पोखरा/कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका–३० नम्बर वडा कार्यालय र जिल्ला प्रहरी कार्यालय, कास्कीलाई विभिन्न सामग्री प्रदान गरेको छ । बैंकले वडा कार्यालयलाई टेबल र कुर्सी तथा प्रहरीलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो ।
जेन जीको आन्दोलनका क्रममा उक्त वडा कार्यालयका सबै सामाग्री जलेर नष्ट भएका थिए । त्यस्तै, आन्दोलनको क्रममा जिल्ला प्रहरी कार्यालय, कास्कीमा पनि क्षति पुगेको थियो । बैंकको ढुंगेपाटन शाखाकी प्रबन्धक लक्ष्मी ढकालले वडा नम्बर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलाई टेबल र कुर्सी हस्तान्तरण गरिन् ।वडाध्यक्ष सुवेदीले आन्दोलनले क्षति पु¥याएका संरचनामा सहयोग गरेर कार्यालय सञ्चालन गर्न मद्दत पु¥याएकोमा बैंकलाई धन्यवाद दिए । उनले अन्य सरोकारवालालाई पनि पुनर्निर्माणमा जुट्न आग्रह गरे ।
त्यसैगरी, बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी हरिबहादुर बस्नेतलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे । आन्दोलनका कारण कार्यालय पूर्णरुपमा जलेर नष्ट भई कामकाज नै गर्न नसकिने अवस्थामा पुगेकोले तत्काल आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर सहयोग गरिएको बैंकले जनाएको छ । बैंकले आन्दोलनबाट क्षतिग्रस्त भएका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय र प्रहरी कार्यालयहरूलाई पुनर्निर्माण, मर्मतसम्भार तथा आवश्यक सामग्री प्रदान गर्न थालेको छ ।





