म्याग्दी/मुस्ताङ जिल्लाको खेलकुद पहिचानको रुपमा स्थापित थाक खेलकुद तथा साँस्कृतिक विकास संघले ५२ औं संस्करण असोज ९–११ गतेसम्म थासाङ गाउँपालिका–३ लेतेमा आयोजना गर्ने भएको छ ।
गत वर्ष संघको आयोजनामा ५१ औं संस्करणको मार्फा केन्द्रमा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको सम्पूर्ण आयव्यय सार्वजनिक गदैैं आजिवन सदस्य तथा मेलाबाट बचत भएको ४७ लाख ५८ हजार ६ सय ७६ रुपैयाँ रहेको संघका सचिव विष्णु थकालीले बताए ।
संघले घरपझोङ गाउँपालिका–२ स्थित प्रमुख पर्यटकीयस्थल मार्फा केन्द्रमा गत वर्ष असोज ५ गतेदेखि ७ गतेसम्म आयोजना गरेको खेलकुद, साँस्कृतिक, मनोरञ्जनका साथै विविध कार्यक्रमबाट कोष बाहेक ११ लाख ४१ हजार ६७६ रुपैयाँ नगद रहेको सचिव थकालीको भनाई छ ।
मेलामा कुल ५९ लाख ९२ हजार ७८५ रुपैयाँ कुल आम्दानी भएकोमा आजीवन सदस्यहरुबाट ३६ लाख १६ हजार रुपैयाँ आम्दानी भएकोमा विभिन्न शिर्षकमा खर्च कटाएपछि बचत गरिएको संघका अध्यक्ष कृष्णकुमार शेरचनले बताए । संघले गत वर्ष पोखरामा पौष १५ गतेदेखि फागुन १५ गतेसम्म मुस्ताङस्थित विभिन्न क्लबका १२ जना खेलाडीहरुलाई संघले ट्रेनिङको व्यवस्था गरेको थियो ।
दुई महिनाको ट्रेनिङमा संघको तर्फबाट करिब ४ लाख ४६ हजार रुपैयाँ खर्च समेत गरेको अध्यक्ष शेरचनको भनाई छ । विभिन्न क्लबका इच्छुक खेलाडीहरुको खेललाई थप मजबुत र हौसला प्रदान गर्नको लागि मुस्ताङ थाक खेलकुद तथा साँस्कृतिक विकास संघले उनीहरुलाई पोखरामा दुई महिनासम्म आवश्यक टे«निङको व्यवस्था गरेको हो ।
मुस्ताङमा सर्वाधिक धनराशीको पुरुष तथा महिला भलिबल, साधा तारा खेल, आधुनिक (आर्चरी) खेल, साँस्कृतिक तथा नृत्य प्रतियोगितासहित थकालीहरुको पहिचान र सभ्यता झल्किने गरी थाक खेलकुदको आयोजना गर्ने गरिन्छ । मुस्ताङमा नयाँ खेलाडी उत्पादन तथा क्षमता अनुसारको अबसरका लागि थाक खेलकुदलाई प्रवेशद्धार मानिन्छ ।





