पोखरा/हेभी इक्युपमेन्ट अपरेटरहरुले आफूहरुको चूनौतीपूर्ण पेशामा सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन् ।
दुर्घटनामा पर्दा अपरेटरहरुको छिटो उद्धार नभएको तथा कार्यस्थलमा घाइते तथा मृत्यु हुँदा समेत सरकारले नहेरेको दुःखेसो उनीहरुको छ ।
नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको आठौँ साधारणसभा तथा गण्डकी प्रदेश अपरेटर अन्तरक्रिया कार्यक्रममा उनीहरुले हेभी उपकरणहरु चलाउने चालक तथा सहचालकहरुको जीवनको सुरक्षा हुनुपर्ने उनीहरुको माग छ ।
गण्डकी प्रदेश अपरेटर संघका महासचिव देवेन्द्र चोखालले सडक, पुल तथा हाइड्रोपावरको काम गर्दा सामान्य सुरक्षाका सामग्री समेत नपाएको गुनासो गरे । उनले जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता सुनाए ।
‘देशको विकासका लागि भनेर हामी ठूला इक्युपमेन्ट चलाउँदै आएका छौँ ।तर कार्यस्थलमा हाम्रो जीवनको सुरक्षा छैन । अत्यन्त जोखिम मोलेर संवेदनशील ठाउँमा काम गर्नुपरेको छ,’ उनले भने, ‘अपरेटरहरु दुर्घटनामा पर्दा समयमै उद्धार समेत हुँदैन ।’
हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका अध्यक्ष किशोरप्रसाद गौतमले आफ्नो पेशालाई इमानदारीका साथ कुशल ढंगबाट निर्माण कार्य तथा सामाजिक कार्य गर्दै आएपनि जीवनको कुनै सुरक्षा नभएको बताए ।
‘विकास गर्नका लागि भीर, पहाडसँग सिँगौरी खेलेका छौँ । हामीलाई अप्ठ्यारो पर्दा सरकारबाट कहिल्यै सहयोग पाएनौँ,’उनको दुखेसो थियो ।
गौतमले राज्यद्धारा कानुनमा समावेश गरिएको अनौपचारिक क्षेत्रका श्रमिकहरुका लागि सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हेभी इक्युपमेन्ट चालकहरुलाई समेत समावेश गर्न माग गरे ।
कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटियुसिसी)का अध्यक्ष जगत सिींखडाले अपरेटरहरु दुर्घटनामा पर्दा हेलिकप्टरबाट उद्धारको प्रबन्ध सरकारले गर्नुपर्ने बताए ।
‘अहिले गाउँ गाउँमा व्यक्ति व्यक्तिले डोजर र एक्साभेटर किनेका छन् तर त्यसका चालक तथा सहचालकको सुरक्षामा कोही पनि जिम्मेवार छैनन् । चालकले सुरक्षित महसुस गर्ने वातावरण बन्नुपर्छ,’उनले भने ।
समाजवादी स्वतन्त्र ट्रेड युनियन महासंघ(एसआइटीयुसी)का अध्यक्ष नवराज दाहालले श्रमिकको मुद्दा र उनीहरुको उत्थानका लागि सबै एक ठाउँमा हुनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल हेभी इक्युपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघका अध्यक्ष सन्तोष श्रेष्ठले हेभी गाडीको सवारी लाइसेन्स पाउन अत्यन्त झन्झटिलो रहेकाले सहजीकरणका लागि सरकारसँग माग गरे ।
कार्यक्रममा समाजवादी स्वतन्त्र टे«ेड युनियनका प्रदेश संयोजक टिवी विश्वकर्मा(हिमाल), संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) गण्डकीका उपाध्यक्ष टंक पौडेल, सचिव गुणराज बास्तोला, एसआइटियुसी गण्डकी प्रदेशका संयोजक सुशीलकुमार वाग्ले,नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघ कास्कीका सचिव वामदेव पौडेल, कोषाध्यक्ष उमनाथ शर्मा, नेपाल ट्रेडर्सका सञ्चालक किशोर सुवेदी, नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ गण्डकीका अध्यक्ष प्रेमबहादुर थापामगर, सचिव अपरेटर संघ कास्कीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक श्याम सुवेदी र सचिव कृष्णप्रसाद पौडेल, स्याङ्जाका अध्यक्ष दीपेन्द शर्मा, म्याग्दी अध्यक्ष देवबहादुर खड्का(कुशल), एमएमडब्लु पोखराका प्रमुख कृष्णप्रसाद तिवारीलगायतले व्यवसायी र श्रमिकहरु मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
साधारणसभाका अवसरमा ज्येष्ठ हेभी इक्युपमेन्ट चालकद्वय टंक लामिछाने र मंलगबहादुर लामिछानेलाई सम्मान गरिएको थियो । यसैगरी माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने अपरेटरहरुका छोराछोरीलाई नगदसहित सम्मान गरिएको थियो ।
साधारणसभाले अध्यक्ष किशोरप्रसाद गौतम,सचिव कृष्ण प्रसाद पौडेल र कोषाध्यक्ष अनन्तराज पौडेलबाट प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।





