बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नागरिकका लागि अस्थायी टहरा निर्माण गर्दै प्रहरी

नागरिकका लागि अस्थायी टहरा निर्माण गर्दै प्रहरी

नागरिक नै असुरक्षित हुने खबर पाएपछि आइतबारदेखि प्रहरी चौकी डिमुवा, जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरीको नं. २५ बाहिनी हेडक्वार्टर चण्डिका पर्वतको टोलीले संयुक्त रूपमा टहरा बनाउन थालेका हुन् ।


  • संजय रेग्मी
  • साउन २७ २०८२, मंगलबार

पर्वत/जिल्लाको मोदी गाउँपालिका–२ देउपुरस्थित दोबाटामा वर्षाले घरहरू चर्किने तथा बस्ती नै पहिरोको जोखिममा परेपछि प्रहरीले अस्थायी टहरा निर्माण गर्न सुरु गरेको छ ।

शनिवार राति परेको अविरल वर्षाका कारण घरमुनिबाट पहिरो गई घर चर्किनुका साथै जोखिममा परि बस्न अयोग्य भएपछि अस्थायी रूपमा भए पनि टहरा निर्माणको काम थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताए । घरहरू जोखिममा रहेको तथा ती घरहरूमा बसिरहँदा थप वर्षा भएको अवस्थामा नागरिक नै असुरक्षित हुने खबर पाएपछि आइतबारदेखि प्रहरी चौकी डिमुवा, जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरीको नं. २५ बाहिनी हेडक्वार्टर चण्डिका पर्वतको टोलीले संयुक्त रूपमा टहरा बनाउन थालेका हुन् ।

मोदी गाउँपालिकाको वडा नं. १, २ र ३ लाई जोड्ने मुख्य सडक नै पूर्ण रूपमा अवरुद्ध गर्ने कोरुङ्गा भन्ने उक्त स्थानमा पोहोर साल पनि पहिरो गएको थियो । पोहोर साल तीन महिनासम्म पूर्ण रूपमा बन्द रहेको सडकलाई हिउँदमा खुलाइएको भए पनि यसपालिको वर्षाले फेरि पहिरो झर्न थालेको छ । सोही पहिरोले पाँच घर रहेको बस्तीलाई जोखिममा पारेको हो ।

बस्तीका सबै परिवारलाई एकीकृत रूपमा स्थानान्तरण गर्न नसकिए पनि कम्तीमा टहरा बनाउने अभियान थाल्ने हो भने जनधनको क्षतिबाट जोगिन सकिने भएकोले प्रहरीको सक्रियतामा काम गरिएको प्रहरी निरीक्षक सापकोटाले बताए । नेपाल प्रहरीका १० जना, सशस्त्र प्रहरीका ११ जना जनशक्ति सहित स्थानीयवासीको सहयोगमा एक दिनमा नै टहरो तयार पारेर विपद्को पूर्व तयारी गरिएको उनको भनाइ छ ।

‘विपद्को बेलामा नागरिकहरू आफैमा चिन्तामा रहेको अवस्था हुन्छ । के गर्ने ? कसो गर्ने ? सबै कुराहरूको मेसो नआएको पनि हुन सक्छ भनेर तत्कालका लागि विस्थापित बनेका दुई परिवारका लागि टहरा बनाउन सुरु गरिएको हो’, उनले भने, ‘अझ एउटा टहरो बनेपछि सबैभन्दा समस्यामा रहेका दुई परिवारका लागि अस्थायी आवास तयार हुने छ ।’

स्थानीय शिक्षक भूमिराज शर्माका अनुसार टीकाराम जैसीको घरको एउटा भाग चिरा परेर भत्किएको छ । पाँच जना सदस्य रहेको उक्त परिवारलाई घरमा राख्दा मानवीय क्षतिको जोखिम भएपछि आइतबार उक्त परिवारको लागि स्थानीय स्रोत र साधनको परिचालन गरेर टहरा निर्माण गरिएको हो ।

अन्य चार घरहरू जोखिममा रहेको भए पनि भत्किहालेका भने छैनन् । तर अब वर्षा हुँदा टीकारामको घरसँगै रहेको कुमार के.सी.को घर सहितका घरहरू पनि जोखिममा रहेका छन् । प्रहरीले निर्माण गरेको टहरोमा तत्कालका लागि एक परिवारलाई सुरक्षित स्थानमा सार्न सकिए पनि समस्या बारेको बेलामा तत्कालीन विकल्पको रूपमा लिन सकिने छ ।

‘प्रहरीको अभियानमा गाउँलेहरूको पनि साथ दिएर समस्या न्यूनीकरणको प्रयास भएको छ । उक्त पहिरो सडकबाट सुरु भएको हो । यो कोरुङ्गाको पहिरोले गाउँपालिकाको वडा नं. १, २ र ३ लाई जोड्ने मुख्य सडक नै पूर्ण रूपमा अवरुद्ध गरेको छ,’ शिक्षक शर्माले भने, ‘करिब दुई किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा रहेको छ । समयमै रोकथामको उपाय लगाएको भएमा यो अवस्था आउने थिएन । कार्यक्रमहरू असारको अन्तिममा मात्रै आउँदा बजेट फ्रिज जान्छ, पूरा काम हुन पाएन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->