पोखरा/पोखरा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि बुधवारदेखि अन्तरप्रदेश प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको छ ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल नेतृत्वको १८ सदस्यीय टोलीले लुम्बिनी प्रदेशको नेपालगञ्ज, भैरहवा लगायत क्षेत्रमा पर्यटन सम्बद्ध अधिकारी एवम् व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया सहित प्रवद्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
टोलीले बिहीबार नेपालगञ्ज र शुक्रबार भैरहवामा त्यहाँका पर्यटन सम्वद्ध अधिकारी र व्यवसायीसँग पर्यटकीय साझेदारी अभिबृद्धि लगायतका विषयमा छलफल गर्ने कार्यक्रम संयोजक नाट्टा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष राजेश पहारीले जानकारी दिए । टोलीलाई पोखराबाट पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले बिदाई गरेका थिए ।
अन्तरप्रदेश प्रवद्र्धनात्मक भ्रमणले पर्यटन प्रवद्र्धनसँगै पर्यटकीय साझोदारी लगायतका महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिइएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले बताए । टोली शनिवार पोखरा फर्कनेछ ।





