पोखरा/कोअपरेटिभ म्यानेजर्स क्लब कास्की र कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेपलाञ्चोकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काभ्रेपलाञ्चोक क्लबको पाँचौँ स्थापना दिवसको अवसरमा कास्कीको धम्पुसमा कार्यक्रम भएको हो ।
कार्यक्रममा काभ्रेपलाञ्चोक क्लबका अध्यक्ष गोपाल दाहालले विद्यमान अवस्थाबाट सहकारी अभियानलाई बचाउन सहकारी संस्थाका व्यवस्थापन प्रमुखको अहम् भूमिका रहेको बताउँदै विभिन्न जिल्लाका सहकारीका असल अभ्यास र सिकाईलाई आदानप्रदान गरी सहकारीको व्यवस्थापन पक्षको क्षमता बृद्धि नै कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेको उद्देश्य रहेको बताए ।
आर्थिक अपचलन गर्ने गिरोहले सहकारी क्षेत्रलाई धमिल्याउन कोशिश गरेपनि समुदायसँग, समुदायकै सेवामा समुदायकै निम्न वर्गसँग जोडीएर नियामक निकायका ऐन, कानुन र निर्देशन अनुसार सञ्चालन भएका सहकारीलाई कसैले बद्नाम बनाउन नसक्ने जिकीर गर्दै अध्यक्ष दाहालले लोभ र लालचन भएका सञ्चालक र व्यवस्थापनले सहकारीको मर्म सदस्यलाई बुझाएर अगाडि बढे सहकारी अभियान थप सशक्त भएर जाने बताए ।
कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका संस्थापक अध्यक्ष मिलन ढकालले विद्यमान अवस्थाले सहकारीप्रतिको विश्वासमा संकट आएको बताउँदै विभिन्न गिरोह, संगठन र राज्यका निकायले पनि सहकारीका समस्यालाई तत्काल समाधानभन्दा पनि समस्यालाई ठूलो बनाएर आतंकित पार्ने प्रयास गरेको हो कि भन्ने शंका उब्जाएको र सदस्यको सहकारीप्रतिको धारणा अस्थिर बनाउन चलखेल गरेको आरोप लगाए ।
म्यानेजर्स क्लब कास्कीका अध्यक्ष मोहनप्रसाद अधिकारीले विश्वमा आएको आर्थिक मन्दीको प्रभावले सबै क्षेत्रमा नकरात्मक असर पारेको अवस्थामा सहकारीका प्रमुखहरुको आत्मबल बढाएर सहकारी अभियानलाई अगाडि बढाउन अहम् भूमिका खेल्दै कास्कीका मेनेजर्सहरुको क्षमता बृद्धिमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा काभ्रेपलाञ्चोक मेनेजर्स क्लबका निवर्तमान अध्यक्ष मदन बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए भने दुवै संस्थाका कार्यसमिति र पूर्व अध्यक्षहरुको सहभागीता रहेको कार्यक्रमको कोअपरेटिभ मेनेजर्स क्लब कास्कीका अध्यक्ष मोहन प्रसाद अधिकारीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिवशंकर प्रसाद पौडेलले गरेका थिए ।





