फाइल तस्बिर
बागलुङ/पछिल्लो २४ वर्षदेखि संचालनमा आइरहेको चिप्लेटी बसपार्कलाई सोमबारदेखि खाली गरिएको छ । उपल्लाचौरस्थित दाबगरामा बनेको बसपार्कलाई सोमबारदेखि औपचारिक रुपमा स्थानान्तरण गरिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । बसपार्क बनेको ५ वर्षपछि गत साता २५ वर्षका लागि ठेक्कामा लगाएको नगरपालिकाले सोमबारबाट औपचारिक रुपमा बस छुटाएर आवस्यक रुट पनि कायम गराएको छ ।
नगरपालिकाले निकालेको सूचना अनुसार दाबगरा बसपार्कदेखि श्रीनगरटोल, जिपपार्क, बाघको शालिक हुँदै समीक्षालय चोक, ट्राफिक चोक भएर बस छुट्न पाउने छन् । ठूला सवारी साधनका लागि यो रुट एकतर्फी बनाइएको नगरपालिकाले जनाएको छ । चिप्लेटीमा तत्कालका लागि सार्वजनिक मञ्च र जिपपार्क संचालन गरिने समेत श्रेष्ठले जानकारी दिए ।
विभिन्न स्थानबाट आएका गाडीहरु बसपार्क जाने बेलामा भने मध्यपहाडी लोकमार्गको बाटो हुँदै जानेछन् भने छुट्ने बेलामा बागलुङ बजारबाट आउन पाउने भएका हुन् । खाली गरिएको स्थानलाई माइक्रोबस र विद्युतीय गाडीको पार्क बनाउन स्थानीयको माग छ । वडा नं. ३ का अध्यक्ष शनि केसी लक्ष्मणले बसपार्कलाई खाली गर्ने कामभन्दा बहुउपयोग गर्ने काम गर्न पहल गरेको बताए । त्यसका लागि भने नगरपालिकाले आवस्यक बजेट विनियोजन गर्न सक्नुपर्ने केसीको भनाइ छ ।
बागलुङ नगरपालिका वडा नं. ४ को उपल्लाचौरस्थित दाबगरामा निर्माण भएको बसपार्क २५ वर्षका लागि ‘आरबी कन्स्ट्रक्सन प्रालि पोखरा’सँग बागलुङ नगरपालिकाले गत साता सम्झौता गरेको हो । हरेक वर्ष नगरपालिकाको खातामा १६ लाख २५ हजार, मुअक २ लाख ११ हजार तिर्ने गरी सम्झौता भएको हो । २५ वर्षमा उक्त कन्स्ट्रक्सनले बसपार्क संचालन गरेबापत बागलुङ नगरपालिकालाई ८ करोड ५५ लाख ६१ हजार रुपैयाँ भुक्तानी गर्नेछ ।
टर्मिनल भवनसहित १७ रोपनी जग्गामा निर्मित बसपार्कमा ३ वटा टिकट काउन्टर, १७ वटा सटर र ३ वटा कर्मचारी कक्ष समेत छ । बसपार्कमा महिला ६ वटा र पुरुष १२ गरी १८ वटा शौचालय समेत छन् । मोटर ग्यारेज, ईभी चार्ज स्टेशन र खानेपानीको ट्यांकी समेत नगरपालिकाले निर्माण गरेको छ । अघिल्लो बर्ष बसपार्क उद्घाटनपछि धौलागिरि गण्डकी यातायात कंपनीले ११ लाख रुपैयाँमा एकवर्षे सम्झौता गरेर पनि बसपार्क संचालन गरेका थिएनन् ।





