पर्वत/ गत आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश अस्पताल पर्वतबाट झन्डै दुई सय जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार एक वर्षमा कुल एक सय ९४ जना महिलाहरूले गर्भपतन गराएका हुन् । उनीहरूमध्ये एक सय ७६ जनाले औषधिको प्रयोगबाट हुने गर्भपतन विधि अपनाएका छन् भने शल्यक्रियामार्फत ६८ जनाले गर्भपतन गरेका हुन् ।
आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालबाट कुल दुई सय ४४ जनाले गर्भपतन सेवा लिएकोमा गत आर्थिक वर्षमा भने त्यसको तुलनामा २०.४९ प्रतिशतले कमी आएको हो । आर्थिक वर्ष २०७९/८० मा भने कुल एक सय ९९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका अस्पतालको तथ्याङ्क छ । अस्पतालको सेवा, गोपनीयता, सुविधा लगायतका पक्षबारे थाहा पाइ अस्पतालमा पुगेर सेवा लिनेहरूको सङ्ख्या एकतिर भए पनि अस्पतालका बाहिरको अवस्था फरक छ । आफैले औषधि सेवन गरेर, लाज र डरको कारण जिल्ला बाहिर गएर वा निजी क्लिनिकहरूमा पुगेर समेत गर्भपतन गराउनेहरूको एकीकृत तथ्यांक छैन । मान्यता प्राप्त आधिकारिक संस्थामा जानेहरूको सङ्ख्या भन्दा अवैध रूपमा गर्भपतन गराउनेहरूको सङ्ख्या धेरै रहेको अनुमान छ । अवैध रूपमा गरिने त्यस्ता गर्भपतनको तथ्याङ्क नै पाईँदैन् ।
अनिच्छित गर्भधारण रोक्न अचेल विभिन्न उपाय छन्। अनिच्छित गर्भधारण हुन नदिनका लागि अपनाउन सकिने उपायबारेमा आधारभूत तहको शिक्षा (कक्षा ६–८) को स्वास्थ्य विषयमा पढाइ हुन्छ । गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन रूपमा गम्भीर असरहरू देखा पर्न सक्छन् भन्नेबारे सिकाउन स्वास्थ्य संस्थाहरूले पनि विभिन्न जानकारीमूलक अभियानहरू पनि चलाइरहेका हुन्छन् । तर गर्भपतन गराउनेहरूलाई न त पाठ्यक्रममा समावेश विषयवस्तुले काम गरेको देखिन्छ न त चिकित्सकको सुझावले नै । जिल्लामा औषधी सेवन गराएर गराइने गर्भपतन सेवा ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाले पनि दिँदै आइरहेका छन् ।
जिल्लामा गर्भपतनको वैध सेवा दिने मुख्य सेवा प्रदायक पर्वत अस्पताल र मेरी स्वास्थ्य सेवा क्लिनिक हुन्। ग्रामीण क्षेत्रमा रहेका केही स्वास्थ्य संस्थाले पनि सरकारबाट अनुमति पाएर यो सेवा प्रदान गर्दै आइरहेका छन् । तिनीहरूले प्रदान गरेको सेवा यसमा जोडिएको छैन । वैध रूपमा दुई संस्थामा देखिएको तथ्याङ्कबाहेक अवैध रूपमा गरिने गर्भपतन र लाज लुकाउनको लागि सदरमुकाम कुश्मा बाहेक नजिकका दुई सहरहरू पोखरा र बागलुङ पुगेर गर्भपतन सेवा लिनेहरूको सङ्ख्या त यकिन नै छैन् । औषधी पसलबाट गर्भपतनको औषधि किनेर आफ्नै तरिकाले गर्भपतन गर्नेहरूको सङ्ख्या त अनुमान गर्न नै गाह्रो छ ।
जिल्लामा रहेको वैध स्वास्थ्य संस्थामा पुगेर गर्भपतन सेवा लिँदा चिनेका स्वास्थ्यकर्मी वा कोही चिनेका व्यक्तिहरू अस्पतालमा भेटिन सक्ने र उनीहरूले गर्भपतनको बारेमा थाहा पाउन सक्ने भयले औषधी पसलबाट आफैले गर्भपतनका औषधि किन्ने तथा जिल्ला बाहिर गएर सेवा लिनेहरूको सङ्ख्या धेरै हुने दाबी सरोकारवालाहरू गर्छन् । गर्भ निरोधक साधनको प्रयोग नगरी गर्भपतनको बाटो रोजिरहेका किशोरी वा महिलाहरूले आफ्नै भविष्यमाथि खेलबाड गरिरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोला बताउँछन् । असुरक्षित रूपमा गर्भपतन गर्दा महिलाको ज्यान खतरामा पर्ने भएकाले सरकारले तोकेको स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीले मात्रै गर्भ पतन गराउन पाउँछन् । नौ हप्तासम्मको गर्भलाई औषधीको प्रयोगबाट सुरक्षित तरिकाले गर्भपतन गराउन पाइन्छ भने १२ हप्तासम्मको गर्भलाई उपकरणको प्रयोगबाट पतन गराउन पाइन्छ ।
गर्भवतीको मन्जुरीले १२ हप्तासम्मको गर्भ, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने वा शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने वा विकलाङ्ग बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मन्जुरीमा गर्भपतन गराउन सकिने व्यवस्था छ । कानुनले तोकेको अवधि, प्रक्रिया र स्थानमा नगरेमा महिलालाई समेत सजायको व्यवस्था रहेको छ । त्यस्तै कानुनले भ्रूणको लिङ्ग पहिचान गरी गरिने गर्भपतनलाई पनि अपराध मानेको छ ।





