बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रदेश अस्पताल पर्वतमा एक वर्षमा ७३ हजार बढी बिरामीले लिए स्वास्थ्य सेवा

प्रदेश अस्पताल पर्वतमा एक वर्षमा ७३ हजार बढी बिरामीले लिए स्वास्थ्य सेवा

अस्पतालले पछिल्ला वर्षहरूमा विस्तार गर्दै लगेका आफ्ना सेवाहरू, स्वास्थ्य बिमा तथा अस्पतालप्रति नागरिकको विश्वासका कारण हरेक वर्ष स्वास्थ्य सेवा लिनेहरूको संख्या बढ्दै गइरहेको छ ।


  • संजय रेग्मी
  • साउन २६ २०८२, सोमबार

पर्वत/गत आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश अस्पताल पर्वतबाट झन्डै ७४ हजार जना व्यक्तिहरूले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार एक वर्षको अवधिमा ३२ हजार दुई सय १९ जना महिला र ४१ हजार तीन सय ४६ जना पुरुष गरेर कुल ७३ हजार पाँच सय ६५ जनाले स्वास्थ्य सेवा लिएका हुन् । अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ५८ हजार छ सय २५ जनाले सेवा लिएकोमा गत आर्थिक वर्षमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो। आर्थिक वर्ष २०७९/०८० मा कुल ३९ हजार २५ जनाले स्वास्थ्य सेवा लिएका थिए ।

आर्थिक वर्षमा आर्थिक वर्ष २०७९/०८० को तुलनामा २०८०/०८१ मा सेवाग्राहीहरूको सङ्ख्यामा ५०.२ प्रतिशतले वृद्धि भएको छ भने आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा २५.५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षका ७३ हजार पाँच सय ६५ जना सेवाग्राहीहरूमध्ये ६४ हजार एक सय १४ जनाले बहिरङ्ग विभागबाट तथा नौ हजार चार सय ५१ जनाले आकस्मिक विभागबाट सेवा लिएका हुन्। यस्तै एक हजार पाँच सय ७१ जनाले अन्तरङ्ग विभागमा भर्ना भएर सेवा लिएका छन् ।

अस्पतालले पछिल्ला वर्षहरूमा विस्तार गर्दै लगेका आफ्ना सेवाहरू, स्वास्थ्य बिमा तथा अस्पतालप्रति नागरिकको विश्वासका कारण हरेक वर्ष स्वास्थ्य सेवा लिनेहरूको संख्या बढ्दै गइरहेको छ । विगतमा सामान्य उपचारका लागि पनि पोखरा अन्य अस्पतालहरूमा ‘रिफर’ गर्नुपर्ने बाध्यता रहँदै आएकोमा पछिल्ला वर्षहरूमा अस्पतालले विभिन्न शल्यक्रियाहरूसहित विशेषज्ञ सेवा प्रदान गरिरहेको छ ।

शल्यक्रिया सहितका सेवाहरू जिल्लामा नै पाउने भएपछि बिरामीहरूले धेरै रकम खर्च गरेर टाढाको दूरीमा पुगेर स्वास्थ्य जाँच गर्नुपर्ने अवस्थाको अन्त्य भएको डा. बास्तोलाले बताए । अस्पतालप्रतिको विश्वासका कारण नै पर्वत जिल्ला सहित बागलुङको बलेवा, नारायणस्थान, अमलाचौर, बिनामारे, कुश्मीशेरा, दमेक लगायतका स्थानका बिरामीहरू समेत प्रदेश अस्पताल पर्वतमा आउने गरेका छन् ।

गत आर्थिक वर्षमा २५ प्रतिशतले सेवाग्राहीको संख्या बढेको छ । यो आर्थिक वर्षबाट त अस्पतालमा थप विशेषज्ञ सेवाहरू समेत विस्तार गरिएको छ ।

‘हाड जोर्नी रोग विशेषज्ञ, महिला तथा प्रसूति रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, जनरल फिजिसियन लगायत सर्जिकल सेवा पनि विस्तार गरेको छौँ’, मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले भने, ‘अस्पताललाई विश्वास गरी सेवा प्रदान गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण सेवाग्राहीप्रति आभार व्यक्त गर्दछौँ । अस्पतालले थप सेवा विस्तारका लागि निरन्तर लागिरहेको छ । हामीले सकेसम्म कोही पनि उपचारको खोजीमा बाहिर जान नपरोस्, कसैको पनि अनावश्यक पैसा खर्च नहोस्, स्वास्थ्य लाभका लागि बाहिर गएर धेरै दिन बस्नुपर्ने अवस्था नआओस्, भन्ने उद्देश्यले नै काम गरिरहेका छौँ ।’

अस्पतालमा गर्भवतीको शल्यक्रियादेखि शरीरमा भएका गाँठागुँठी, पायल्स, फिस्टुला, हाइड्रोशील, हर्निया, एपेन्डीसाइटिस लगायतका शल्यक्रिया हुने गरेका छन् । पछिल्ला केही वर्षहरूमा निर्माण भएका आधुनिक सुविधा सहितका भौतिक संरचना र शल्यक्रिया सेवा प्रदान गर्ने चिकित्सहरुको व्यवस्थापन हुँदै गएपछि अस्पतालमा सेवाग्राहीको सङ्ख्या बढिरहेको छ ।

अस्पतालले बिरामीहरूको आवश्यकता तथा सरकारी वा गैर सरकारी सेवामा संलग्न रहेकाहरूको व्यस्त समयलाई ख्याल गरेर ओपिडी सेवालाई बिहान र बेलुकाको समयमा पनि विस्तार गरेपछि बिरामीको चाप झनै बढ्दै गइरहेको छ । सामान्यतः अस्पतालहरूमा बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म ओपिडी सेवा खुल्ला हुने गर्दछ । तर पर्वत अस्पतालले भने यो सेवालाई बिहान सात बजेदेखि साँझको सात बजेसम्म नै विस्तार गरेको छ ।

यो समयमा दैनिक मजदुरीमा जानेहरूदेखि शिक्षक र कर्मचारीहरूले स्वास्थ्य परीक्षण गराउनुपर्दा मजदुरले एक दिनको काम नै छाड्नुपर्ने अनि शिक्षक र कर्मचारीहरूले एक दिन बिदा लिनुपर्ने बाध्यताको अन्त्य भएको छ । बिहान र बेलुकाको समयमा समेत ‘ओपिडी’ सेवा सुरु गरेपछि दिवा सत्रमा स्वास्थ्य सेवा लिन समस्या भोग्दै आएकाहरूलाई राहत भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->