शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कृषिबाट समृद्धि खोज्दै अन्नपूर्ण

कृषिबाट समृद्धि खोज्दै अन्नपूर्ण

अन्नपूर्ण गाउँपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेर प्रत्येक वडामा कृषक सञ्जाल गठन गरेको छ, बीउ बैंकको स्थापना अन्नपूर्णको उदाहरणीय काम हो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०८२, सोमबार

पोखरा/संघीय संरचना लागु भएपछि स्थानीय तहहरुलाई आफ्नो क्षेत्रको आवस्यकतानुसार नीति, योजना र कार्यक्रम बनाउन अधिकार दिइएको छ । स्थानीय तहहरुले पनि कृषि, पशुपालन, पर्यटन, उर्जा, पूर्वाधारलगायतको विकासको नारा अघि सार्दै आफ्नो लक्ष्य प्राप्तिमा अघि बढेका छन् ।

स्थानीय तहहरुले कृषि क्षेत्रलाई नै बढी प्राथमिकतामा राखेको पाइन्छ । कृषि उत्पादन वृद्धि, बजारको पहुँच, किसानको आयमा बृद्धि गर्न विभिन्न प्रयासहरु अघि सारेका छन् । यसले स्थानीय अर्थतन्त्र सवलीकरण, खाद्य सुरक्षाको सुनिश्चितता र किसानलाई व्यवसायिक खेतीमा आकर्षित गर्ने वातावरण निर्माणमा योगदान पु¥याईरहेका छन् । यसैक्रममा कास्कीका अन्नपूर्ण र रुपा गाउँपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मराउचेका गोविन्द पौडेलले सिजन अनुसार तरकारी खेती गर्छन् । उत्पादित तरकारी कहाँ लगेर बेच्ने भन्ने चिन्ता उनमा छैन । गाउँपालिकाले सञ्चालनमा ल्याएको कृषि उपज संकलन तथा विक्री केन्द्रमा उनको उत्पादन खरीद हुन्छ । ‘केन्द्रबाटै घरमै आएर तरकारी लगिदिन्छन्’, पौडेलले भने, ‘गाउँपालिकाले राम्रो काम गरिदियो, म खुशी छु ।’ केन्द्रबाट उनीजस्ता ७० देखि ८० किसान दैनीक लाभान्वित हुदै आएका छन् ।

कृषि, पर्यटन, उर्जा र पूर्वाधार अन्नपूर्णको समृद्धिको आधार नारालाई अघि सारेको अन्नपूर्णले कृषिमा प्रविधिको प्रयोग, कृषि उपज संकलन केन्द्रमार्फत विक्री वितरण, उन्नत विऊविजन, सिंचाई प्रणाली, कृषक प्रोत्साहन, पशु र दुग्धमा अनुदान दिदैँ आएको छ ।

कृषि उपज संकलन तथा विक्री केन्द्र सञ्चालन एक मुख्य उपलब्धीको रुपमा लिएको छ । साना किसानको उत्पादनलाई एकीकृत गरी सहज रुपमा बजारको पहुँच पु¥याउन र यसमा संलग्न किसान, व्यापारी, उपभोक्ता सवैका लागि स्वस्थ प्रतिस्पर्धात्मक बजार प्रणालीको विकास तथा व्यवस्थापन गर्न वडा २ को चुहीने पहरास्थित मध्यपहाडी राजमार्गसंगै अन्नपूर्ण कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।

अन्नपूर्ण गाउँपालिकाको कृषि शाखा प्रमुख जुनु जिमीले झन्डै ८ महिना अघि सञ्चालनमा ल्याइएको केन्द्रले किसान प्रत्यक्ष लाभान्वित भएको बताइन् । ‘किसानको उत्पादन खेर जान पाएको छैन्’, उनले भनिन्, ‘केन्द्र सञ्चालनमा लिबर्ड नामक संस्थाको पनि सहयोग छ ।’

यसका साथै कृषिसंग सम्बन्धित निकायको संलग्नता र सहभागितामा सूचना प्रवाह, जनचेतना, तथ्यांक संकलन, कृषि उपजको बजारीकरण तथा अनुगमनमा सहजीकरण गर्ने उद्देश्यले पालिकाले कृषि उद्यमी, कृषक समुह, कृषि सहकारी र प्रत्येक वडामा कृषक सञ्जाल गठन गरेको छ । बीउ बैंकको स्थापना अन्नपूर्णको उदाहरणीय काम हो ।

गाउँपालिकाले संभाव्यता र उपलब्ध स्रोत साधनलाई मध्यनजर गर्दै प्रत्येक वडामा पकेट कार्यक्रम सञ्चालन गर्दै आएको छ । वडाको विशेषता अनुसार कफी, कोदो, मौरी, सुन्तला लगायत पकेट सञ्चालन गरी क्षेत्र विस्तारका कामहरु गरिरहेको छ । गड्यौले मल बनाउने घर बनाउने कार्यक्रम सञ्चालन भइरहेको छ भने एक घर एक टनेल, कृषि बीमा, किसानलाई प्रतिलिटर दुधमा एक रुपैयाँ अनुदान तथा पंक्षी पालक किसानलाई कुखुरा चल्ला खरीदमा २५ प्रतिशत अनुदान दिदै आएको छ । यसले पालिका दुग्ध तथा मासुजन्य पदार्थमा आत्मनिर्भर भई निकासी समेत गर्न सफल भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->