शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२० लाख पर्यटक भित्र्याउने पोखरेली सपना

२० लाख पर्यटक भित्र्याउने पोखरेली सपना


  • ढोरपाटन डेक्स
  • भाद्र २ २०८२, सोमबार

पोखरा/सन् २०२५ लाई पोखरा महानगरले ‘पोखरा भ्रमण वर्ष, २०२५’ का रुपमा मनाउँदै छ । महानगरपालिकाले गत फागुन ३ गते औपचारिक कार्यक्रम गरी घोषणा गरेर भ्रमण वर्षको लोगो अनावरण समेत गरिसकेको छ । यो अवधीमा आन्तरिक र बाह्य गरी यस वर्ष २० लाख पर्यटक भित्र्याउने र पोखरामा पर्यटकको लागि आकर्षण थप्न विभिन्न प्याकेज दिने तयारीमा महानगर छ ।

तीनवटै तहका सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र मिलेर पोखरामा भित्रिने पाहुनाको आकार बढाउनका लागि भिन्दै प्याकेज तयार पारिएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।

पोखरा महानगर २०८० चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको थियो । पर्यटकीय राजधानी घोषणाको एक वर्ष भएको अवसरमा महानगरले पोखरा भ्रमण वर्ष मनाउन लागेको हो । ‘भ्रमण वर्षभरि नै पोखराको पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने आचार्यले बताए । उनले भने, ‘विदेशमा पोखराको प्रवद्र्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना छ ।’ घोषणा कार्यक्रम तथा वर्षैभरी अभियानका विभिन्न गतिविधि संचालन गर्नका लागि मेयर आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ७३ सदस्यीय एक निर्देशक समिति र पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा २० सदस्यीय कार्य सम्पादन समिति र अन्य ४३ समिति गठन गरिएको छ ।

सुन्दर अन्नपूर्ण हिमश्रृंखलालाको काखमा अवस्थित प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरा हिमाल, ताल, गुफा, कोट धार्मिकस्थल लगायत सुन्दर पर्यटकीय स्थलहरूले सजिएको छ । पोखरालाई अझै समृद्ध बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा पूरा गर्नु पर्ने विभिन्न काम तथा योजनाहरूको लामो व्याख्यासहित पर्यटन राजधानी घोषणा कार्यक्रमका लागि गठित विज्ञहरुको समुहबाट तयार दस्तावेज र प्रतिवेदनलाई पूर्णरूपमा अङ्गीकार गरेको पत्रकार सम्मेलनमा आचार्यले बताए । साथै महानगरपालिकाको नीति तथा कार्यक्रममा समेत संलग्न गरी अगाडी बढिरहेको उनले जनाए ।

यसै क्रममा पर्यटन राजधानी पोखरालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ्ग गर्न तथा पोखराको आन्तरिक एवं वाह्य पर्यटनलाई हालसम्मकै उच्चविन्दुमा पुराउन, पोखराको प्राकृतिक, मानव निर्मित गन्तव्य स्थलहरूको प्रचार प्रसार गर्न र यी सम्पूर्ण क्षेत्रहरूको महत्व तथा अवस्थितिलाई जनसमक्ष पुराउन भ्रमण वर्षले सहयोग पुग्ने विश्वास महानगरको छ । साथै पोखराको अर्थतन्त्रलाई चलायमान बनाउँदै स्वच्छ पोखरा, स्वस्थ्य र खुसी पोखरेली बनाउने अभियानमा यो वर्षलाई आधार वर्षको रूपमा लिइएको आचार्यको भनाई छ । घोषणा सभाको प्रमुख अतिथि संघीय अर्थमन्त्री बिष्णु पौडेल रहेका छन् ।

