
पर्वत/जिल्लाको विहादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसाललाई उत्कृष्ट जनस्वास्थ्यकर्मी अवार्ड प्रदान गरिएको छ । स्वास्थ्यखबर हेल्थ अवार्डअन्तर्गत जनस्वास्थ्यकर्मी विधामा भुसाललाई उत्कृष्ट अवार्ड प्रदान गरिएको हो ।
भुसालले विहादी गाउँपालिकामा स्वास्थ्य संस्थाको डिजिटलीकरण, नमुना पोषण कार्यक्रम, एक घर–एक धारा अभियान, विद्यालय स्तरको बाल पोषण कार्यक्रम लगायतका प्रभावकारी कार्यक्रम सञ्चालन गरेका छन् । सबै स्वास्थ्य चौकीमा दक्ष स्वास्थ्यकर्मी र आवश्यक उपकरण सुनिश्चित गर्दै २४ घण्टा सुरक्षित प्रसूति सेवा उपलब्ध गराएका छन् ।
गाउँकै स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र, गर्भवती र सुत्केरी आमा लक्षित पोषण सामग्री वितरण, जेष्ठ नागरिक स्वास्थ्य परीक्षण, विषादी रहित कृषि प्रवद्र्धन जस्ता कार्यक्रमले समुदायमा प्रत्यक्ष परिवर्तन ल्याएको छ । अहिले गाउँघरमा घरमै प्रसूति शून्यमा झरेको छ भने सुरक्षित प्रसूति गर्नेहरूको संख्या उल्लेख्य बढेको छ ।
२०३२ साल असार २६ गते पर्वत, विहादी गाउँपालिका–४, वहाकीठाँटीमा जन्मिएका भुसाल शिक्षा, नेतृत्व र सामाजिक सेवामा बाल्यकालदेखि सक्रिय भएको देखिन्छ । २०५३ सालमा लोकसेवा आयोगमार्फत अहेव पदमा नियुक्त भएका भुसालले स्वास्थ्य कार्यालय बागलुङबाट स्वास्थ्य सेवामा प्रवेश गरेका थिए । संघीयता कार्यान्वयनपछि २०७४ सालदेखि विहादी गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख बनेका हुन् ।





