बागलुङ/गत वर्ष असोजमा उद्घाटन गरेपनि संचालनमा आउन नसकेको बागलुङ बसपार्क संचालनका लागि बागलुङ नगरपालिकाले नयाँ ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ । बिहिबार एक कार्यक्रमबीच नगरपालिका र आरबी कन्स्ट्रक्सन प्रालि पोखराबीच आगामी २५ वर्षसम्म बसपार्क संचालन गर्ने सम्झौता भएको हो ।
बागलुङ नगरपालिका वडा नं. ४ को उपल्लाचौरस्थित दाबगरामा निर्माण भएको बसपार्क २५ वर्षका लागि आरबी कन्स्ट्रक्सन प्रालि पोखराले चलाउन सहमत भएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा र कन्स्ट्रक्सनका प्रतिनिधि केदारप्रसाद रिजालले सम्झौतामा हस्ताक्षर गरेका छन् । भदौ दोश्रो साताबाटै यो बसपार्कबाटै बस छुटाउने तयारी छ ।
ठेकेदार पक्षले हरेक वर्ष नगरपालिकाको खातामा १६ लाख २५ हजार, मुअक २ लाख ११ हजार र अग्रिम आयकर २७ हजार ५ सय ४३ रुपैयाँ समेत तिर्ने गरी सम्झौता भएको हो । २५ वर्षमा उक्त कन्स्ट्रक्सनले बसपार्क संचालन गरेबापत बागलुङ नगरपालिकालाई ८ करोड ५५ लाख ६१ हजार रुपैयाँ भुक्तानी गर्नेछ । लामो समयदेखिको अन्यौल हटाएर बसपार्क संचालनमा यो सम्झौताले बाटो खुलेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
हाल निर्मित बसपार्कको टर्मिनल भवनसहित १७ रोपनी जग्गामा बसपार्क फैलिएको छ । जहाँ ३ वटा टिकट काउन्टर, १७ वटा सटर र ३ वटा कर्मचारी कक्ष समेत छ । बसपार्कमा महिला ६ वटा र पुरुष १२ गरी १८ वटा शौचालय समेत छन् । मोटर ग्यारेज, ईभी चार्ज स्टेशन र खानेपानीको ट्यांकी नगरपालिकाले निर्माण गरेर संचालनमा ल्याइसकेको श्रेष्ठले बताए ।
अघिल्लो वर्ष बसपार्क उद्घाटनपछि धौलागिरि गण्डकी यातायात कम्पनीले ११ लाख रुपैयाँमा एकवर्षे सम्झौता गरेर पनि बसपार्क संचालन गरेका थिएनन् । यसअघि बानपा ३ मा रहेको चिप्लेटी बसपार्क संचालनमा थियो । अब भने बागलुङ बसपार्क भनेको उपल्लाचौरस्थित दाबगरा बसपार्क मात्रै चिनिने भएको छ । नगरपालिकाले गत पुसमा तयार गरेको राजपत्रमा उक्त कुरा उल्लेख छ ।
हालको चिप्लेटी बसपार्क क्षेत्रलाई नगरपालिकाले स्थानीयको माग अनुसारको अन्य व्यवसायिक क्षेत्र बनाउने तयारी गरेको छ । बागलुङ नगरपालिकाले नगर विकास कोषको ९ करोड ऋण सहयोगमा बसपार्क बनाएको हो । २०५८ मा यहाँका बासिन्दाले सााढे १७ रोपनी जमिन निशुल्क दिएपछि बसपार्क निर्माणको काम शुरु भएको थियो । ठेक्कापट्टाको कामले ढीला हुँदा २०७७ जेठमा बसपार्क निर्माण सकिएको थियो । ५ वर्षदेखि बसपार्क बनेर पनि यो संरचना उपयोगबिहिन थियो ।
बागलुङ नगरपालिकाले राजपत्र प्रकाशित गरेर बसपार्क संचालन तथा व्यवस्थापन ऐन २०८१ समेत जारी गरेको छ । बसपार्कलाई केन्द्रबिन्दु मानेर सवारी रुट संचालन गर्ने, सुरक्षा व्यवस्थाका लागि नगर प्रहरी खटाउने, जिल्ला प्रहरी, जिल्ला प्रशासन र ट्राफिक प्रहरीमा समन्वय गर्ने काम भने नगरपालिकाले लिने सम्झौतामा उल्लेख छ । बसपार्क जाने सडक ठूला बसका लागि साँघुरो भएकोले नगरपालिकाले बेनी जाने सडकबाट बसपार्क जोड्ने सडक निर्माण बनाइसकेको छ । मध्यपहाडी लोकमार्गबाट पनि यो बसपार्क पायकमा पर्छ । बागलुङबाट दैनिक पोखरा, काठमाण्डौ, भैरहवा, बीरगंज, कांकडभिट्टा, नेपालगञ्ज लगायतका सहरमा रात्री तथा दिवा बस संचालनमा छन् । लोकमार्गबाट भने रुकुम र जाजरकोटबाट राजाधानीका लािग छुट्ने बस पनि यही बाटो आउँछन् ।
बसपार्क निर्माणका लागि स्थानीय ६० परिवारले ५९ रोपनी जग्गा दिएका थिए । १७ रोपनीमा बसपार्क बनिसकेपछि बाँकी जग्गा घडेरी बनाएर उपभोक्तालाई हस्तान्तरण गर्ने शर्त छ । उक्त जग्गामा १ सय २ वटा घडेरी स्थानीयलाई फिर्ता गर्नुपर्नेछ ।