पोखरा भ्रमण वर्ष २०२५ मा सम्पादन हुने मुख्य कार्यहरु
१. नेपालको पर्यटन राजधानी पोखरालाई प्राकृतिक सुन्दरता, सांस्कृतिक वैभवता र साहसिक गतिविधिको अविस्मरणीय गन्तव्यका रूपमा स्थापित गर्न संसार भरका विदेशी, गैह्र आवासिय नेपाली तथा स्वदेशी पाहुनाहरूलाई सपरिवार तथा इष्टमित्र सहित पोखरा भ्रमण गर्न आह्वान गर्ने ।
२. विभिन्न विकास साझेदार, विदेशी नियोग तथा राजदुतावासहरुसँग समन्वय गरी संसारका विभिन्न सहरहरूमा पोखरा बारे व्यापक प्रचारात्मक अभियान चलाउने र भ्रमणका लागि आह्वान गर्ने ।
३. विदेशमा रहेका नेपाली दूतावास, गैर आवासीय नेपाली संघ लगायत विभिन्नसँग संस्थाहरू तथा निकायहरूसँग समन्वय गरी पोखरा भ्रमण २०२५ लाई प्रवद्र्धन गरिदिन आह्वान गर्दै आवश्यक सहकार्य गर्ने ।
४. विश्वभर रहेका नेपाली मूलका मन्त्री, सांसद, मेयर तथा जनप्रतिनिधिहरू सहित पोखरासँग भगिनी सम्बन्ध स्थापित भएका सहरहरूलाई भ्रमण गर्न र गराउन औपचारिक निमन्त्रणा सहित पहलकदमी लिने ।
५. भ्रमण वर्षको अवधिभर स्वदेशका ५ वटा र विदेशका ५ वटा गरी १० सहरसँग भगिनी सम्बन्ध कायम गर्ने तथा पोखरा विश्वविद्यालय, पोखरामा रहेका विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसहरू, उद्योग वाणिज्य संघ सहित निजी क्षेत्रमा क्रियाशील संघ संस्थाहरूसँग स्वदेशी वा विदेशी सोही प्रकृतिका संघ संस्थाहरूसँग भगिनी सम्बन्ध कायम गर्न पहल गर्ने ।
६. पोखरामा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई पोखरामा बैठक, इभेन्ट तथा भ्रमणकाका लागि आव्हान गर्न अनुरोध गर्ने ।
७. राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता तथा समिट आयोजना गर्ने र २०२५ भित्र पर्यटन क्षेत्रलाई लक्षित गरी लगानी टुरिजम ईन्भेष्मेण्ट समिटको आयोजना गर्ने ।
८.पोखराको ब्राण्डिङ्ग र मार्केटिङका लागि अभियान सञ्चालन गर्ने तथा भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न प्रकाशन गर्ने ।
९. गैरआवासिय नेपाली संघ एनआरएनए को सहजिकरण र सहकार्यमा विश्वभर पोखरा भ्रमण वर्षको प्रवद्धनात्मक कार्यक्रहरु सञ्चालन गर्न अनुरोध गर्ने ।
१०. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर कनेक्टिभिटी लागि आवश्यक पहलकदमी चलाउने र छिमेकी एवं मुलुकका मुख्य सहरहरूमा सिधा उडानको व्यवस्था गर्न पहल गर्ने ।

 

