बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देउपुरबासीले जनश्रमदान गरेर संविधान दिवस मनाए

देउपुरबासीले जनश्रमदान गरेर संविधान दिवस मनाए

देउपुरका निवर्तमान वडाध्यक्ष विकास तिमिल्सिनाले सुरु गरेको अभियानमा सबै गाउँलेहरूले साथ दिएपछि अहिले दैनिक करिब दुई सय ५० जनाले जनश्रमदान गरेर पहिरोमा जाली, भर्ने, ढुङ्गा ओसार्ने र सडक मर्मतको काम गरिरहेका छन् ।


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०८२, शनिबार

पर्वत/जिल्लाको मोदी गाउँपालिका–२ देउपुर क्षेत्रका अधिकांश बासिन्दा गत असोज एक गतेदेखि पानी खोल्साको पहिरोमा जुधिरहेका छन् । कोरुङ्गा र दोबाटोबाट खसेको पहिरो पानी खोल्सा सडक खण्डमा आएर करिब दुई किलोमिटर सडक नै बगाएपछि उनीहरू कुनै सरकारको भर नपरी सडक मर्मत गरेर सवारी सञ्चालनको लागि मिहिनेत गरिरहेका छन् ।

मोदी गाउँपालिका वडा नं. १ र २ लाई गाउँपालिकाको केन्द्र पातिचौर तथा पुष्पलाल मध्यपहाडी लोकमार्गमा जोड्ने मुख्य सडक नै अवरुद्ध भएपछि गाउँलेहरूले सामाजिक सञ्जाल ‘फेसबुक’ बाट पहिरोमा जनश्रमदान गर्ने अभियान सुरु गरेका थिए । देउपुरका निवर्तमान वडाध्यक्ष विकास तिमिल्सिनाले सुरु गरेको अभियानमा सबै गाउँलेहरूले साथ दिएपछि अहिले दैनिक करिब दुई सय ५० जनाले जनश्रमदान गरेर पहिरोमा जाली, भर्ने, ढुङ्गा ओसार्ने र सडक मर्मतको काम गरिरहेका छन् ।

‘जेनजी’ आन्दोलनका क्रममा दिवङ्गत भएकाहरूको शोकमा गत असोज एक गते शोक बिदा दिइएकै दिनबाट गाउँलेहरूले ‘शोकलाई शक्तिमा बदल्ने’ प्रण गर्दै सडकको काम आफूहरूले नै गर्न सुरु गरेका थिए । उनीहरूले पहिरो पन्छाउने र जाली भर्ने काम गरेर नै संविधान दिवस समेत मनाएका स्थानीय शिक्षक भूमिराज शर्माले बताए ।

पहिरो नियन्त्रणका लागि गत वर्ष भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत ३३ लाखको लगानीमा काम सुरु भएको थियो । तर काम नसकिँदै गत असारमा आएको पहिरोले भरिएका जाली र ढुङ्गासहित बगाएपछि देउपुरलाई केन्द्रमा जोड्ने र त्यो बाटो हुँदै देउराली, भूकताङ्ले, लप्सीबोट जाने सवारीहरू समेत बन्द भएका थिए ।

‘काम सम्पन्न नहुँदै जाली बगायो। असारबाट तीजसम्म सडक नै ठप्प भयो । पोहोर साल पनि यही पहिरोले दसैँसम्म बाटो बन्द भएको थियो’, शिक्षक शर्माले भने, ‘गाउँमा जाने मुख्य बाटो नै बन्द भएपछि बिरामीहरूलाई उपचारमा लैजान तथा गाउँमा खाद्यान्न लैजानसमेत समस्या भयो। हालै प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्रालयमा पनि पुगेका हौँ । तर देशको अवस्थाका कारण त्यताको पनि केही ठेगान नभएपछि गाउँलेहरू मिलेर श्रमदान गरिएको हो ।’

मोदी गाउँ पालिकाको वडा नं २ को पानी खोल्सामा पहिरोले क्षतिग्रस्त सडक मर्मतका लागि जनश्रमदान चलिरहेको छ । दुई दिन सम्म चलेको श्रमदानमा गाउँलेहरू सहभागी भइरहेका छन् ।

धेरै सङ्ख्याका गाउँलेहरूले तीन दिनसम्म काम गर्दा पनि सडक मर्मतको काम नसकिएपछि शनिवार पनि गाउँलेहरू श्रमदानमा जुटेका छन् । स्वतः स्फूर्त रूपमा यो अभियानमा जोडिएर गाउँलेहरूले ‘एकताको सन्देश’ दिएको तथा ‘आफ्नो काम आफै गर्ने अभ्यास’ को विकास गरेको निवर्तमान वडाध्यक्ष तिमिल्सिनाले बताए । संविधानको रक्षा गर्ने एक मात्र उपाय सुशासन भएको तथा शान्ति, स्थिरता र नागरिकको निस्वार्थ सेवा भावको विकास गर्नु नै नागरिक सन्तुष्टि हुने भएकोले राजनीति र सङ्कुचित मानसिकताबाट उठेर सामाजिक सेवामा लाग्नुपर्ने उनको भनाइ छ ।

संविधान दिवसको दिनमा गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्मा लगायतका जनप्रतिनिधिहरू समेत पहिरो स्थलमा पुगेर श्रमदानमा सहभागी भएका छन् । ३२ थान भन्दा बढी जाली भरेर तत्काललाई सडकको ढलान जोगाउने काम भएको छ । उक्त ढलान भत्किएको भए त्यत्ति मात्रै बनाउन करिब दुई करोड रुपैयाँ लाग्न सक्ने स्थानीय नागरिक बताउँछन् । ढलान मुनिबाट पहिरो बग्दा करिब २० मिटर ढलान झुन्डिएको थियो। त्यो भत्केको भए करिब ५० मिटर ढलान पहिरोमै बग्ने थियो ।

पहिरो नियन्त्रणका लागि गाउँमा जोसँग जे छ त्यही सहयोग गरेका छन् । कोहीले जाली बुन्ने, कोहीले ढुङ्गा ओसार्नको लागि ट्र्याक्टर सहयोग गर्ने, कोहीले ज्याबल तथा निर्माण सामग्रीहरू सहयोग गरेका छन् । अहिले सोह्र श्राद्धको तिथि भएकाले फलफूल पसलले फलफूल र किराना पसलेहरूले खाजा सहयोग गरेर पहिरो नियन्त्रणमा जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->