ष ओम वहादुर खत्री र महासचिव दिपक गौतम लगायतका बक्ताहरुले सौर्य उर्जाको महत्व र आवश्यकता माथि प्रकाश पारेका थिए ।

सोही कार्यक्रममा मन्त्री खड्काले संघले प्रकाशन गरेको ‘उज्यालो यात्रा’ स्मारिका विमोचन गरे । कार्यक्रममा संघका संस्थापक सदस्य कम्पनीहरु, पूर्व अध्यक्षहरु, अग्रज सौर्य व्यवसायीहरु र स्थापना समयमा महत्वपूर्ण योगदान दिने कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सौर्य ऊर्जा क्षेत्रको वर्तमान अवस्था, सम्भावना र चुनौतीका विषयमा पनि व्यापक छलफल गरिएको थियो । कार्यक्रममा सौर्य कम्पनीका प्रतिनिधि, विद्युत् प्राधिकरणका पदाधिकारी, विज्ञहरू तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->