पर्वत/‘जेनजी’ पुस्ताको प्रदर्शनको फाइदा उठाउँदै देशभरका कारागारहरूबाट कैदी बन्दीहरू भाग्दा समाजमा त्रास फैलिँदै गइरहेको छ । प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएका हतियारको दुरुपयोग, ‘जेनजी’ को नाम पारेर घर तथा पसलमा लुट्नेहरू तथा कैद सजाय भुक्तान गरिरहेकाहरूले समुदायमा पुगेर पुनः हिंसा गर्न सक्ने भयले समाज आतङ्कित छ ।
यही क्रममा कास्की, पर्वत, म्याग्दीलगायतका जिल्लाका कारागारहरूबाट पनि कैदी बन्दीहरू भागेका छन् । कोहीले भित्रैबाट मौकाको फाइदा उठाएर भागे त कोहीलाई बाहिरका व्यक्तिहरूले वातावरण सहज बनाइदिए । कारागारबाट भागेकाहरू सुरक्षाकर्मीबाट जोगिनका लागि जिल्लाका ग्रामीण क्षेत्र, एकान्त ठाउँहरू लगायतमा जान सक्ने र ती ठाउँहरू असुरक्षित हुन सक्ने प्रहरी अधिकृतहरू बताउँछन् ।
कारागारबाट भागेकाहरूको मनमा आफूले गरेको विगतको गल्ती र वर्तमानमा कैदबाट भागेको कुरामा पश्चात्ताप नभई झनै ‘बहादुरीको काम गरेको’ जस्तो अनुभूति देखिँदा समाज असुरक्षित बन्न सक्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्ट बताउँछन् । कारागारबाट फरार रहेकाहरूको खोज्ने गस्तीमा जाँदा पक्राउ गरिएका व्यक्तिहरूमा कारागार तोडेर आएको भन्दै उच्च मनोबलका साथ प्रस्तुत भएको पाइएको उनको अनुभव छ ।
‘गस्तीकै क्रममा चेकिङ गर्दै थिएँ । दुई जना शङ्कास्पद व्यक्तिहरू आइरहेको देखेपछि रोकेर सोध्दा उनीहरूको व्यवहार अस्वाभाविक लाग्यो । सोधखोज गर्दा ती व्यक्तिहरू कास्की कारागारबाट भागेका ज्यानसम्बन्धी मुद्दाका कैदीहरू रहेछन्,’ डीएसपी विष्टले भने, ‘उनीहरूले गर्वका साथ भन्दै थिए कि हामी कारागार तोडेर फोडेर भागेर आएको हो । उनीहरूको बोलीबाट प्रस्ट हुन्थ्यो कि जघन्य अपराधमा कारागार बसेका व्यक्तिहरूको मनमा कुनै पनि किसिमको पश्चात्ताप थिएन, कुनै पनि अपराध बोध थिएन । उच्च मनोबलका साथ हामीहरूसँग प्रस्तुत भइरहेका थिए ।’
अहिले यस्तै खालका करिब १० हजार कैदी बन्दीहरू समाजमा आइपुगेको उनीहरूको आपराधिक मनोवृत्ति अझै पनि उच्च रहेको आफूले नमूनाका रूपमा पाएको उनले बताए । भागेका कैदी बन्दीहरू फरार हुँदै जुनसुकै ठाउँमा पुगेको हुन सक्ने र उनीहरूबाट समुदायमा जुनसुकै किसिमको जोखिम हुन सक्ने भएकोले यसमा नागरिक पनि सचेत हुनुपर्ने डीएसपी विष्ट बताउँछन् ।
आफ्नो समुदायमा कोही पनि नयाँ मान्छे आएमा, फरक खालको क्रियाकलाप देखाएमा वा शङ्कास्पद कुनै पनि गतिविधिहरू गरेको भएमा समयमा नै सुरक्षाकर्मीहरूलाई खबर गरेर समुदायलाई सुरक्षित राख्नुपर्ने उहाँको भनाइ छ । प्रहरीले गरिरहेका गस्तीहरूमा भेटिएका शङ्कास्पद व्यक्तिहरूमाथि अनुसन्धान तथा सोधपुछ गर्ने क्रममा उनीहरूले गर्वका साथ आफूहरूले जेल तोडेर आएको बताएकाले उनीहरूबाट थप घट्नाको जोखिम हुन सक्ने चेतावनी प्रहरीले दिएको छ ।
भाग्ने र भगाउन मद्दत गर्ने सबै जना अपराधीहरू भएको भन्दै उहाँले प्रहरीलाई केही समय हाँसोको पात्र बनाउँदा जनताकै घर लुटिने, आफ्नै दिदीबहिनीहरू माथि दुव्र्यवहार, बलात्कारलगायतका हिंसा हुने जोखिम रहेकोले आफ्नो समाजको बारेमा नागरिक पनि चिन्तित बन्नुपर्ने प्रहरीले बताएको छ । कोही कसैले देशका विभिन्न कारागारबाट फरार भएका कैदी बन्दीहरू तपाईँको छरछिमेकमा आएको जानकारी पाएर प्रहरीमा खबर गरेमा सूचना दिने व्यक्तिका विवरणहरू गोप्य राखिने पनि सूचना दिने व्यक्ति सुरक्षित नै रहने डि.एस.पी विष्टले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतले जेनजी आन्दोलनका क्रममा गत मंगलबार फरार भएका जिल्ला कारागार पर्वतका कैदी बन्दी तथा थुनुवाहरूलाई सम्पर्कमा आउन समेत अनुरोध गरेको छ । प्रदर्शन भएको दिनको अवस्थाको फाइदा उठाउँदै कसैको सहयोगमा वा आफैले पनि कारागारबाट भागेकोमा अब स्वैच्छिक रूपमा जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी चौकीमा सम्पर्कमा आउन अनुरोध गरेको हो ।
देशमा विकसित भएको असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारबाट फरार रहेकालाई स्वैच्छिक रूपमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ । तर प्रहरीको अनुरोधलाई अस्वीकार गरी आफू भागेको कुरा नै सत्य हो भन्ठानेर वा लुक्न सकिन्छ भन्ठानेर लुकिरहेको भएमा त्यो गलत हुने प्रहरीले बताएको छ । स्वैच्छिक रूपमा प्रहरीको सम्पर्कमा नआएमा आवश्यकताको आधारमा बल प्रयोग गरी नियन्त्रण लिइने समेत पर्वत प्रहरीले चेतावनी दिएको छ ।





