पोखरा/पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । नगर ऊर्जा योजनाले दक्ष र दिगो ऊर्जामार्फत् समुन्नत पोखराको परिकल्पना र ऊर्जा स्वच्छता र दक्षतामार्फत् कार्वन तटस्थ पोखराको निर्माण गर्ने ध्येय राखेको छ ।
यसले घरायसी तहमा स्वच्छ र दक्षतासहित नवीकरणीय ऊर्जाको उत्पादन तथा उपयोगलाई प्रभावकारी बनाउने, व्यवसायमा परम्परागत तथा आयातित इन्धन न्यूनीकरण गर्दै नवीकरणीय ऊर्जाको उपयोग बढाउने, उद्योगहरूबाट हुने हरित गृह ग्याँस उत्सर्जन न्यूनीकरण गर्दै नवीकरणीय ऊर्जा उपयोग र दक्षता अभिवृद्धि गर्ने र वातावरण संरक्षण र आर्थिक समृद्धिका लागि नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता नीति र शैक्षिक अभियानमार्फत् दिगो अभ्यासहरूमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । ऊर्जा योजना कार्यान्वयनका लागि पाँच वर्षसम्म १ अर्ब ३३ करोड ३० लाख ८२ हजार लाग्ने अनुमान गरिएको छ ।
महानगरको ग्रामीण क्षेत्रका घरहरूमा सुधारिएको चुल्हो प्रवद्र्धन, सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोगमा प्राथमिकता, नवीकरणीय ऊर्जा उत्पादन क्षमतामा वृद्धि, ऊर्जा दक्षता सुधारलगायतका कार्यहरूलाई योजनाबद्ध ढङ्गले व्यवस्थित रूपमा सम्पादन गर्न नगर ऊर्जा योजना (२०८१-८६) ले नीतिगत व्यवस्था गरेको छ ।
परम्परागत ऊर्जा उपयोगलाई न्यूनीकरण गर्दै नवीकरणीय र हरित ऊर्जाको विविधिकरण गर्ने, सन् २०२९ सम्म पोखरा महानगरका प्रत्येक घरमा विद्युतीय चुल्होको पहुँच सुनिश्चित गर्ने, व्यावसायिक क्षेत्रमा हरित अर्थतन्त्र विकासको लागि ऊर्जा दक्षता अभिवृद्धि गर्ने, परम्परागत र खनिज इन्धनको खपतलाई कम्तिमा २५ प्रतिशतले कम गर्ने, औद्योगिक क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग विस्तार गर्ने, उद्योगहरूको ऊर्जा दक्षता प्रवद्र्धन गर्ने र अन्तर विषयगत क्षेत्रमा लक्षित समुदायमा ऊर्जा दक्षता र पहुँच वृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन र नगर ऊर्जा योजनाको सफल कार्यान्वयन लगायत यसका उद्देश्यहरू रहेका छन् ।
नगर ऊर्जा योजनाका लक्ष्य तथा उद्देश्यहरू हासिल गर्न ऊर्जा दक्षता प्रविधिहरू लागू गर्दै ऊर्जा वितरण पूर्वाधारको स्तर वृद्धि गर्ने, नवीकरणीय ऊर्जामा सहुलियत तथा अनुदान प्रदान, खनिज इन्धन खपत र ऊर्जा दक्षताका लागि नवीनतम पहलहरू गर्ने, ऊर्जा दक्षता सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन र समावेशी ऊर्जा नीति र नियमहरूको निर्माण तथा कार्यान्वयन गर्ने रणनीतिहरू अवलम्बन गरिनेछ । जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था(जीआइजेड), वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विन्डपावर नेपाल प्रालि र युरोपियन युनियनको सहयोगमा पोखरा महानगरपालिकाको सहरी योजना आयोगले नगर ऊर्जा योजना तयार गरेको हो ।
प्रथम नगर ऊर्जा योजना मंगलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सार्वजनिक गरे । उनले २१०० सालसम्ममा ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माणको लक्ष्यसहित पोखरा महानगरपालिका कार्बन तटस्थ सहर निर्माणको अभियानमा प्रतिबद्धताका साथ अगाडि बढेको बताए । दिगो विकासको विश्वव्यापी लक्ष्य अनुरूप महानगर भित्र स्वच्छ ऊर्जा र ऊर्जा दक्षतामा जोड दिने उद्देश्यसहित नगर ऊर्जा योजना निर्माण गरिएको उनको भनाइ छ ।
दैनिक जीवनमा प्रयोग गरिने सामग्रीहरूमा विद्युतीय उपकरणहरूको उपयोग गर्दै नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गरी कार्बन उत्सर्जनको खुद शून्य २०४५ को लक्ष्य अनुरूप नीतिहरू अवलम्बन गरिएको पनि उनले बताए ।
‘पोखरा महानगरपालिकाको घरेलु, व्यवसायीक र औद्योगिक क्षेत्रमा ऊर्जा प्रयोगको अवस्था सहित ऊर्जा दक्षताको पहिचान, दक्ष र भर पर्दो ऊर्जामा नगरवासीहरूको पहुँच अभिवृद्धि, स्थानीय आर्थिक विकासमा टेवा र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने दिशामा नगर ऊर्जा योजनाले महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ नगर प्रमुख आचार्यले भने,‘ स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नवीकरणीय ऊर्जा र स्थानीय विद्युत् वितरण प्रणाली व्यवस्थापन, सञ्चालन र अनुगमन सम्बन्धी योजना तथा नीति तर्जुमासम्बन्धी अधिकारको उपयोग गर्दै नगर क्षेत्रको ऊर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगरपालिकाको प्रथम नगर ऊर्जा योजना तयार गरिएको हो ।’
कार्यक्रममा ऊर्जा विशेषज्ञ डा. नारायणप्रसाद चौलागार्इं, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक डा.नारायणप्रसाद अधिकारी, विन्डपावर नेपाल प्रालिका अध्यक्ष कुशल गुरुङ, पोखरा महानगरपालिका प्रवक्ता मोतीलाल तिम्सिना, पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनहर कडरियालगायतले नगर ऊर्जा योजनाले समग्र महानगरको ऊर्जा व्यवस्थापनमा स्पष्ट नीतिगत मार्गदर्शन प्रदान गर्ने जिकिर गरे ।





