पोखरा/पोखरामा मेट्रो गुप्र प्रालिको शुभारम्भ गरिएको छ । छिमेकी मुलुक चीन तथा थाइल्याण्ड र बंगलादेशलगायतका मुलुकहरुबाट ‘लेडिज एण्ड जेन्ट्स’को अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु आयात गरेर पोखरामा होलसेल बिक्री वितरण गर्ने उद्धेश्यले मेट्रो ग्रुपको स्थापना गरिएको हो ।
पोखरा महानगरपालिका–४ पन्थीगल्लीमा खुलेको मेट्रो ग्रुपको बिहिबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्घाटन गरे । पोखराका व्यवसायिक क्षेत्रमा स्थापित १७ जना व्यवसायी मिलेर ग्रुपको स्थापना गरेका हुन् ।
गु्रपको स्थापनासँगै छिमेकी मुलुक चीनबाट पोखरामा सिधै सामानहरु आयात गर्ने र काठमाडौँको परनिर्भरता हट्ने मेट्रो ग्रुपका अध्यक्ष यादवराज पोखरेलले बताउनुभयो । उनले एकल व्यवसायमा स्थापित व्यवसायीले खोलेको संस्था भएकाले मेट्रो ग्रुपको साझेदारी व्यवसायसमेत सफल हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष पोखरेलले भने,‘चीनबाट सिधै पोखरामा अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु उपलव्ध गराउने कम्पनीको उद्देश्य छ । चीनमा उत्पादक कम्पनीसँग जोडिने भएकाले काठमाडौँको तुलनामा यहाँ ल्याउँदा लागतसमेत सस्तो पर्छ । साझेदारी व्यवसायमा चूनौती रहे पनि, एकल व्यवसायममा भन्दा कम जोखिम रहेकाले नाफा पनि आर्जन गर्ने र राज्यलाई समेत राजश्व तिर्ने योजना छ ।’मेट्रो ग्रुपका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक नवराज त्रिपाठीले एक वर्षअघिको अवधारणा अहिले साकार भएको बताउँदै कम्पनीले अहिले चीनबाट सिधै सामान आयात सुरु गरेको बताए ।
सुरुआतमा शेयरसदस्यहरु बीच सामान खपत भइरहेको र सदस्य भन्दा बाहिर जान सकेको खण्डमा सम्भावना धेरै राम्रो रहेको बताए । ‘निकट भविष्यमा पोखरामा आँफै उत्पादन गर्ने वा चीनबाट आफ्नै ब्राण्डमा ल्याउने योजना छ । संस्थाका सबै सदस्यहरु व्यवसायिक क्षेत्रमा उत्कृष्टता हासिल गरेका व्यक्ति भएकाले यो सामूहिक व्यवसाय सफल हुने विश्वासमा छौँ,’ त्रिपाठीले भने । त्रिपाठीले कम लागतमा उच्च गुणस्तरका आयतित सामग्रहीहरु यहाँका व्यापारीहरुलाई बिक्री गर्ने योजना सुनाए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भूकम्पछि मन्दीमा गएको व्यवसाय कसरी माथि उठाउने भन्ने चुनौती रहेको बताए । ‘बैँक तथा वित्तीय संस्थाको व्याजदर न्यून भएपनि अहिले कर्जाको माग छैन, व्यापार व्यवसाथ मन्दीमा छन् । मन्दीमा रहेको व्यवसाय चलायमान बनाउनु अहिलेको आवश्यकता हो, उनले भने ।
पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले महेन्द्रपुल तथा चिप्लेढुुंगा क्षेत्रको फुटपाथको समस्या समाधान गरिएको बताउँदै व्यवसायीमा उत्साह जगाउनका लागि स्थानीय सरकारले काम गरिरहेको बताए ।
पोखरा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पवनकुमार प्रजापतिले व्यावसायिक चुनौतीको अवस्थामा मेट्रो ग्रुपले सहुलियत र सहज रुपमा व्यवसाय सञ्चालन गर्न सक्षम हुने विश्वास व्यक्त गरे । पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोलाले उत्पादनमा जोडिने ग्रुपको योजना राम्रो रहेको धारणा राखे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ वस्तुगत संघका संयोजक पृथ्वीराज तिमिल्सिना, उद्योग व्यवसायी महासंघ गण्डकीका अध्यक्ष बबरजंग गुरुङ, कपडा व्यवसायी एशोसिएसन कास्कीका अध्यक्ष लेखनाथ पौडेल, ग्रुपका सचिव लेखनाथ सुवेदी, संस्थाका शेयर सदस्य अर्जन पोखरेल लगायतले व्यवसायी निराश भएको अवस्थामा ग्रुपले पोखरा तथा गण्डकी क्षेत्रभर आशाको दियो बाल्न सफल हुने विश्वास व्यक्त गरेका थिए ।





