शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दृढ इच्छाशक्ति र सक्रियताले अब्बल ‘आँबुखैरेनी’

दृढ इच्छाशक्ति र सक्रियताले अब्बल ‘आँबुखैरेनी’

भौतिक विकासमा मात्र नभएर पारदर्शीता र जवाफदेहीता, सामाजिक न्याय तथा समावेशीतामा पनि उस्तै छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०८२, सोमबार

पोखरा/परम्परागत सोच, ढिलो निर्णय प्रक्रिया र विकासप्रतिको अनिच्छाले गर्दा स्थानीय तहहरू अपेक्षित गति र परिणाममा अघि बढ्न सकेका छैनन् । तर नयाँ पुस्ताका युवाहरूको सक्रियताले त्यो धारणा क्रमशः बदलिंदै गएको छ ।

यस्तै परिवर्तनको उदाहरण बनेको छ– तनहुँको आँबुखैरेनी गाउँपालिका । जहाँ एक ऊर्जाशील युवाले नेतृत्व सम्हालेपछि पालिकाको रूप–रेखा नै फेरिएको छ । गाउँ परिवर्तनको सपना लिएर शुक्र चुमान गत स्थानीय तहको निर्वाचनमा अध्यक्षमा उठेर जिते । अध्यक्षमा निर्वाचित भएपछि उनले परम्परागत शैली भन्दा फरक सोच र दृष्टिकोणबाट नेतृत्व गर्न थाले ।

भूगोलको विकटता, सीमित स्रोतसाधन र ढिलो कार्यान्वयन प्रक्रियाले गर्दा धेरै गाउँहरू वर्षौंसम्म विकासको मूलधारबाट पछाडि परेका बेला आँबुखैरेनी भने ती सबै चुनौतीका वावाजुद पनि आफ्नो लक्ष्यमा अघि बढ्यो । जसले अहिले अरु पालिकाहरुको लागि प्रेरणा दिने काम गरेको छ । युवाले नेतृत्वको अवसर पाएमा विकासको यात्रा सम्भव हुन्छ भन्ने सन्देश पनि प्रवाह गरेको छ । साथै गाउँपालिकाको यो लोभलाग्दो परिवर्तनले देखायो कि स्रोतले मात्र होइन, नेतृत्व र इच्छाशक्तिले नै वास्तविक परिवर्तन सम्भव हुन्छ ।

३४ वर्षीय चुमानले गाउँपालिकाको नेतृत्व सम्हालेपछि सबैभन्दा पहिले गाउँको विकासका लागि स्पष्ट योजना तयार गरे । जनताको सुझाव संकलन, पारदर्शिता, र जवाफदेहितालाई प्राथमिकता दिँदै स्वास्थ्य, शिक्षा, कृषि, उद्यमशीलता, पर्यटन, सामाजिक विकास र पूर्वाधारमा सुधार ल्याउँदै लगे ।

यस अवधिमा पालिकास्तरीय अस्पताल चलाए । पालिकास्तरमै डायलाइसिस सेवा सुर गर्ने पहिलो पालिका पनि बन्यो । स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शैय्याको एमडीजीपी र अर्थोपेडीक सर्जन डाक्टरसहितको अस्पतालमा डायलाइसिससहित शल्यक्रिया, चौविसै घन्टा ल्याव र फार्मेसी सेवा संचालनमा छ । साथै स्वास्थ्य विमा सेवा, आँखा उपचार केन्द्र, विपन्न, गरीब, अपांग, वृद्धवृद्धालाई निशुल्क एम्बुलेन्स, क्यान्सर रोगीलाई पालिकाबाट ५० हजार सहयोग दिइरहेको छ गाउँपालिकाले । हालसम्म ४० हजार बढीले अस्पतालबाट उपचार सेवा लिइसकेका छन् । त्यसमा ६ हजारले निशुल्क सेवा पाएका छन् ।

यसैगरी शिक्षातर्फ जनप्रतिनिधि र शिक्षकका बालबच्चाहरुलाई सामुदायिक विद्यालयमा पढाउने व्यवस्था गरिएको छ । जनप्रतिनिधिको बैठक भत्ताबाट स्वयंसेवक शिक्षक व्यवस्थापन, पालिकाबाट विद्यार्थीलाई निशुल्क विद्यालय बस सेवा, ३५ लाख रुपैयाँ छात्रबृत्तिमा एक जनालाई डाक्टर पढाउँदै र पालिकाको आन्तरिक स्रोतबाट स्वयंसेवक शिक्षक व्यवस्थापनसहित पूर्ण शिक्षक दरबन्दीको व्यवस्थापन पालिकाले गरेको छ ।

