पर्वत/जेनजी प्रदर्शनका क्रममा रहेको कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै जिल्ला कारागार पर्वतबाट फरार भएका कैदीबन्दीहरूमध्ये पाँच जना नियन्त्रणमा आएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन बिष्टका अनुसार बिहीबारसम्म विभिन्न कसुरका पाँच जनालाई नियन्त्रणमा लिएर पुन जिल्ला कारागार, पर्वतमा चलान गरिएको छ । कारागारबाट फरार भएका १९ जनामध्ये पाँच जना पुन कारागारमा पुगे पनि बाँकी १४ जनालाई समयमा नै प्रहरीको सम्पर्कमा आउन भनिएको छ । अदालतबाट कैद फैसला भएका व्यक्तिहरूले जसरी पनि कैद भुक्तान गर्नै पर्ने र प्रहरीले जुनसुकै समयमा पनि पक्राउ गरेर सजाय भुक्तानको लागि कारागारमा राख्ने भएकोले इमानदार भएर समयमा नै प्रहरीको सम्पर्कमा आउन अनुरोध गरिएको डि.एस.पी विष्टले बताए ।
विभिन्न अपराधमा संलग्न भएका व्यक्तिहरूलाई ३०÷४० वर्षपछि समेत पक्राउ गरेर कारागारमा राखिएको सम्झाउँदै प्रहरीले लामो समय प्रहरीको आँखा छल्न नसकिने भएकोले समयमा नै सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।
आन्दोलनको मौकामा देशका विभिन्न कारागारहरूबाट भागेका कैदी बन्दीहरू भने आत्मसमर्पण गर्दै प्रहरी चौकीहरूमा जाने क्रम बढिरहेको छ । सुरक्षा व्यवस्था कमजोर पारिएको अवस्थामा भाग्ने मौका पाएको भए पनि अब बिस्तारै सुरक्षा प्रत्याभूति बढ्दै गएपछि जेलबाट भागेकाहरू स्वतःस्फूर्त प्रहरीमा आउन थालेका हुन् । अदालतको फैसला कार्यान्वयन गर्नका लागि प्रहरीले जसरी पनि पक्राउ गर्ने र अहिले भागेकाहरू कानुनी रूपमा झनै अप्ठ्यारोमा पर्न सक्ने, सजाय झनै लम्बिन सक्ने, थप मुद्दा झेल्नुपर्ने अवस्था आउन सक्ने भएकोले त्यसबाट सुरक्षित हुनका लागि कैदीहरूले आत्मसमर्पण गरिरहेका हुन् ।
आफ्नो समुदायमा कोही पनि नयाँ मान्छे आएमा, फरक खालको क्रियाकलाप देखाएमा वा शङ्कास्पद कुनै पनि गतिविधिहरू गरेको भएमा समयमा नै सुरक्षाकर्मीहरूलाई खबर गरेर समुदायलाई सुरक्षित राख्नुपर्ने उनको भनाई छ । प्रहरीले गरिरहेका गस्तीहरूमा भेटिएका शङ्कास्पद व्यक्तिहरूमाथि अनुसन्धान तथा सोधपुछ गर्ने क्रममा उनीहरूले गर्वका साथ आफूहरूले जेल तोडेर आएको बताएकाले उनीहरूबाट थप घटनाको जोखिम हुन सक्ने चेतावनी प्रहरीले दिएको छ ।
भाग्ने र भगाउन मद्दत गर्ने सबै जना अपराधीहरू भएको भन्दै उनले प्रहरीलाई केही समय हाँसोको पात्र बनाउँदा जनताकै घर लुटिने, आफ्नै दिदीबहिनीहरू माथि दुव्र्यवहार, बलात्कार लगायतका हिंसा हुने जोखिम रहेकोले आफ्नो समाजको बारेमा नागरिक पनि चिन्तित बन्नुपर्ने प्रहरीले बताएको छ । कोही कसैले देशका विभिन्न कारागारबाट फरार भएका कैदी बन्दीहरू छरछिमेकमा आएको जानकारी पाएर प्रहरीमा खबर गरेमा सूचना दिने व्यक्तिका विवरणहरू गोप्य राखिने पनि सूचना दिने व्यक्ति सुरक्षित नै रहने डि.एस.पी विष्टले बताएका छन् ।





