बागलुङ/पशुजन्य उत्पादनमा लगानी बढाएपछि बागलुङ दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । अझै ती उत्पादन पर्याप्त भएको छैन । निर्यातका लागि पनि संभावित क्षेत्र भएकोले किसानलाई उत्पादन बढाउन पशु प्राविधिकले आग्रह गरिरहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका कृषि प्राविधिक अधिकृत केशव शर्माले बताए ।
ती उत्पादनहरु जिल्ला बाहिर बिक्री समेत भएको छ । प्रतिव्यक्ति वार्षिक ९१ लीटरका दरले २ करोड २७ लाख लीटर दूध चाहिनेमा २ करोड ३२ लाख लीटर उत्पादन भैसकेको छ । कार्यालयको गत आर्थिक वर्षको प्रगती समीक्षा र आगामी वर्षको नीति कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।
मासुतर्फ ३६ लाख केजी आवस्यक पर्नेमा गतवर्ष ३७ लाख ४७ हजार केजी उत्पादन भैरहेको छ । अण्डातर्फ पनि वार्षिक १ करोड १७ लाख गोटा उत्पादन भैरहेको हो । उक्त अण्डा पनि जनसंख्याको अनुपातमा पर्याप्त भएको सापकोटाले बताए ।
सुख्खा समयमा भने दूधको उत्पादन कम हुँदा पोखराबाट आउने गरेको छ । त्यसो त वर्षातमा पनि केही दूध पोखराबाट आउने गर्छ भने केही दूध बागलुङबाट पर्वत, गुल्मीमा पनि बिक्री हुने गरेको छ । पर्वतको लस्ती लगायतको स्थानका किसानले बागलुङमा पनि दूध बेच्छन् । चाडपर्वहरुमा भने दूधमा अझै पर्याप्त भैनसकेको हो ।
पर्याप्त दूध उत्पादन गर्न सकेमा छुर्पी, चिज र घिउ तथा पनिर लगायतका उत्पादन गरेर बजारको आवस्यकता पुरा गर्न सकिने केन्द्रको योजना छ । त्यसका लागि पशुपालनमा लगानी बढाउने लक्ष्य पनि उनले सुनाए ।
आत्मनिर्भर भएर मात्र नपुग्ने भन्दै केन्द्रले सरकारी योजना अनुसार मासु निर्यातका लागि रोग फ्रि पशु उत्पादनमा पनि जोड दिएको छ । नेपाल सरकारले चीनमा मासु निर्यात गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार रोग फ्रि भएको जिल्लाको पशु वध गरेर मात्र मासु निर्यात गरिने व्यवस्था छ । पछिल्लो चारपाँच वर्षदेखि बागलुङमा कुनैपनि रोग नदेखिएकोले निर्यातयोग्य पशु रहेको सापकोटाले बताए ।
पशुलाई स्वस्थ्य राख्नकालागि सरकारले पशुमा पूर्ण खोप अभियान चलाएको छ । बागलुङमा पिपिआर १ लाख ११ हजारसहित पशुमा ५ प्रकारका १० लाखबढी खोप लगाइएको छ । आवस्यकताको आधारमा पशुमा ती खोप लगाइएको हो । बुकी पाटनका भेडामा खोपको मात्रा नपुगेकोले आगामी बर्ष अभियान चलाइने गरी केन्द्रले कार्यक्रम बनाएको छ ।
केन्द्रको तथ्यांक अनुसार जिल्लामा गाई ३० हजार ६ सय ३१ छन् । ती अधिकांस जर्सी प्रकारका छन् भने केही स्थानीय समेत छन् । ७० हजार ४ सय ४९ भैसी छन् । ती भैसीका पाडापाडीलाई स्याहार गरेर पाल्दा केही दूध उत्पादनका लागि उपयोगी बन्छन् भने केही मासु निर्यातका लागि उपयोग गर्न सकिने छ ।
बागलुङमा १ लाख ४९ हजार बाख्रा र १० हजार ९ सय भेडा छन् । बंगुर हाल थोरै छन् । ८ हजार १ सय ८५ बंगुरको तथ्याक रहेकोमा चालुवर्ष बढ्ने संकेत छ । माछापालनको क्रम बढेको छ । बागलुङमा १६ लाख माछापालन भएको तथ्यांक छ ।
पशु स्वास्थ्यका लागि पशु स्वास्थ्य शिविर, जुनोटिक रोक नियन्त्रण, गाईभैसीमा थुनेला परीक्षण तथा उपचार, पशु प्रजनन् तथा नश्ल सुधारका कार्यक्रम र कृतिम गर्भाधानको कार्यक्रम बनाइएको छ । कृतिम गर्भाधान गरेका पशुले दूध बढाउने भएकोले केन्द्रले किसानलाई ती कार्यमा प्रोत्साहन गराएको छ । गत वर्ष ३ सय ७९ गाई र २ सय ६२ भैसीमा कार्यालयबाट खटिएका प्राविधिकले कृतिम गर्भाधान गराएका थिए ।





