बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोदोमा मरुवा र लाहीको प्रकोप

कोदोमा मरुवा र लाहीको प्रकोप

निरीक्षणका क्रममा उक्त क्षेत्रमा लगाइएको कोदोमा मरुवा (ब्लास्ट) र जरामा लाग्ने लाही (रुट अपहिड)को प्रकोप देखिएको कृषि ज्ञान केन्द्र पर्वतकी सूचना अधिकारी तथा बाली संरक्षण अधिकारी सोविता सुवेदीले बताइन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८२, बिहिबार

पर्वत/जिल्लाको मोदी गाउँपालिका–७ राम्जाको रापु तथा आसपासका क्षेत्रमा लगाइएको कोदो खेतीमा मरुवा र लाही किराको प्रकोप देखिएको छ ।

पसाउन लागेको कोदोको पात तथा बोटहरू पहेँलो हुँदै सुक्ने रोगले धेरै क्षेत्रफलमा लगाइएको कोदो बालीमा क्षति हुन लागेको राम्जाठाँटीका कृषक खेमराज शर्माले बताए । धेरै क्षेत्रफलमा लगाइएको कोदोमा डढ्ने र किराले काट्ने समस्या देखिएपछि कृषकले क्षति बेहोर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

कृषकहरूबाट समस्याका बारेमा जानकारी आएपछि कृषि ज्ञान केन्द्र पर्वतको टोलीले गाउँपालिकाको कृषि शाखाको प्राविधिक तथा कर्मचारीसहित स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा उक्त क्षेत्रमा लगाइएको कोदोमा मरुवा (ब्लास्ट) र जरामा लाग्ने लाही (रुट अपहिड)को प्रकोप देखिएको कृषि ज्ञान केन्द्र पर्वतकी सूचना अधिकारी तथा बाली संरक्षण अधिकारी सोविता सुवेदीले बताइन् ।

राम्जामा मात्रै नभएर जिल्लाका अन्य स्थानहरूमा पनि विगतका वर्षहरूदेखि नै यस्ता प्रकोपले कोदोको उत्पादनमा ह्रास ल्याउने गरेको उनले बताइन् । कोदोमा यस्तो सङ्क्रमण हुन नदिनकोदो रोप्नु पूर्व नै सावधानी अपनाउनुपर्ने भन्दै सुवेदीले अब पसाउने बेलाको कोदोमा गरिने उपचार प्रभावकारी नहुने जानकारी दिइन् ।

सुवेदीका अनुसार राम्जामा करिब ८÷१० रोपनीमा लगाएको कोदो पहेँलो भइसक्न लागेको छ । उनले भनिन्, ‘त्यहाँको अवस्थाका बारेमा बुझ्न स्थलगत निरीक्षण गरेका छौँ। कोदो पसाउने बोला भइसकेकोले अब विषादीको प्रयोग गरेर प्रकोप नियन्त्रण हुँदैन ।’

बारीमा राम्रोसँग खनजोत, राम्रोसँग गोडमेल नभएको तथा आवश्यक मात्रामा मलको सन्तुलित आपूर्ति नहुँदा यस्ता समस्या देखिने प्राविधिक सुवेदी बताउँछिन् । बारीमा राम्रोसँग खनजोत हुन नपाउँदा माटोमुनि किरा राम्रोसँग विकसित हुने मौका पाउने भएकोले कृषकहरूले खनजोतमा कम ध्यान दिँदा क्षति भोग्नुपर्ने उनको भनाइ छ । अर्को वर्षदेखि राम्रोसँग खनजोत गरेर लगाउने, स्थानीय जातको बीउ भन्दा नेपालकै परीक्षण भएको अलि स्तरीय खालको बीउ लगाउने र त्यसका लागि स्थानीय सरकारले पनि सहयोग गर्न सक्ने भएकोले आवश्यक समन्वयको लागि सल्लाह भएको सुवेदीले जानकारी दिइन् ।

सकेसम्म क्षति कम गर्नका लागि कृषि ज्ञान केन्द्र र गाउँपालिकाको कृषि शाखाबाट केही औषधिहरू वितरण गरिएको छ । लाही किराको प्रकोप झ्याप्पै नदेखिने तथा किराहरू माटो मुनी हुने भएकोले किरोको प्रकोपको सुरु अवस्थामा कृषकहरू अनविज्ञ हुन्छन् । त्यो अवस्थामा किराले जरामा बसेर बिरुवाको रस चुस्दा बोट ओइलाउने, पहेँलो हुने र मर्ने गरेको छ। यसले गर्दा कोदोको उत्पादनमा पनि ह्रास हुने गरेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारी बताउँछन् । कोदोमा समस्या धेरै नै देखिने गरेको भएर कृषकहरूको फोन आउने बित्तिकै जाने र आवश्यक उपचार तथा परामर्श गर्ने गरिएको उनको भनाइ छ ।

धेरै सुख्खा भएको वा चिसो चिसो भएको अवस्थामा यसको प्रकोप हुने गरेको भन्दै अधिकारीले कोदो लगाउने गरेको मुख्य ठाउँमा यो प्रकोप देखिने गरेको बताए । अघिल्लो वर्ष कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा देखिएको यो प्रकोप अहिले मोदी गाउँपालिका सहित अन्य स्थानमा पनि देखिएको छ ।

कोदोलाई मकैबारी भित्र घुसाएर छाडिदिन नहुने प्राविधिकका सुझाव छन् । मल राम्रोसँग नदिनु तथा दिइएको मल पनि मकैले ग्रहण गर्दा कोदोलाई आवश्यक पदार्थको आपूर्ति नहुने बाली संरक्षण अधिकृत सुवेदीले बताइन् ।

‘अर्को वर्षबाट छिटो पाक्ने जातको मकै लगाउने र कोदो रोप्नुभन्दा केही दिन पहिले बारी जोतेर राम्रोसँग फर्काउने भनेका छौँ । विषादी पनि त्यो बेलामा नै प्रयोग गर्न भनेका छौँ । मरुवा, गँवारो लगायतका रोगका प्रकोपहरू धेरै नै देखिएको भएर बीउ नै परिवर्तन गर्न सल्लाह दिएका छौँ’, उनले भनिन्, ‘सन्तुलित मल खाद हुन नपाएर पनि यस्तो भएको हुन सक्छ । मकै लगाउनु अगाडि जति मल दिइयो त्यत्ति नै हो । कोदालाई हेपिएको बालीको रूपमा गोडमेल पनि नगर्ने पनि पाइएको छ । हामीले धानलाई मकैलाई जति स्याहार गरेका हुन्छौँ कोदोलाई पनि त्यत्ति नै स्याहार गरेको हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->