बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सहकारी पीडितको गुनासो : सबै प्रमाण नष्ट गरियो

सहकारी पीडितको गुनासो : सबै प्रमाण नष्ट गरियो

जेनजी पुस्ताले गरेको आन्दोलनलाई सहकारी बचत पीडितको पूर्ण समर्थन रहेको स्मरण गर्दै अन्य समूह र पार्टीका व्यक्तिले घुसपैठ गरी सो काम गरिएको आशंका पनि व्यक्त गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८२, शुक्रबार

पोखरा/पोखरामा रहेका सहकारी पीडितहरुले जेनजी पुस्ताको आन्दोलनको क्रममा सहकारीको बचत रकम ठगीका सवै प्रमाणहरु नष्ट गरिएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।

सहकारी बचतपीडित संघ कास्कीले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गते भएको आन्दोलनको क्रममा सहकारी ठगी र त्यसमा जोडिएका अनुसन्धानका फाइलहरु रहेका जिल्ला र उच्च अदालत पोखरा,जिल्ला सरकारी वकिलको कार्यालय, उच्च अदालत सरकारी वकिलको कार्यालय तथा सहकारी शाखामा आगजनी गरी सम्पूर्ण सबुत प्रमाण र कागजात नष्ट गरिएको बताएको हो ।

विज्ञप्तिमा अगाडि प्रश्न गरिएको छ,‘ किन सहकारी मुद्दासँग जोडिएका निकायलाई केन्द्रबिन्दु बनाइयो ? किन सहकारी मुद्दासँग जोडिएर थुनामा बस्ने ठाउँलाई केन्द्रबिन्दु बनाइयो ? पोखरा महानगरपालिका सहकारी शाखा जलाइयो तर सहकारी रजिष्ट्रारको कार्यालय केही गरिएन ?’

जेनजी पुस्ताले गरेको आन्दोलनलाई सहकारी बचत पीडितको पूर्ण समर्थन रहेको स्मरण गर्दै अन्य समूह र पार्टीका व्यक्तिले घुसपैठ गरी सो काम गरिएको आशंका पनि व्यक्त गरिएको छ ।

‘हाम्रा घरघरका जेनजी पुस्ता पनि यही बचत रकम नपाउँदा पीडत छन् । अब यो सहकारीपीडितहरुको समस्याबारेमा जेनजी पुस्ताबाट आवाज उठ्नु जरुरी छ । हामी सहकारी पीडित पनि बिगत ३ वर्ष यिनै सरकार, सरकारी पद, राजनीतिक पार्टी, पद र दायित्वमा बसेका मानिसहरुबाट पीडित बनेका हौँ । यो विषयमा जेनजी पुस्तबाट आवाज उठोस् भन्ने चाहन्छौँ,विज्ञप्तिमा भनिएको छ,‘ हामी नितान्त सहकारी पीडित हौँ, हामी कुनै पार्टीमा आबद्ध छैनौँ र यही समस्याको बारेमा वर्षौंदेखि आवाज उठाइरहेका छौँ । बिगत ३ वर्षदेखि हामी सरकार र सहकारी ठगसँग लडिरहेका थियौँ । अब हामीले न्याय पाउने हो भने त्यो व्यवस्थाभित्र सहकारी पीडितलाई पनि सहभागी बनाइयोस् । ’

कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जोडिएको बहुचर्चित सूर्यदर्शन,ढोरपाटनका मेयर देवकुमार नेपाली जोडिएको प्राइम सहकारीसहित अन्य कम्तिमा ७ वटा सहकारी ठगी प्रकरणको मुद्दा विचाराधीन अवस्थामा थिए । ती मुद्दाका सवैजसो अनुसन्धानका प्रमाण,प्रतिलिपिहरु आन्दोलनको क्रममा सरकारी कार्यालय आगजनीमा परेर नष्ट भएका छन् । कास्की कारागारमा सूर्यदर्शन सहकारी प्रकरणसँग जोडिएका ६३ जनालाई प्रतिवादी बनाइएकोमा सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाश दर्लामी,संचालक समितिका सदस्य भविश्वर अर्याल,जीबी राईकी सहयोगी भनिएकी लीला पछाईंसहितका व्यक्तिहरु कारागारमै थिए । जेनजीको आन्दोलनको क्रममा कास्की कारागारमा पनि आक्रमण भयो । जेलमा रहेका कैदीबन्दीहरु त्यहाँबाट बाहिर निस्केका छन् । कास्की कारागारमा ७ सय ७४ जना कैदीबन्दी रहेकोमा ७ सय ७३ जना जेल बाहिर निस्केका थिए । तीमध्ये १८ जनामात्र सम्पर्कमा आएको कास्की कारागार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->