म्याग्दी/मुस्ताङमा घुम्न जाने पर्यटक तथा स्थानीयबासीलाई लक्षित गरी घरपझोङ गाउँपालिकाले तीन पाङग्रे सवारी साधन (टेम्पो, अटोरिक्सा तथा इ–रिक्सा) सुरू गरेको छ । गाउँपालिका क्षेत्रमा गुड्ने तीन पाङ्ग्रे सवारी साधनकाका लागि रूट तथा भाडा दर समेत तोकेपछि चिमाङ, उपल्लो स्याङ र ढुम्बा सम्ले गाउँ बाहेक सबै बस्तीमा पुग्ने गरी तीनवटा अटोरिक्सा सञ्चालन गरिएको हो ।
अटो रिक्साको गाउँपालिका अध्यक्ष मोहनसिङ लालचन र प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सदरमुकाम जोमसोममा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आसपासका पर्यटकीयस्थलमा जान सहज हुने गरी तत्काल तीनवटा अटोरिक्सा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले बताए । अधिकारीले भन्नुभयो, ‘छोटो रुटमा हिड्ने पर्यटकलाई सहज हुन्छ, नियमित अनुगमन समेत गर्नेछौ ।’
गाउँपालिकाले कच्ची र जोखिमको मापन गरी केही भुभाग बाहेक गाउँपालिका भित्रका सबैजसो बस्तीमा पुग्ने गरी न्यूनतम १ सयदेखि रिजर्भको ५ सय रुपैयाँ भाडा तोकिएको छ । रुट कायम गरिएको क्षेत्रमा न्युनतम एक जना यात्रु भएपनि बोक्नुपर्ने छ । मुस्ताङ घुम्न आएका पर्यटक जोमसोममा बास बस्ने क्रममा पर्यटकलाई अटो रिक्सा सेवा प्रभावकारी भएमा संख्या थप गर्न सकिने गाउँपालिका अध्यक्ष लालचनले बताए ।
तीन पाङ्ग्रे सार्वजनिक यातायात संञ्चालन भएपछि यात्रुकालागी धेरै सहज हुने अनुमान गरेको अध्यक्ष लालचनको भनाई छ । यसैबीच अटोरिक्सा मापदण्ड अनुसार सञ्चालन गर्न जिल्ला ट्र«ाफिक प्रहरीले समेत नियमित अनुगमन तथा चेकजाँच गर्नेछ । घरपझोङ गाउँपालिकाभित्र रहेका ढुम्बा ताल, हिमचितुवा गुफा सहित अन्य पर्यटकीयस्थलमा जाँदा ट्याक्सी र जीपमा महँगो भाडा तिनुपर्ने बाध्यता थियो ।