यसैगरी सवै विद्यालयको भवन सुधार, स्मार्ट टिभी, ईन्टरनेटको पहुँच, वडा नम्बर ४, ५ र ६ का सामुदायिक विद्यालयका सबै विद्यार्थीको परिवारलाई स्वास्थ्य विमा लागु, बिपन्न विद्यार्थीलाई छात्रबृत्ति वितरण, छात्रा बचत खाता सञ्चालन गरी एकहजार रुपैयाँ पालिकाले बचत गरिदिने, शिक्षकलाई तालिम र भ्रमण, एसइई तयारीकालागि निःशुल्क होस्टल व्यवस्थापन, माध्यामिक तहसम्म निःशुल्क शिक्षा, २ जना चेपाङ विद्यार्थीलाई १२ कक्षासम्म निशुल्क खानबस्नसहित पढाएको र शैक्षिक गुणस्तर सुधारको लागि पहल गरेको छ । गाउँपालिका विकास बोर्डका सदस्य सचिव किशोर सुवेदीका अनुसार बहुप्राविधिक शिक्षालय सञ्चालनको तयारीमा गाउँपालिका छ ।

यस्तै कृषि हाटबजार सञ्चालन÷कृषि उपज निःशुल्क दुवानी, दुधमा प्रति लिटर ६ रुपैयाँ अनुदान, पशु बीमा कार्यक्रम, पशु स्वास्थ्य र कृषि बाली सिविर, रैथाने बाली (मास, मह, गुन्द्रुकमा प्रति केजी २५ रुपैयाँ अनुदान र १५ रोपनीमा चिया खेतीको सुरुवात् गाउँपालिकाले गरेको छ । यसैगरी ४० रोपनीमा सयपत्री फुल खेती, १५ प्रतिशत अनुदानमा महिला समुहले गरेको १५० के.जी. माला कतार निर्यात, आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ८० लाखको सुन्तलाको कारोबार गरेको पालिकाले जनाएको छ । कृषि औजार निर्माण र बाँसजन्य सामाग्री उत्पादनका लागि उद्योग ग्राम, निःशुल्क कृषि बाली संरक्षण कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ ।

आँबुखैरेनी २ र ४ वडामा पर्ने ऐना पहरामा नेपालको पहिलो पहरामा ३ वटा मूर्ति क्रमशः गणेश, परि र आमा बच्चाको निर्माण गरेको छ । मानव निर्मित यस संरचनाले पृथ्वीराजमार्गमा सवार यात्रुलाई आकर्षण गरेको र हालसम्म ६५ लाख रुपैयाँ आम्दानी भइसकेको छ । चालु आवबाट उक्त स्थानमा स्काई वाक र चिल्ड्रेन पार्क संचालनमा ल्याइएकाले आम्दानी बढेर एक करोड पुग्ने प्रक्षेपण पालिकाको छ । मस्र्याङदी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन, वडा नं. १ मा पर्ने आँधिमुल मन्दिरको पुर्वाधार विकास साथै करिव १५ रोपनीमा कृत्रिम ताल निर्माण सम्पन्न भएको छ । यसबाट विद्युत निकाल्ने र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य पालिकाको छ । वडा नम्बर १ को गिराउनचौर र वडा ६ को हिलेखर्कमा नमुना वस्ती निर्माण र होमस्टे सञ्चालनको तयारीमा पालिका छ । जिल्लाकै अग्लो महाभारतको उच्च पहाड छिम्केश्वरी मन्दिरको पूर्वाधार विकास, लालिगुँरास पार्क निर्माण, बुढीमाइ मन्दिर परिसरमा राष्ट्रियस्तरको ध्यानकेन्द्र स्थापना गर्ने योजना रहेको छ ।

पालिकाले टोलटोलमा सामाजिक सुरक्षा भत्ता वितरण साथै स्वास्थ्य परीक्षण शिविर गर्दै आएको छ भने, ज्येष्ठ नागरिक, सुत्केरी, अशक्तलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । निःशुल्क घर नक्सा, १३ जना भूमिहीन सुकुम्बासीलाई पुर्जा वितरण, शहीद, वेपत्ता परिवार तथा घाईते अपाङ्गलाई मासिक ७ हजारका दरले जीवन निर्वाह भत्ता वितरण गर्दै आएको छ । ज्येष्ठ नागरिकलाई वर्षमा एकपटक तीर्थयात्रा, विपन्न नागरिकहरुको जीर्ण र चुहिने घरको मर्मत र जस्तापाता वितरण पनि पालिकाले गर्दै आएको छ । ज्येष्ठ नागरिक, असाहाय अशक्त र विपन्न नागरिकहरुलाई न्यानो लुगा बितरण पनि गरिएको छ । पालिकाले ६ वटा वडाको सबै टोलमा खानेपानी र विद्युतको पहुँच पु¥यासकेको छ ।

विकास निर्माणको काममा एउटा गाउँपालिकाले देखाएको सक्रियता, पारदर्शिता र जवाफदेहीताले आँबुखैरेनी गाउँपालिकालाई केवल भौतिक विकासमै होइन, सामाजिक न्याय र समावेशीतातर्फ पनि अगाडि बढाइरहेको आभास प्रष्ट हुन्छ । गाउँपालिका अध्यक्ष शुक्र चुमान भन्छन, ‘दृढ इच्छाशक्ति, नियमित सक्रियता र निरन्तरताले नै नेतृत्व सफल हुने अनुभव गरेको छु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->