११. स्वास्थ्य, शिक्षा, खेलकुद, वेल्नेश, चलचित्र, भाषा साहित्य तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धन र विकासमा विशेष साझेदारीमूलक कार्यक्रमहरू सञ्चालन गर्ने ।
१२. मुक्तिनाथ क्षेत्रको प्रवेशद्वार निर्माण, बोटानिकल गार्डेन, एयरपोर्ट लेकसाईड दस्तमार्ग, हेरिटेज साइड, पन्चासे क्षेत्र विकास, १० ताल जोडिने साइकल लेन, इन्ट्रान्स पार्क, फिर्के खोला, फेवा किनार विकास, अग्यानिक ट्रेल तथा रोयल ट्रेलको पुन उत्बान लगायतका पर्यटन क्षेत्रलाई टेवा पुग्ने विभिन्न पूर्वाधारको निमर्माण तथा सुरुवात गर्ने ।
१३. पी.पी.पी. परियोजनाका माध्यमबाट सम्भावित विभिन्न पर्यटन क्षेत्रलाई टेवा पुग्ने परियोजनाको विकासका लागि आह्वान गर्ने तथा परियोजना अगाडी बढाउन प्राथमिकता दिने ।
१४. पोखरा घरको निर्माणसँगै सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी, घण्टाघर, शौचालय र स्नान कक्षको निमर्माण सम्पन्न गर्ने ।
१५. पोखराको पर्यटन क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्दै अतिधि मैत्री बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
१६. विभिन्न मेला महोत्सव, प्रतियोगिता तथा समिटको महानगर स्वयंले प्रवद्र्धक गर्दै आयोजक रूपमा कार्यक्रम संचलान गर्ने ।
१७. दिगो र उत्तरदायी पर्यटन विकासका लागि नीतिगत सुधार तथा योजना तयार पारी लागु गर्ने गराउने ।
१८. नयाँ पर्यटकीय गन्तव्यहरूको खोजी, स्थापना तथा महानगरको कम्तीमा १ वडा १ पर्यटकीय गन्तव्य स्थापित गर्दै प्रचार प्रसार गर्ने ।
१५. पाहुनाहरूलाई स्वागत, बिदाइ र कोसेलीका रूपमा लिन दिन मिल्ने वस्तु तथा सामाग्रीको उत्पादन र विकासमा सहजीकरण गर्दै उद्योग वाणिज्य संघको सहकार्यमा कोसेली घर निमर्माण गर्ने ।
२०. निजी क्षेत्रको सहकार्यमा साहसिक पर्यटन प्रवद्र्धन, पारिवारिक तथा आरामदायी पर्यटन, धार्मिक तथा सांस्कृतिक पर्यटन, प्राकृतिक क्षेत्रको अध्ययन अनुसन्धान, स्थानीय खाना, भेष भूषा र जीवनशैलीको प्रवद्र्धन गर्ने ।
२१. निजी क्षेत्र, सरकारी, गैर सरकारी संस्था, नेपाल पर्यटन बोर्ड, कूटनीतिक नियोग, एनआरएनए लगायतका संस्थाहरूसँग साझेदारी गर्दै पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा लाग्न र लगाउन महानगरले विशेष पहलकदमी लिनेछ । यस अभियानबाट रोजगारीको अवसर वृद्धि, स्थानीय व्यवसायको प्रवद्र्धन, पोखराको ब्राण्डिङ्ग, अर्थतन्त्रको विकास, दिगो पर्यटन विकास, पर्यटकीय राजधानी स्थापित गर्न सहयोग पुग्नेछ ।
२२. सूचना प्रविधि तथा सञ्चारका वित्तीय आयामहरूको प्रयोग, सहकार्य र अवसरका सिर्जना गर्दै स्थानीय मिडिया हाउस, सञ्चार क्षेत्रमा क्रियाशील हुने जनशक्तिको क्षमता विकास र नयाँ ज्ञायाम थप्न पहलकदमी लिने ।
२३. वातावरण तथा खाद्य स्वच्छताका लागि विशेष कार्यक्रमका साथ प्रभावकारी अभियान सञ्चालन गरिनेछ । पर्यटन राजधानी पोखरा आउने आन्तरिक तथा वाह्य पर्यटकको स्वास्थ्यलाई मध्य नजर गर्दै सेवा उद्योगमा आधारित पर्यटन व्यवसायीहरूलाई खाद्य सुरक्षा, वातावरण तथा पर्यावरणका सबन्धमा प्रवद्र्धनात्मक कार्यक्रम र व्यावसायिक क्षमता विकास लगायत कार्यक्रमहरूमा जोड दिइनेछ ।
२४. पोखरा भ्रमण वर्षका अवसरमा सरकारी र नीजि क्षेत्रका तर्फबाट पोखरा भ्रमणमा आउने पर्यटकहरुका लागि उपलब्ध गराउन सकिने प्याकेजहरु भ्रमण वर्षको औपचारीक घोषणा सभामा प्रस्तुत गरिनेछ ।
२५.पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट मित्रराष्ट्र चिन सहित विदेशका विभिन्न शहरहरुसँग सिधा उडानका लागि प्रदेश तथा संघ सरकारसँग निरन्तर समन्वय गरिनेछ ।
२६.पोखरा महानगरपालिका भित्र सञ्चालनमा रहेको सार्वजनिक यातायातलाई थप व्यवस्थित, मर्यादित र सेवामैत्री बनाउन प्रविधिमा आधारित सेवाहरु आत्मसाथ तथा अवलम्वन गरिने छ । वातावरणमैत्री हरित यातायात प्रणालीको विकासका लागि विकास साझेदारहरुसँगको सहकार्यलाई प्रभावकारी बनाइने छ ।

पोखरा भ्रमण वर्ष २०२५ मा पर्यटन प्रवद्र्धनको काम भइरहेको छ – भट्टराई
गोपीबहादुर भट्टराई
संयोजक : कार्यसम्पादन समिति, पोखरा भ्रमण वर्ष २०२५

