आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लयमा फर्कंदै व्यवसाय र सरकारी सेवा

लयमा फर्कंदै व्यवसाय र सरकारी सेवा

दशैं नजिकै आइसकेकोले बजारमा किनमेल गर्नेदेखि टाढाटाढा जानुपर्नेहरु आन्दोलनका कारण अन्यौलमा थिए । बजार खुलेपछि किनमेल गर्नेको पनि भीड लाग्न थालेको छ । केन्द्रीय संरचनाको भर पर्नुपर्ने कतिपय सेवा भने अझै सहज संचालनमा आउन सकेका छैनन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८२, सोमबार

बागलुङ/जेनजी आन्दोलनपछि अस्तव्यस्त सरकारी सेवा संचालनमा आएको छ । आइतबारदेखि जिल्लाका सबै सरकारी कार्यालयले नियमित काम थालेका हुन् । सूचना प्रकाशित गरेर बन्द रहेको बागलुङ नगरपालिकाले पनि आइतबारदेखि नै काम थालेको छ ।

सेवा संचालनमा आएपछि सातापछि आइतबार बागलुङमा निकै चहलपहल देखिएको थियो । आइतबारदेखि विद्यालय पनि खुलेका छन् । घरमै बसेर आजित भएका बालबालिका विद्यालय जान पाएर खुसी देखिन्थे । दशैं नजिकै आइसकेकोले बजारमा किनमेल गर्नेदेखि टाढाटाढा जानुपर्नेहरु पनि निषेधाज्ञा र आन्दोलनका कारण अन्यौल रहेका थिए । बजार खुलेपछि किनमेल गर्नेको पनि भीड लाग्न थालेको छ । केन्द्रीय संरचनाको भर पर्नुपर्ने कतिपय सेवा भने अझै सहज संचालनमा आउन सकेका छैनन् ।

अदालतका काम सुरु
उच्च अदालत बागलुङले सूचना प्रकाशित गरेर सेवा संचालनमा आएको जनाएको छ । उच्च अदालत बागलुङका रजिष्ट्रार रामबहादुर थापाले सूचना प्रकाशित गरेर नियमित सेवा संचालन भएको बताए । भदौ २५ गते जारी भएको सूचना बमोजिम अर्को सूचना जारी नहुन्जेल सेवा प्रवाह बन्द भएकोमा निषेधाज्ञा लगायतको अवस्था हटेपछि सेवालाई सहज बनाइएको जनाइएको छ ।
यस अघि बन्दीप्रत्यक्षीकरणको निवेदन बाहेक मुद्दाको सुनुवाइ नहुने भनिएकोमा भदौ ३० गतेदेखि सेवा नियमित गर्न सकिने भन्दै आइतवार सूचना सार्वजनिक गरेको हो । साप्ताहिक पेशी चढाउने मुद्दाबाहेक अन्य कामकारवाही पूर्ववत् हुने सूचनामा उल्लेख छ । उच्चको यो सूचनाले जिल्ला अदालत बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई पनि काम संचालन गर्ने बाटो खुलेको छ भने चारवटै बार इकाइमार्फत् सेवाग्राहीलाई सूचना पु¥याइदिन पनि अदालतले आग्रह गरेको हो ।

यातायात संचालन
निषेधाज्ञा र आन्दोलनको अन्यौलताका कारण लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेकोमा आइतबारदेखि सबै सेवा संचालनमा आएका छन् । आइतबारदेखि रात्री तथा दिवाकालीन यातायातका साधन नियमित चलेको व्यवसायीले जानकारी दिए ।
छिटफुट रुपमा शनिवार पनि सवारी चलेकोमा आइतवारदेखि नियमित काउण्टरबाटै टिकट काटेर यात्रीले यात्रा गर्न पाएका हुन् । काउन्टर नखुल्दै चल्ने सवारी साधनमा केही अप्ठ्यारो वा क्षति भएमा व्यवसायी आफैले व्यहोर्नुपर्ने अवस्था हुन्छ । ‘सवारी साधन चलेपछि पनि यात्री ठगिने, मनलाग्दी भाडा असुल गर्ने जस्ता समस्या आउन नदिन प्रहरीले नियमित चेक गरिरहेको छ,’ एक प्रहरी अधिकृतले भने, ‘यात्रीलार्इ पनि नियमित भाडादरबाहेक बढी लिएको पाएमा उजुरी गर्न भनेका छौं ।’ इन्धनलगायतमा कुनै प्रतिबन्ध नभएको, मूल्यमा पनि कतै अप्ठ्यारो नपरेकोले त्यस्ता समस्या आउन नहुने भन्दै अनुगमन गरिएको हो ।

दैनिक उपभोग्य बस्तु सहज
चाडपर्व नजिक आएकोले दैनिक उपभोग्य बस्तुमा पनि कालोबजारी हुन सक्ने भन्दै जिल्ला प्रशासनले निगरानी बढाएको छ । अत्यावस्यक सामाग्री अभाव हुन नदिने, जथाभावी मूल्य गर्ने, कृतिम अभाव जस्ता समस्या आउन नदिने काममा पनि प्रशासनले कडाइ गरेको हो ।

आन्दोलन र निशेधाज्ञाको कारण देखाएर कसैले पनि कालोबजारी गर्न नहुने उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । ‘केही दिन भएका निशेधाज्ञा र आन्दोलनका बाबजुत सामग्री ढुवानी सहज भैसकेको छ, त्यसैले कसैले पनि उपभोक्तालाई असर पर्ने काम गर्न हुँदैन,’ उनले भने, ‘नियमित अनुगमन र सहज आपुर्तिमा सबैको चासो चाहिन्छ ।’ चाडपर्व आएको निहुँमा उपभोक्ता ठगिने काम नगर्नपनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->