आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पुस दोस्रो साता आठौं बागलुङ महोत्सव हुने

पुस दोस्रो साता आठौं बागलुङ महोत्सव हुने


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८२, बिहिबार

बागलुङ/गण्डकी प्रदेश स्तरीय व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको लक्ष्यसहित आठौं बागलुङ महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा हुने महोत्सव आगामी पुषको दोस्रो सातादेखि शुरु हुने छ ।

स्थानीय लोक संस्कृतिको संरक्षण र उत्पादनलाई प्राथमिकता राखेर महोत्सव हुने संघका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिए । यसपटक पर्यटन र शिक्षालाई जोडेर महोत्सवमा विशेष कार्यक्रम गरिने छ । महोत्सवलाई प्रभावकारी बनाउन सोमबार जिल्लास्थित राजनीतिक दल र सरोकावलासँग छलफल भएको छ ।

‘‘पौषमा महोत्सव गर्ने पक्का भएको छ, कहाँ र कसरी गर्ने विष्यामा सरोकारवाला पक्षसंग निरन्तर संवाद भईरहेको छ’’ अध्यक्ष शाक्यले भने, ‘‘विगतमा जस्तै यसवर्ष पनि धौलागिरी बहुमुखी क्यायम्पसको प्राङ्गणमा महोत्सव गर्ने वा अन्य स्थानको खोजी गर्ने विषयमा छलफल भइरहेको छ ।’’ यस वर्षको महोत्सव विगतमा भन्दा फरक गर्ने सोचका साथ अहिलेदेखि नै तयारी भईरहेको शाक्यले बताए ।

मेला महोत्सव तथा सभा समारोह गर्दा उपयुक्त स्थानको अभाव सधैं खड्किएकाले दिर्घकालिन समाधानका लागि उपयुक्त जग्गा र स्थान व्यवस्थापन गर्नका लागि संघका अध्यक्ष शाक्यकै संयोजकत्वमा समिति बनेको छ । समितिले सरोकारवालासँग परामर्श गरेर बजारक्षेत्रमा खुल्ला मञ्चसहित सिटी हल निर्माण गर्न उपयुक्त जग्गा व्यवस्थापन गर्ने काम गर्ने संघका निवर्तमान अध्यक्ष नरेश कँडेलले बताए ।

शैक्षिक क्षेत्रमा मेला महोत्सव गर्न सहज नहुने हुँदा दिर्घकालिन स्थानको खोजीका लागि समिति नै गठन गरेर अगाडी बढेको कँडेलको भनाई छ । समितिमा जिल्लाका क्रियाशिल राजनीतिक दल, बागलुङ नगरपालिका, वडा नं. १ देखी ४ सम्मका वडा कार्यालय र विभिन्न संघसंस्थाको प्रतिनिधित्व हुने छ । समितिले सरोकारवालासँग समन्वय गरी जग्गा व्यवस्थापनका काम गर्ने बताईएको छ ।

छलफलमा काँग्रेसका जिल्ला सदस्य महेन्द्र आचार्य, एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसी, माओवादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरे, समाजवादी पार्टीका कृष्ण पौडेल, रास्वपाका विष्णु आचार्य र राप्रपाका हेमराज शर्मा वडा अध्यक्षहरु सुरज बोसेल, सनी केसी लक्ष्मण, रामरेखा सामुदायिक वनका अध्यक्ष कृष्ण केसी, पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले सुझाव राख्दै सदरमुकाम क्षेत्रमा सबै क्षेत्रको सहकार्यमा खुल्ला मञ्चको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->