पर्वत/गत आर्थिक वर्ष २०८१/०८२ मा पर्वत जिल्लाबाट राहदानी निकाल्नेहरूको संख्या नागरिकताको प्रमाण पत्र लिनेहरूको संख्याभन्दा ८८ प्रतिशतले बढी रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतद्वारा सार्वजनिक गरिएको गत आर्थिक वर्षको १२ महिनाको तथ्याङ्क अनुसार वंशजको आधारमा नयाँ नागरिकताको प्रमाणपत्र लिनेहरूको संख्या दुई हजार नौ सय ७२ रहेको छ । उक्त अवधिमा राहदानी निकाल्नको लागि जिल्लाबाट ‘इनरोलमेन्ट’ भएकाहरूको सङ्ख्या पाँच हजार पाँच सय ४६ तथा द्रूत राहदानी सिफारिस ५१ गरी कुल पाँच हजार पाँच सय ९७ जनाले राहदानीका लागि फाराम भरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार आर्थिक वर्षको पहिलो महिना साउनमा दुई सय ९५ जनाले नयाँ नागरिकता प्राप्त गर्दा छ सय १८ जनाका लागि राहदानीको ‘इनरोलमेन्ट’ तथा सिफारिस गरिएको छ । यस्तै भदौमा दुई सय १५, असोजमा एक सय ७५, कात्तिकमा तीन सय ७२, मङ्सिरमा दुई सय ३१, पुसमा दुई सय ५९, माघमा दुई सय सात, फागुनमा एक सय ७५, चैतमा दुई सय दुई, वैशाखमा दुई सय छ, जेठमा भार सय ३५ र असारमा दुई सय ८६ जनाले नागरिकताको प्रमाणपत्र लिएका छन् ।
जिल्लाबाट हुने राहदानी सिफारिस र द्रुत राहदानी सिफारिस गरी भदौमा चार सय ४९ जना, असोजमा तीन सय ६२, कात्तिकमा पाँच सय ४२, मङ्सिरमा एक सय ६९, पुसमा छ सय ६३, माघमा चार सय ७४, फागुनमा एक, चैतमा चार सय ३२, वैशाखमा चार सय ३६, जेठमा पाँच सय ४५ र असारमा चार सय ७९ रहेका छन् ।
गत आर्थिक वर्ष २०८०/०८१ मा तीन हजार ए सय ८७ जनाले नागरिकताको प्रमाणपत्र लिँदा छ हजार आठ सय २७ जनाले राहदानी बनाएका थिए । जुन सङ्ख्या जिल्लाबाट राहदानी सिफारिस भइराहदानी जिल्लामा नै आइपुगेपछि वितरण भएकाहरूको हो । जिल्लाबाट राहदानी नबुझेर द्रुत रूपमा राहदानी लिनको लागि जिल्लाबाट सिफारिस लगेकाहरूको संख्या दुई सय ७४ रहेको थियो ।
देशभित्रको बेरोजगारी समस्या, राजनीतिक अस्थिरता लगायतका कारण युवापुस्ता वैदेशिक रोजगारी तथा सम्भव भएसम्म पारिवारिक वैदेशिक बसाइसराइको क्रम बढिरहेको छ । ग्रामीण क्षेत्रमा रहेका उत्पादनयोग्य भूमि बाँझो छाडेर गुणस्तरीय शिक्षा, स्वास्थ्य लगायतको खोजीमा बजारमा सर्ने तथा रोजगारीका लागि विदेश जाने क्रमले जिल्लाका धेरै गाउँहरू रित्ता हुँदै गएका छन् ।
कार्यालयको तथ्याङ्क अनुसार नयाँ नागरिकताको प्रमाण पत्र लिनेहरूको सङ्ख्याभन्दा पुरानो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि निकाल्नेहरूको संख्या पनि बढी रहेको छ । एक वर्षमा वंशजको आधारमा दुई हजार नौ सय ७२ जनाले नागरिकता प्राप्त गर्दा तीन हजार पाँच सय ९९ जनाले नागरिकताको प्रतिलिपि निकालेका छन् ।
एक वर्षको अवधिमा कार्यालयबाट १९ वटा गैर आवासीय नागरिकता र दुई वटा अंंगिकृत नागरिकताहरू वितरण भएका छन् । यस्तै चार सय १८ वटा नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्रका लागि ११ हजार सात सय ८० जनाको विवरण सङ्कलन तथा छ हजार आठ सय ९१ जनालाई परिचय पत्र वितरण गरिएको पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।





