बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतको कुश्मामा अनिश्चितकालिन कर्फयू

पर्वतको कुश्मामा अनिश्चितकालिन कर्फयू

सदरमुकाम कुश्मा बजारलाई लक्षित गरी लगाइएको कर्फयूमा कोही पनि आवतजावत गर्न नहुने, कुनै प्रकारको जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाइने आदेश छ ।


  • संजय रेग्मी
  • भाद्र २५ २०८२, बुधबार

पर्वत/जेनजी पुस्ताको प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगलागी भएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले कर्फयू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेद्वारा जारी आदेशमा मङ्गलवार राती १० बजेदेखि अनिश्चितकालिन समयका लागि कर्फयू कायम गरिएको उल्लेख छ । सदरमुकाम कुश्मा बजारलाई लक्षित गरी लगाइएको कर्फयूमा कोही पनि आवतजावत गर्न नहुने, कुनै प्रकारको जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाइने आदेश छ ।

कर्फयू कुश्मा नगरपालिकाको पूर्वमा वडा नं.७ को तमादी खोला, पश्चिममा वडा नं. ४ को छमर्के, उत्तरतर्फ वडा नं. ३ को गोदाम र दक्षिणमा वडा नं. ५ को मोदीवेणी डिलभित्रको क्षेत्रमा कर्फयू लागेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम कर्फयू लगाइएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

कर्फयूका कारण मङ्गलवार रातीदेखि नै कुश्मा बजार सुनसान बनेको छ । बुधवार बिहानैदेखि पनि बजार सुनसान बनेको छ भने पसलहरू समेत बन्द भएका छन् । सडकमा अत्यावश्यक काम भएका व्यक्तिहरू फाटफुट रूपमा हिँडेको भए पनि सामान्य कामका लागि नागरिकहरू बाहिर निस्किएका छैनन् ।

मङ्गलवार दिउसोसम्म शान्तिपूर्ण रूपमा जेनजीको प्रदर्शन भएको भए पनि त्यसपछि भने प्रदर्शनकारीहरू भौतिक संरचनाहरूमा केन्द्रित भएका थिए । उनीहरूले नेपाली काँग्रेस पर्वत, नेकपा (एमाले) पर्वत, नेकपा (माओवादी केन्द्र) तथा पूर्व मन्त्री पदम गिरीको घरमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरू विभिन्न राजनीतिक दलका नेताहरूप्रति आक्रामक बनेपछि जिल्लाको अवस्था तनावग्रस्त बनेको थियो ।

प्रशासन स्रोतका अनुसार दुई जना वा सो भन्दा बढी व्यक्तिहरू सडकमा हिँड्न नपाउने तथा सवारीहरू सञ्चालन गर्न नपाउने गरी प्रशासनले कर्फयू आदेश जारी गरेको हो । यससँगै जिल्लाका सरकारी तथा निजी कार्यालयहरू समेत बुधवार बन्द हुन सक्ने भएका छन् । कार्यालयहरू कसरी खुलाउने र कसरी काम गर्ने भन्ने विषयमा तालुकका निकायहरूबाट स्पष्ट निर्देशन नआएकोले जिल्लाका कार्यालय तथा विद्यालयहरू अलमलमा परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->