बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मानव बेचबिखन विरुद्धको संघर्ष

मानव बेचबिखन विरुद्धको संघर्ष


  • याम बहादुर थापा मगर
  • भाद्र २० २०८२, शुक्रबार

नेपालको सडक र गल्लीहरूमा आवाज गुञ्जिन्छ ।
मानव बेचबिखनविरुद्ध हाम्रो प्रतिबद्धता,
सुरक्षित समाज हाम्रो लक्ष्य ।
विगतदेखि हालसम्म, नाराहरूले समयको घण्टी बजाइरहेका छन् ।
कसैले भन्यो– ‘मानव बेचबिखनको अन्त्य,
समानता र सम्मान सबैका लागि’,
कसैले स्वर बुलन्द पार्यो
‘मानव बेचबिखनविरुद्ध ऐक्यबद्धता,
महिला र बालबालिकाको सुरक्षा हाम्रो जिम्मेवारी ।’
यी शब्दहरू केवल नारा मात्र होइनन्,
यी पीडित आत्माहरूको रगतले लेखिएका सत्यका पत्रहरू हुन् ।

विश्वले पनि यो पीडा धेरै अघि भोगिसकेको छ ।
पार्लेर्मो प्रोटोकलले कानुनी छाता ओढायो,
ब्लु हर्ट अभियानले आँशुलाई आशामा बदल्ने संकेत दियो,
हक अधिकारको आन्दोलनहरूले संसारलाई सम्झाए ।
मानव बेचबिखन केवल अपराध होइन, मानवताको हत्या हो ।
१७० भन्दा बढी मुलुकमा कानुन बने,
पीडितलाई पहिचान गर्ने अधिकार सुनिश्चित भयो ।
यो इतिहासमा अंकित भएको उपलब्धी हो,
तर अझै पनि आँसु रोकिएको छैन ।

नेपालको भुईँमा नकारात्मक अभ्यासको धूलो छरिएको छ ।
दक्षिणी सीमाबाट युवतीहरू बेचिनुपर्ने पीडा,
सपना खोज्दै भारतका सडकमा हराउने आवाज,
विदेशी रोजगारका नाममा शोषण र ठगी,
अभियुक्त सजाय पाए पनि
अझै पीडितहरूको आँसु सुक्न सकेको छैन ।
संख्यामा लेखिँदा— सयौं उद्धार, दर्जनौं मुद्दा,
तर पीडितको पीडा शब्द भन्दा गहिरो छ ।
तर, आशा भने मरिसकेको छैन ।
माइती नेपालले सीमामा रोकेको छ,
उद्धार गरेर पुनस्र्थापित गरेको छ,
समाजका अनेक हातहरूले शिक्षा,
पुनः रोजगारी र सम्मान दिलाएका छन् ।
यी उदाहरणहरू केवल प्रयास होइनन्,
यी भविष्यको नयाँ बाटो हुन् ।

आजको निष्कर्षमा, हामी सबैले प्रतिज्ञा गरौँ ।
मानव बेचबिखन विरुद्धको लडाइँ केवल कानुनी मात्र होइन,
सामाजिक चेतना र मानवीय सहानुभूतिबाटै जितिन्छ ।
नारा मात्र चिच्याउने होइन,
व्यवहारमा उतार्ने समय आएको छ ।
मानवताको सम्मान गरौँ,
सपना बेच्नेलाई रोकौँ,
र मुक्त हृदयले भनौँ
‘मानव बेचबिखनविरुद्ध लाग्नेहरु,
अबको पुस्ता स्वतन्त्र र सुरक्षित हुनेछ ।’

बागलुङ नगरपालिका १० भकुण्डे, धौलेचउर बागलुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->