पोखरा/ पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको सोमबारदेखि बचत रकम फिर्ता सुरु गरिएको छ । यसअघि उक्त सहकारीको बागलुङ, गलकोट र बुर्तिबाङ शाखाका साना बचतकर्ता (एक लाख रुपैयाँ सम्म) को रकम फिर्ता भइसकेको छ ।
पोखराको सिर्जनाचोकस्थित इमेज सहकारीमा एक लाख रुपैयाँसम्म बचत गरेका १ सय ५८ जनाको बचत रकम फिर्ता सुरु गरिएको इमेज सहकारी संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताए । ‘एकसय ५८ जनाको झन्डै एक करोड रुपैयाँ फिर्ता गर्न गइरहेका छौ’, कार्कीले भने । उनका अनुसार बागलुङका तीन शाखाबाट ६ सय १३ जनालाई करिब ५ करोड रुपैयाँ फिर्ता गरिसकिएको छ । इमेज सहकारीले चारवटै शाखाबाट १ अर्ब ९५ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने देखिएको कार्कीले बताए ।
पर्वतस्थित मीना ग्रुप प्रालिलाई सहकारीका सञ्चालक देवकुमार नेपाली र उनकी श्रीमती छेला नेपालीको नाममा पोखरा, चितवन र काठमाडौंमा रहेका घरघडेरी चलनचल्तीको मुल्यमा दिने र मीना ग्रुपले पहिलो चरणमा साना बचतकर्ताको बचत रकम फिर्ता गर्ने सम्झौता बमोजीम रकम फिर्ता गरिएको हो । मीना ग्रुप, नेपाली र संघर्ष समितिका पदाधिकारीबीच यस्तो सम्झौता भएको थियो । एकलाख रुपैयाँ भन्दा माथिका बचतकर्ताको हकमा मिलापत्रलाई अघि बढाइएको कार्कींले बताए । घरजग्गा नपाउन्जेल सम्मका लागि देवकुमारका दाजु ओमकुमार दर्जीसंग तमसुक गर्दै मिलापत्र गरिएको उनको भनाई छ । यसै क्रममा बागलुङका ३ शाखाका १५७४ जनामध्ये १५ सय ६ जनासंग मिलापत्र भइसकेको उनले जनाए । उनका अनुसार बागलुङमा १ अर्ब ३८ करोड रकम फिर्ता गर्नुपर्नेमा १ अर्ब २० करोड बराबरको मिलापत्र भइसकेको छ ।
पोखराको हकमा ५२४ जनाको ५७ करोड रुपैयाँ दावी गरिएकोमा ३ सय ८७ जनासंग मिलापत्र भएको संयोजक कार्कीले बताए । कार्कीले आफ्नो पनि ६५ लाख रुपैयाँ सहकारीमा फँसेको बताए । ‘कम्प्युटरलगायत कागजातहरु प्रहरीकोमा भएकाले सहकारीले गरेको ऋण लगानीका विषयमा थाहा पाउन सकिएन’, कार्कीले भने, ‘देवकुमार नेपालीको २५ करोड रुपैयाँ बैंकमा ऋण छ, त्योसहित २ अर्ब २० करोड फिर्ता गर्नुपर्ने देखिन्छ । तर उनको र श्रीमतीको नाममा रहेको सम्पत्ती डेढ अर्ब रुपैयाँ जति हुन्छ ।’

आफुले खाइनखाई बचतका लागि सहकारीमा राखेको रकम डुबेर चिन्तामा रहेका साना बचतकर्ता रकम पाएपछि खुशी देखिन्थे । ‘मैले रकम पाउने कुराको आशै मारेको थिए, तर आज पाए निकै खुशी छु’ सिर्जना चोकमा फ्रेम पसल सञ्चालन गर्दै आएकी सुशीलाकुमारी साहले भनिन्, ‘यसैगरी ठूला बचतकर्ताको पनि रकम फिर्ता भए राम्रो हुन्थ्यो ।’ अर्की बचतकर्ता कला भट्टराइले पनि आश मारेको रकम पाउँदा खुशी लागेको बताइन् । मीना ग्रुपले बचतकर्तालाई कुमारी बैंकको चेक दिएको ईमेज सहकारी पोखरा संघर्ष समितिका संयोजक बेलबहादुर साहानीले बताए ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा छन् । उनी बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख समेत हुन् ।





