पोखरा/ जेन जी को आन्दोलनका क्रममा राजनीतिक व्यक्तिगत स्वार्थप्रेरित अपराधिक गिरोहको घुसपैठका कारण संरचना र सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको पोखरा इभेन्ट सेन्टरले जनाएको छ । भदौ २४ को प्रदर्शनका क्रममा पोखराको बुलौंदीमा रहेको इभेन्ट सेन्टरमा आगजनी गरिएको थियो । सामान लुटिएको थियो ।
सेन्टरले आज एक विज्ञप्ति जारी गर्दै आगजनी र लुटपाटबाट करोडौं रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको र घटनाले लगानीकर्ताको मनोबलमा नकारात्मक असर मात्र नपारी पर्यटन प्रवद्र्धन र भविष्यका योजनाहरूलाई समेत असुरक्षित बनाएको जनाएको छ । आन्दोलनका क्रममा निहित स्वार्थ र आपराधिक मनोवृत्ति बोकेका घुसपैठी गिरोहले इभेन्ट सेन्टर सहित निजी प्रतिष्ठानहरूमा आगजनी र तोडफोड गरी ठूलो र अपुरणिय क्षति पु¥याएको घटनाप्रति ध्यानाकर्षण भएका, यसले निजि क्षेत्रका उद्यमी÷व्यवसायीको मनोबल गिराएको र राष्ट्रिय÷अन्तराष्ट्रिय लगानी कर्तामा गलत सन्देश प्रवाह गरेको ठहरसमेत सेन्टरले गरेको छ ।
पोखरा इभेन्ट सेन्टर आधुनिक संरचनासहित अन्तराष्ट्रिय तथा राष्ट्रिय सभा–सम्मेलन आयोजना गर्नसक्ने पूर्वाधारको रुपमा निर्माण गरिएको, २ हजार जना क्षमताको एउटै हल, एकैपटकमा पाँच हजार जनासम्मलाई सेवा दिन सक्ने क्षमता, आठ वटा बहुउद्देश्यीय हलहरू, स्थायी रुपमा ३५ जना र आंशिक रुपमा सयौंलाई रोजगारी दिदै आएको सेन्टरले जनाएको छ । सेन्टर दिर्घकालीन रूपमा पोखराको पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने, रोजगारी सिर्जना गर्ने, प्रवासी नेपालीको लगानी आकर्षित गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने र अन्तराष्ट्रिय सम्मेलन, सभा र सांस्कृतिक कार्यक्रम आयोजना गर्न पूर्वाधार उपलब्ध गराई पर्यटनको राजधानी पोखराको पर्यटन विकासमा योगदान पु¥याउने उद्देश्य राखि निर्माण गरेको उसले भनेको छ ।
धेरैजना विदेशिने प्रवृत्तिबीच स्वदेशमै केही गर्नुपर्छ भन्ने साहसका साथ बैंकबाट करोडौं कर्जा लिई लगानी गर्ने आँट गरेको, राजनीतिक अस्थिरता, कोभिड सिर्जित आर्थिक मन्दीका बीच पनि उद्यमशीलता र रोजगारी सिर्जनामा जोड दिई लगानी गरेको तर पछिल्ला घटनाक्रमका कारण आज ‘नेपालमै बसेर केही गर्न खोज्नु र ठूलो लगानी गर्नु गल्ती भयो कि ?’ भन्ने सोच्न बाध्य हुने अवस्था सिर्जना भएको विज्ञप्तिमा छ । क्षति पु¥याउने समूह वास्तविक जेन–जी आन्दोलनकारी नभई आर्थिक, राजनीतिक र व्यक्तिगत स्वार्थका लागि सक्रिय ‘संगठित अपराधिक गिरोह’ थियो भन्ने ठहर सेन्टरको छ । तोडफोड र आगजनी गर्नेहरूमाथि निष्पक्ष छानबिन गरी कानुन अनुसार कारबाही गर्न माग पनि गरिएको छ ।
लाखौं जेन–जी युवाको योगदान र कयौंको सहादतबाट प्राप्त यस ऐतिहासिक परिवर्तनलाई सबैले आत्मसात् गरि मिलेर अघि बढ्न सेन्टरले आव्हान गरेको छ । ‘भ्रष्टाचारमुक्त देश बनाउन र तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन नयाँ सरकार सफल होस् । अब कुनै पनि बहानामा कुनै पनि पुस्ताले आन्दोलन गर्नुपर्ने अवस्था नआओस् । व्यवसायी वा उद्यमीहरूले क्षति व्यहोर्नुपर्ने वा त्रसित हुनुपर्ने परिस्थिति सिर्जना नहोस्’ विज्ञप्तिा छ, ‘आज हामीले तोडफोड र आगजनीका कारण क्षति ब्यहोर्नु परे पनि, नयाँ र रुपान्तरणकारी शान्त नेपालको सपना चाँडै साकार होस् भन्ने अपेक्षा र शुभकामना ब्यक्त गर्दछौं ।’
हामी कठिन परिस्थितिबीच पनि चाँडै परिष्कृत सेवासहित अगाडि बढ्ने प्रतिबद्धता सेन्टरले गरेको छ । हामीलाई लडाउन खोजिएको तर नविन सोचका साथ फेरि उठ्न सक्ने भन्दै सेन्टरले भौतिक क्षति पु¥याइएको छ, हाम्रो सपना र उत्साहमा होइन भन्ने स्पष्ट पारेको छ । ‘हाम्रो भौतिक सम्पती तथा सम्पूर्ण संरचना जलेपनी हाम्रो आँट र साहस जलेको छैन । किनकी यो केवल व्यवसाय मात्र नभई सेवा पनि हो’, विज्ञप्तिमा भनिएको छ, ‘यो केवल केही लगानी कर्ताको भौतिक सम्पति मात्र नभई पोख्रेलीको पनि अपनत्व गाँसिएको साझा संरचना हो । त्यसैले यसको निर्वाध र गुणस्तरिय सञ्चालन, संरक्षण र प्रवद्र्धनमा निरन्तर सद्भावको अपेक्षा गर्दछौ ।’
जेन–जी (नयाँ पुस्ता) आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन राज्यलाई आग्रह गर्दै शिघ्र स्वास्थ्य लाभको कामना पनि सेन्टरले गरेको छ ।





