पोखरा/सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही खोज्दै पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरी वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारी गण्डकी प्रदेशको राजधानी पोखरा झरेका छन् । सेवाग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउने उद्देश्यसाथ जनप्रतिनिधि र कर्मचारीको टोली पोखरा आएको हो ।
टोलीले बुधवार पोखरा आएर पोखरामा अस्थायी बसोबास गर्दै आएका सेवाग्राहीको सुविधाको लागि शिविर चलाएको हो । विहीबारसम्म चल्ने शिविर नागढुंगास्थित स्टार रवि होटलमा सञ्चालन भएको छ । सबै सेवा वडाबाट लिने तर, शिक्षा, रोजगार, व्यापार व्यवसायका कारण पोखरामा बसोबास गर्नेहरुका लागि सेवा प्रदान गरिएको कुश्मा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष तेजप्रसाद शर्माले बताए ।
‘वडा कार्यालयले यहाँको लाभग्राहीको रुपमा रहेको र पोखरामा अस्थाई रुपमा बसोबास गर्ने सेवाग्राहीलाई सहज होस् भनेर नविकरणको शिविर सञ्चालन गरेका हौ,ं’ उनले भने, ‘हुन त कुश्माकै अन्य वडामा गएपनि हुने हो तर, यहाँबाट जान पनि समय लाग्ने भएकाले उहाँहरुको सहजका लागि हामी यही आएका हौ ।’ उनका अनुसार बुधवार पहिलो दिन ३० जनाले सामाजिक सुरक्षा भत्ताको नविकरण गरेका छन् । केही सेवाग्राहीको राष्ट्रिय परिचयपत्र नभएका कारण नविकरण हुन नसकेको बताएको उनले जनाए ।
हरेक वर्ष भत्ताका लागि ‘बायोमेट्रिक’ सहित लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । ‘वडामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झन्झट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेर नवीकरण गर्ने व्यवस्था मिलाएका हौँ’ उनले भने ।
पोखरामा ५० देखी ६० जनाको संख्यामा भत्ता लिने लाभग्राही रहेको उनले सुनाए । ‘हामीसंग अब राष्ट्रिय परिचयपत्र नभएकाहरु सम्पर्कमा हुनुहुन्छ । छुटपुट भएमा र हामीसंग सम्पर्कमा आए हामी सेवा दिनेछौं,’ उनले भने । भदौ मसान्तभित्र सामाजिक सुरक्षा भत्ताको नविकरण गरिसक्नुपर्ने भएका कारणले वडा सहर झरेको हो ।
वडाबाट वडाध्यक्ष शर्मा, वडा सदस्य चित्रकला नेपाल , वडासचिव दीपक सुवेदी र सामाजिक परिचालक मुना कुँवरको टोली पोखरा आएको हो । वडामै बालबालिकासहित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने करिब साढे चार सयको हारहारिमा रहेको उनको भनाइ छ । पोखरामा रहेका कतिपय सेवाग्राही वडामै पुगेर नविकरण गरेका थिए । सेवासुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरे पनि धेरैले औपचारिक रुपमा बसाइँसराइ गरेका छैनन् ।





