बागलुङ/दशै नजिक आएपछि बागलुङ नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन तथा म्याद गुज्रेका बस्तुको अनुगमन र नियन्त्रण अभियान चलाउने भएको छ ।
नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षतामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ताको हितविपरित हुने गतिविधिलाई कारवाहीको दायरामा ल्याउने निर्णय गरेको हो । बैठकले नागरिक सचेतना अभियान चलाउने निर्णय गरेको खड्काले बताए । यो अभियानले नागरिक स्वयं सचेत बनेर बजारमा हुने अनियमितता रोक्ने उनको भनाइ छ ।
त्यस्तै बैठकले चाडपर्वभर र अन्य समयमा पनि नियमित बजार अनुगमन गर्ने निर्णय गरेको छ । चाडपर्वका लागि सामाग्री किन्न आउने ग्राहक तथा उपभोक्तालाई महंगो मूल्य लिने, कमसल सामाग्री उपलब्ध गराउने, ग्राहकपिच्छे फरक फरक मूल्य लिने जस्ता काम समेत हुने गरेको गुनासो आउने गरेपछि यो निर्णयमा पुग्नु परेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए ।
कतिपय दैनिक उपभोग्य वस्तुहरु खरिद गर्दा पाउनुपर्ने छुट नागरिकले नपाएको अवस्थामा त्यो बारे जानकारी दिने र नदिएका व्यवसायीलाई सचेत बनाउने निर्णय भएको हो । उक्त कार्यका लागि बागलुङ उद्योग बाणिज्य संघलाई आग्रह गर्ने र सो अनुसार व्यवसायीलाई संघले सूचना प्रवाह गर्ने बताइएको छ । छुट पाउनुपर्ने सामाग्रीलाई नदिने कतिपयको गुनासो छ ।
समितिले म्याद गुज्रेका सामानहरु बिक्री गरेको भेटिएमा कारवाही गर्ने, अखाद्य वस्तु उपयोग नगर्न सचेतना अभियान संचालन गर्ने निर्णय गरेको हो । हरेक वर्ष चाडपर्व लागेपछि बजारमा अतियमितताहरु प्रसस्त देखिने गरेको पाइएको थियो । बजार अनुगमन गर्दा वर्षौदेखि म्याद भ्याइएका सामाग्री बिक्री गरेको भेटिने, अखाद्य सामान बेच्ने गरेको पाएपछि यो पटक नगरपालिकाले सचेतना अपनाएको खड्काले बताए ।
त्यस बाहेक सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला स्तरीय अनुगमन समितिले पनि बजारको बेथिती बारे चासो राखेको छ । उक्त समितिले पनि नियमित अनुगमनलाई निरन्तरता दिने सहायक प्रजिअ पुष्पराज पौडेलले बताए ।
नगर उपप्रमुख खड्काको अध्यक्षतामा बसेको बैठकमा उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाल, सार्वजनिक सेवा प्रवाह समितिका संयोजक कुमार बिक्रम क्षेत्री, जिल्ला प्रशासन कार्यालयका नासु समिर आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रेम अर्याल, उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पारसिंह थापा, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य र पत्रकार तारानाथ आचार्य सहितको बैठकले उक्त निर्णय गरी बजार अनुगमन सम्बन्धी र सचेतना सम्बन्धी प्रचार सामाग्री बनाएर सार्वजनिक गरेको छ । नगरपालिकाको फोहोर उठाउने गाडीमा ती सामाग्री प्रचारका लागि राखिएको छ ।