पोखरा महानगरले यतिबेला पोखरा भ्रमण वर्ष २०२५ मनाइरहेको छ । २०८१ फागुन ३ गते घोषणा गरिएको भ्रमण वर्षका क्रममा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । पोखराको पर्यटन प्रवद्र्धनलाई अझ गतिशील बनाउँदै ‘पर्यटनको राजधानी’ को रूपमा पोखराको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने काममा लागिरहेका छौं ।

४ चैत ०८० मा घोषणा गरिएको पर्यटकीय राजधानी पोखराको आधार वर्षका रुपमा पनि यो भ्रमण वर्षलाई लिएका छौं । वर्षभरि पर्यटन भ्रमण वर्षको समन्वय, सहजीकरण र कार्यसम्पादनको काम गर्नेगरी समिति गठन भएको हो । मुख्य काम पर्यटन प्रवद्र्धनकै हो । पोखरा भित्रने विभिन्न नाकाहरुमा स्वागत बोर्ड राखेका छौँ । आवश्यकतानुसार राख्ने छौं ।

शान्ति सुरक्षा र पर्यटनलगायत विषयमा अन्तरक्र्रिया गर्दै आएका छौँ । राष्ट्रिय, अन्तर्राष्ट्रिय कनेक्टिभिटीका लागि विभिन्न एअरलाइन्ससँग छलफल भइरहेको छ । छिट्टै विदेशी पत्रकारहरु बोलाएर पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनको काम गर्न लागेका छाँै । विदेशी पर्यटकलाई पर्वतको कुश्मा र भरतपुर पनि लगिनेछ । चीनमा प्रवद्र्धनात्मक कार्यक्रम भइसकेको छ । भारत र बंगलादेश पनि जाने कार्यक्रम छ । अन्य ६ प्रदेशमा पुगेर ती प्रदेशका मुख्यमन्त्री र पर्यटनमन्त्रीसँग (जी टु जी) अन्तरक्रिया गरिनेछ । पोखरा नाइट कार्यक्रम गर्ने योजना छ । पोखरा पर्यटनको राजधानी भएकाले पोखरा आसपासका क्षेत्रमा पनि पर्यटन प्रवद्र्धनका कामहरु गर्ने योजना छ । ग्रेटर पोखराको अवधारणा अनुसार अघि बढ्नेछौं । भरतपुर, बन्दीपुर र गोरखा पनि जाने छाँै । भ्रमण वर्षले पोखरा पर्यटनको राजधानी हो भन्ने प्रचार भएको छ । सरोकारवालाहरुसँग जोडिने काम भइरहेको छ । प्रदेश सरकार, स्थानीय तह र प्रशासनबाट सकरात्मक सहयोग मिलेको छ ।

अहिले वर्षायाम भएकाले केही सुस्ताएजस्तो देखिए पनि भदौसँगै प्रवद्र्धनात्मक कार्यक्रमहरुले तीब्रता पाउने छन् । बाँकी समयमा ११ वटै जिल्ला पुगेर पर्यटनसम्बन्धी कार्यक्रम गर्ने र कार्यक्रममा उठेका विषयबस्तुलाई मुख्यमन्त्रीसमक्ष ल्याएर बुझाउने तयारीमा पनि छाँै । यस अवधिमा पर्यटनसँग सम्बन्धित संघसंस्थाले विभिन्न प्याकेज र छुट पनि दिइरहेका छन् । सरकारी तर्फबाट पनि नीतिगत रुपमै प्याकेजको कार्यक्रम ल्याइदिए राम्रो हुन्थ्यो ।
पोखरा आफैमा राम्रो पर्यटकीय गन्तव्य हो । बाह्रैमास पर्यटक आउँछन् । पछिल्लो समय विभिन्न व्यापार व्यवसाय खस्कँदो छ । अव पर्यटन गतिविधिका माध्ययमबाट आर्थिक चलायमान गराउनु आवस्यक छ । पर्यटन नै विकल्प हो । पोखरा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुनेछ । तर, आगमनमात्र ठूलो होइन । बसाइ अवधि लम्ब्याउने र खर्च गर्ने विषय महत्वपूर्ण रहेकोतर्फ हाम्रो ध्यान छ ।

पोखरालाई ब्रान्डिङ गर्दै पर्यटनमार्फत् समृद्धि हासिल गर्ने लक्ष्य लिइ प्राकृतिक, सांस्कृतिक र साहसिक क्षेत्रको अनुपम संगम पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा पोखरा भ्रमण वर्ष घोषणा गरी नागरिकस्तरबाटै भ्रमण वर्ष कार्यसम्पादन समिति गठन भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->