बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा लक्ष्यको ८८ प्रतिशत कर संकलन

बागलुङमा लक्ष्यको ८८ प्रतिशत कर संकलन

पछिल्लो समय व्यावसायिक पान र अन्तःशुल्कसमेत बढ्दै गएकोले कर संकलनमा पनि सुधार भएको हो ।


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८२, बुधबार

बागलुङ/आन्तरिक राजश्व कार्यालय बागलुङले लक्ष्यको ८८ प्रतिशत कर संकलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा बागलुङमा १ अर्ब ७ करोड ६६ लाख रुपैयाँ कर संकलन भएको हो ।

१ अर्ब २२ करोड ३९ लाख संकलन गर्ने लक्ष्य भएपनि ८८ प्रतिशत कर संकलन भएको प्रमुख कर अधिकृत प्रमोदकुमार श्रीवास्तवले बताए । संकलित करमध्ये सबैभन्दा धेरै आयकरबाट संकलन भएको छ । आयकरबाट मात्र ६० करोड १० लाख रुपैयाँ कर संकलन भएको हो ।

कार्यालयले संकलन गर्नेमध्ये बहालकरबापत १ करोड ५३ लाख र शैक्षिक करबाट ५ करोड ८५ लाख संकलन भएको हो । व्याज करबाट १० करोड ४१ लाख, भ्याटबाट २९ करोड ७४ लाख, अन्तःशुल्कबाट ५ करोड ८५ लाख संकलन भएको छ । जुन कुल लक्ष्यको ८७ दशमलब ९७ प्रतिशत हो ।

लक्ष्यमा पुग्न कठिन भएपनि कर संकलनको दर भने राम्रो रहेको श्रीवास्तवको दावी छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ म १ अर्ब २० करोड संकलन गर्ने लक्ष्यमा कार्यालयले ८० प्रतिशत अर्थात् ९६ करोड ६७ लाख कर संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढी कर संकलन भएको हो । कर संकलन बढ््नुमा करको दायरा फराकिलो बन्दै गएको हो । पछिल्लो समय व्यावसायिक पान र अन्तःशुल्कसमेत बढ्दै गएकोले कर संकलनमा पनि सुधार भएको हो ।

आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब ५ करोड ५१ लाख कर संकलन गर्ने लक्ष्य राखेकोमा ९० प्रतिशत अर्थात् ९५ करोड ३२ लाख कर संकलन भएको थियो । लघुवित्तीय संस्थाको नाफा बढेपछि ‘ख’ वर्गको राजश्व कार्यालयमा दर्ता भएकोले बागलुङस्थित आन्तरिक राजश्व कार्यालयमा केही कर रकम घट्ने गरेको श्रीवास्तवले बताए । ‘५० करोड सम्मको आय भएका लघुवित्तहरु अहिले माथिल्लो तहमा कर तिर्न जाँदा अंक केही कम भएको छ,’ उनले भने, ‘हामीले दायरा भने बढाएका छौं ।’

माथिल्लो तहमा जानेलाई पनि प्रोत्साहित गरेको उनले बताए । लघुवित्तहरु जिल्लामै रहुन्जेल आर्थिक वर्ष २०७६/०७७ मा ९९ करोड ९७ लाख संकलन गरेर १ सय ३ प्रशित र आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ९ करोड कर संकलन गरेर यहाँ १ सय २६ प्रशित प्रगति भएको थियो ।

कार्यालयले एक वर्षमा ८२ वटा सूचकमा २२ वटा करदाता शिक्षा अभियान चलाएर एकै वर्षमा २ हजार १ सय २३ आयकर र १ सय ९ वटा भ्याट दर्ता गराएको छ । त्यस्तै एकै वर्षमा ७ हजार ७ सय ४७ व्यक्तिगत र १ हजार ९ सय १७ अन्तशुल्कमा करदाता थप भएका छन् । यहाँको कार्यालयमार्फत् ७७ हजार २४ करदाता सूचीकृत भएकोमा ५१ ह्जार १ सय ९० व्यक्तिगत करदाता छन् । २५ हजार व्यवसायिक करदाता रहेको श्रीवास्तवले जानकारी दिए ।

लक्ष्यअनुसार कर असुल हुन नसक्नुलाई आर्थिक क्षेत्रको मन्दी, सहकारीहरुमा आम नागरिकको विश्वास घट्नुलाई एकाथरीले लिएका छन् भने कार्यालयले भने लक्ष्य बढी राखिएकोले कम देखिएको बताएको छ । ‘लक्ष्य बढी राखेर प्रतिशत कम भएको हो, हामीले कर संकलनमा कतै त्रुटि गरेका छैनौं,’ श्रीवास्तवले भने, ‘करदाता र दायरा पनि बढेका छन् ।’ सहकारीको कारोवार भने घटेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->