पोखरा/पोखरा रोयल सहकारीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई मोटरसाइकल सहयोग गरेको छ । जेन–जी युवा पुस्ताको गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा पोखराका सयौँ सरकारी कार्यालयहरूमा आगजनी र तोडफोडका कारण कार्यसम्पादनमा अवरोध सिर्जना भएपछि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिब ३ लाख ४४ हजार रुपैयाँ बराबरको सामग्री सहयोग हस्तान्तरण गरेको छ ।
टिभिएस कम्पनीको १२५ सिसी क्षमताको एक थान मोटरसाइकल तथा पोखरा महानगरपालिका–१० वडा कार्यालयलाई एक सेट कम्प्युटर र एक सेट प्रिन्टर हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रम जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलिया र वडा नं.१० का वडाध्यक्ष राजेश गुरुङलाई संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङले हस्तान्तरण गरिन् । नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूलाई छिटो सामान्य अवस्थामा सञ्चालनमा ल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको अध्यक्ष गुरुङले बताइन् ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले पोखरा रोयल सहकारीले यसअघि कोभिड–१९ महामारी र महाभूकम्पको समयमा पनि सामुदायिक हितका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि समाजप्रति उत्तरदायी भूमिकामा रहिरहने प्रतिबद्धता जनाए । एसपी ओलीयाले आन्दोलनका क्रममा सरकारी कार्यालयमा अपूर्ण क्षति पुगेकोले त्यसको पूर्ववत् रुपमा फर्काउन सबैको साथ र सहयोग आवश्यक भएको बताउँदै यस्तै सहयोगी मनहरु र संस्थाको सहयोगले आफुहरु आगजनीबाट खरानी भएको अवस्थामा पुनः दृढआत्म विश्वासका साथ अघि बढ्ने बताए ।
आन्दोलनका क्रममा जलेर नष्ट भएका कार्यालय सामग्रीका कारण सेवाग्राही मारमा परेको स्थितिमा यो सहयोगले तत्कालिक आवश्यकतालाई केही राहत हुने संस्थाका सूचना अधिकारी मीलन ढकालले सुनाए ।





