पोखरा/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक उपार्जन हुने व्यवसाय पहिचान गर्दै त्यसमै लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । उनले उद्योगी/व्यवसायीहरु निरास हुनुपर्ने अवस्था नरहेको पनि जिकिर गरे ।
निष्ठा, इमान्दारी र सकारात्मक दृष्टिकोणलेमात्र आर्थिक रूपान्तरण सम्भव छ,’ शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा एवं १५ औ महाधिवेशनमा मन्तव्य राख्दै उनले भने, ‘औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति चाहिँ आवश्यक छ । निजी क्षेत्रले सूचना प्रविधि र सिपयुक्त रोजगारीमा लगानी बढाउनु पर्छ ।’
अध्यक्ष ढकालले निजी क्षेत्रको मनोवल बढाउनका निम्ति सरकारले व्यवसायीहरुलाई उचित सम्मान दिनुपर्ने आवाज निरन्तर उठाउँदै आएको बताउँदै केही समयमा नै उद्योगी/व्यवसायीको मर्यादाक्रम कायम हुने पनि बताए । लामो समयदेखि उद्योगी/व्यवसायीहरुले आफूहरुलाई पनि गृहमन्त्रालयले कायम गर्ने मर्यादाक्रममा समेट्नुपर्ने माग गर्दै आइरहेका थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लेखनाथ धेरै सम्भावना भएको क्षेत्र भएकाले आर्थिक र रोजगारी वृद्धिका लागि स्थानीय मागलाई आधारमानी आयतलाई विस्थापित गर्ने कार्ययोजना अनुसार अगाडी बढ्न सुझाव दिइन् ।
संघका अध्यक्ष विनोद श्रेष्ठले बन्द रहेका उद्योगलाई चलायमान गराउनु पर्ने धारणा राख्दै केन्द्रीय स्तरबाट लगानी मैत्री वातावरण सृजना गर्नुपर्ने धारणा राखे । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, नेकपा माओवादी कास्की इन्चार्ज विश्वप्रकाश लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत संघतर्फका उपाध्यक्ष हेमराज ढकाल,महासंघ गण्डकीका अध्यक्ष अमृत भट्टचन,केन्द्रीय सदस्य अमरेशकुमार बैदार,नेपाल पत्रकार महसंघ गण्डकी प्रदेशक अध्यक्ष रमेश पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदी,सामुदायिक प्रहरी सेवा केन्द्र डाँडाकोनाककी अध्यक्ष गंगाकुमारी खनाललगायतले संघका सदस्यहरूलाई उत्पादनमा लाग्न आग्रह गरेका थिए ।
चन्द्रलक्ष्मी पुरस्कार मुकुन्दशरणलाई
लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले २०७८ सालमा स्थापना गरिएको ‘चन्द्रलक्ष्मी जेष्ठ नागरिक सेवा पुरस्कार’ यस वर्ष पोखरा ३२ राधाकृष्ण शान्ति आश्रमका पिठाधीश एवं पोखरेली नवरत्न मुकुन्दशरण उपाध्यायलाई प्रदान गरियो । पुरस्कार राशी १ लाख १ हजार रहेको छ ।

सोही अवसरमा, संस्थाका पूर्वसदस्य कृष्णप्रसाद ढुङ्गानाले स्थापना गरेको वातावरण पुरस्कार यस वर्ष ढुक्क टोली लेखनाथलाई प्रदान गरियो भने सूर्यमणि लामिछानेले स्थापना गरेको आर्थिक पत्रकार पुरस्कार यस वर्ष पत्रकार सुरेन्द्र पौडललाई प्रदान गरियो पुरस्कारको राशी १५ हाजार ८८ रहेको छ । लेखनाथ उद्योग वाणिज्य संघले प्रदान गर्ने महिला उद्यमी सम्मान रुपकला श्रेष्ठलाई प्रदानगरिएको महासचिव जानुका पराजुलीले जानकारी दिइन् ।
चुनावमा २ समूह
लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । नयाँ नेतृत्वको लागि विभिन्न पदका ३७ जनाको उम्मेवारी रहेको छ ।
संघको नयाँ नेतृत्वको लागि दुई समूहले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका पराजुली अधिकारीले निर्वाचन हुने १९ पदकालागि आ–आफ्नो टिमबाट उम्मेदवारी दर्ता गराएका हुन् । संस्थागत सदस्यका उम्मेदवार वीरभद्र कँडेल चाहिँ दुवै समूहमा रहेकाले निर्विरोध बनेका छन् ।
ओझाको समूहलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले साथ दिएका छन् भने जानुकाको समूहलाई नेपाली कांग्रेस र नेकपा माओवादीको साथ छ ।





