पर्वत/‘जेनजी’ को प्रदर्शनका कारण उत्पन्न असहज अवस्थालाई नियन्त्रण गर्न पर्वत सदरमुकाम कुश्मा बजारमा लगाइएको निषेधाज्ञा शुक्रवार साँझसम्मका लागि लम्बिएको छ ।
प्रदर्शनको मौका छोपेर कतिपय समूहले गरेका अराजक क्रियाकलाप नियन्त्रण गर्न पर्वत प्रशासनले गते मङ्गलवार राती १० बजेदेखि आदेश जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेद्वारा जारी गरिएको सूचनामा आन्दोलनको घटनापश्चात् उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गरी जिल्लामा शान्ति र सुव्यवस्था कायम गरी जनजीवन सामान्य बनाउन कर्फयू लगाइएको उल्लेख छ । कर्फयूलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले शुक्रवारसम्मको लागि निषेधाज्ञा थप भएको प्रजिअ घिमिरेले बताएका छन् ।
निषेधाज्ञा शुक्रवार बिहान ११ बजेदेखि बेलुका पाँचसम्म जारी रहेको भएकोले बिहान र बेलुका दुई समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले बताएको छ । शुक्रवार बिहान छ बजेदेखि ११ बजेसम्म र साँझ पाँच बजेदेखि साँझ सात बजेसम्मका लागि अत्यावश्यक समय छुट्टाइएको हो ।
निषेधाज्ञाको क्रममा अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारीहरू भने सञ्चालन गर्न पाउने अनुमति दिइएको छ । जस्तोसुकै परिस्थितिमा पनि आम नेपालीहरूको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रही जिम्मेवारी निर्वाहमा सक्रिय रहने सुरक्षाकर्मीहरूलाई सघाउन पनि पर्वत प्रशासनले अनुरोध गरेको छ ।
अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने भनी छुट्टाएको समयमा अत्यावश्यक सामग्री किनमेल एवं धार्मिक सांस्कृतिक परम्परा अवलम्बनका लागि हिँडडुलका लागि मात्रै भएको प्रजिअ घिमिरेको आदेशमा उल्लेख छ । उक्त समयमा समेत जुलुस, धर्ना, प्रदर्शन लगायतका गतिविधिहरू गर्न पूर्णतः निषेध गरिएको छ ।





