बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

औद्योगिकीकरणमा लाग्न राजदूत रहमानको सुझाव

औद्योगिकीकरणमा लाग्न राजदूत रहमानको सुझाव

नेपालका बंगलादेशका राजदूतमोहम्मद सापिकुर रहमानले भने,‘काँकरभित्ता–फूलबारी–बंगालाबन्द व्यापारिक मार्ग संचालन हुनु असाध्यै राम्रो हो तर हामीले यहाँ धेरै गर्नुछ । क्रस बोर्डर भौतिक पूर्वाधार निर्माण तथा भन्सार शुल्कलगायतका विषयमा सुधार हुनुपर्छ ।’


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०८२, आइतबार

पोखरा/नेपालका बंगलादेशका राजदूतमोहम्मद सापिकुर रहमानले उपभोगले हैन,औद्योगिकीकरणले मात्र देशको अर्थतन्त्र माथि जाने बताएका छन् । उनले त्यसको लागि नेपालसहित कम विकसित राष्ट्रहरुले आफ्नो उत्पादन र त्यसको ब्राण्डिङमा ध्यान दिनुपर्ने पनि बताए ।

पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको विश्व प्रविधि, भूगोल वा व्यापारले जोडिएको छ । व्यवसायको धर्म र रङ हुँदैन तर व्यवसाय गर्नको लागि उत्पादन चाहिँ हुनैपर्छ ।’ उनले नेपाल र बंगलादेशबीच कृषि, प्रविधि हस्तान्तरण, आयुर्वेदिक उत्पादन तथा औषधिको क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको पनि बताए ।

‘हामी नेपालसँग अझै बढी बिजुली लिन सक्छौँ, हामीलाई त्यसको आवश्यकता छ । व्यापार बढ्दा बंगलादेशको पैसा नेपाल आउन सजिलो छ तर हामीले यसको लागि अझै धेरै गर्न बाँकी छ । बंगलादेशको औषधि उद्योग नेपाल आउन खोज्दा सहज भएन ।’ उनले फूलबारी–बंगलाबन्द मार्गको सहज संचालनबाट दुवै देशले धेरैभन्दा धेरै लाभ लिन सक्ने धारणा पनि राखे । व्यापारलाई भू–राजनीतिक मामिलाबाट टाढा राख्नुपर्ने उनको भनाइ थियो ।

‘काँकरभित्ता–फूलबारी–बंगालाबन्द व्यापारिक मार्ग संचालन हुनु असाध्यै राम्रो हो तर हामीले यहाँ धेरै गर्नुछ । क्रस बोर्डर भौतिक पूर्वाधार निर्माण तथा भन्सार शुल्कलगायतका विषयमा सुधार हुनुपर्छ,’उनले भने । उनको संकेत नेपाल र बंगलादेशबीच पर्ने भारतीय भूमिमा रहेको राजमार्गप्रति रहेको थियो ।

नेपाल र बंगलादेशबीचको पर्यटन प्रवद्र्धनको लागि पोखरा–बंगलादेश सिधा उडान हुनुपर्ने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको भनाइको जवाफ दिँदै राजदूत रहमानले बंगलादेशका हवाइ कम्पनीहरु पोखराबाट उडान भर्न तयार रहेको र त्यसको लागि प्रक्रिया सुरु भएको जानकारी दिए ।

उनले पोखराजस्तो पर्यटकीय सहरमा ‘हलाल फुड’को माग हुनसक्ने बताउँदै त्यसका लागि बंगलादेशले सघाउन सक्ने बताए । एलोभेरा,नेपाली पस्मिनाको बंगलादेश राम्रो बजार हुने पनि उनको धारणा थियो ।

बंगलादेशका राजदूतलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यसअघि भएको बंगालादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिमको पोखरा भ्रमणले बंगलादेशमा नेपालबारे प्रचार भएको र त्यहाँबाट आउने पर्यटक संख्या बढेकोमा बंगलादेश सरकारलाई धन्यवाद ज्ञापन गरे ।

‘अहिले नेपाल भ्रमण गर्ने बंगलादेशी पर्यटक बढेका छन् । नेपाल सरकारले बंगलादेशको मुद्रालाई पनि परिवत्र्य मुद्राको रुपमा ग्रहण गर्दै त्यहाँका पर्यटक भित्र्याउने पहल थालेको छ,’अध्यक्ष कार्कीले भने,‘ यस्तो अवस्थामा नेपाल र खासगरी पोखरामा धेरैभन्दा धेरै बंगलादेशी पर्यटक आऊन् भन्ने हाम्रो चाहना छ । पोखराबाटसोझै ढाका उडान हुन सके दुई देशबीचको पर्यटन उद्योग र व्यापारलाई अझ फाइदा हुन्यो भन्ने हामीलाई लागेको छ ।’

अध्यक्ष कार्कीले नेपालमा उत्पादित चिया,अदुवा अलैंचीलगायतका कृषिजन्य बस्तुको निर्यात बढाउन पनि बंगलादेशले सहजीकरण गरिदियोस् भन्ने आग्रह गरे ।

अध्यक्ष कार्कीले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुको फूलबारी–बंगलाबन्धु मार्गबाट सहज आवत जावतको प्रबन्धमा नेपाल र बंगलादेशबीच सहकार्य हुनुपर्ने धारणा पनि राखे ।

सन् २०२६ मा नेपाल र बंगलादेश दुवै अति कम विकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुँदै गरेको प्रसंग झिक्दै उनले भने,‘ विकासशील देश हुँदाको चुनौती सामना गर्न हामीबीच व्यापारको क्षेत्रमा सहकार्य हुनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ ।’

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले नेपाल र बंगलादेशबीच सोझो हवाइ सम्बन्ध स्थापित हुँदा व्यवसाय स्वतः बढ्ने धारणा राखे ।

छलफल कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति, संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम, कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ र उपमहासचिव सुदीप प्रधानाङ्गको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->