पर्वत/ सङ्घीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि महाशिला गाउँपालिकाले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । स्थापनाकालदेखि साविक बालाकोट गाविस तथा वडा नं ३ को कार्यालयबाट सञ्चालन हुँदै आएकोमा पालिकाले यसै सातादेखि आफ्नै भवनबाट सेवा सञ्चालन गर्न थालेको हो ।
महाशिला–३ र वडा नं ५ को सिमाना काफलडाँडामा बनेको सुविधासम्पन्न भवनवाट सेवा सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिए। झण्डै पाँच करोडको लागतमा भवन निर्माण भएको हो । ३० वटा कोठा रहेको भवनबाट पालिकाका सबै शाखाको सेवा सञ्चालन गरिएको उनले बताए। साँघुरो र जीर्ण भवनबाट असहज रूपमा सेवा दिनुपरेकामा अब एउटै भवनवाट एकीकृत रूपमा सबै वडालाई पायक पर्नेगरी सेवा प्रवाह गर्दा नागरिक र कर्मचारी दुवैलाई सहज भएको पाण्डेयको भनाइ छ।
सेवा सुरु भए पनि भवन हस्तान्तरण गर्न बाँकी रहेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिए। जिल्लाको सबैभन्दा सानो पालिका महाशिलाका छ वटै वडा कार्यालय भने बनिसकेका छन् । पालिकाको भौतिक पूर्वाधार तयार भइसकेकाले अब सडक र शिक्षामा जोड दिन थालिएको छ । पालिकाको १० शय्याको आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । बढ्दो बसाइँसराइलाई रोक्न गुणस्तरीय सडक र शिक्षालाई पालिकाले प्राथमिकतामा राखेको अध्यक्ष भुसालले जानकारी दिए।
योसँगै पर्वतका ६ वटा पालिकाले आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्न थालेका छन् । सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाले बाहेक अन्यले आफ्नै भवन निर्माण गरिसकेका छन् । मोदी, पैंयू, विहादी र जलजला गाउँपालिकाका आफ्नै भवन बनेका छन् । फलेवास नगरपालिकाको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।





